कार्मारोङमा महिलाको हरित क्रान्ति
मुगु : मुगुम कार्मारोङ गाउँपालिका–९ छायल गाउँकी नन्दादेवी रोकाया बिहानैदेखि बारीमा व्यस्त देखिन्छिन्। हातमा कुटो मनमा आत्मविश्वास र आँखामा उज्ज्वल भविष्यको सपना। यिनैसँगै उनले व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती थालेको चार वर्ष पूरा भएको छ। आज उनी आफ्नै मेहनतले वर्षमा मौसमी तरकारीबाट करिब एक लाख र बेमौसमीबाट ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएकी छन्।
उनीजस्तै सोही गाउँकी कमला बडुवाल पनि तरकारी खेतीमार्फत आत्मनिर्भर बन्दै गएकी छन्। मौसमी खेतीबाट करिब दुई लाख र बेमौसमी तरकारीबाट ८० हजार रुपैयाँसम्म आम्दानी गर्ने कमलाको कथा अझ प्रेरणादायी छ। अध्ययनसँगै उनले सासूसँग मिलेर तीन हल जमिनमा तरकारी खेती गर्दै आएकी छन्। हाल उनी रारा बहुमुखी क्याम्पसमा बीएड अन्तिम वर्षमा अध्ययनरत छन्।
मुगुम कार्मारोङ गाउँपालिका–९ का छायल, चिमात र पापु— यी तीन बस्तीका महिलाहरूका लागि तरकारी खेती आज केवल पेसा मात्र होइन, जीवन बदल्ने अभियान बनेको छ। नन्दा र कमला जस्ता उदाहरणसँगै अहिले करिब ८६ घरधुरीका महिलाहरू मौसमी तथा बेमौसमी दुवै प्रकारका तरकारी खेतीमार्फत राम्रो आम्दानी गर्न थालेका छन्। छा—याँ नेपालद्वारा ४ वर्षअघि सञ्चालन गरिएको महिला सशक्तीकरणका लागि जीविकोपार्जन कार्यक्रमले यहाँको कथा नै फेरिदिएको छ। छा—याँ नेपालले कार्मारोङ महिला कृषि सहकारी संस्थाका आबद्ध सदस्यहरूलाई व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम, उन्नत बीउबिजन, प्लास्टिक टनेल,थोपा सिँचाइ सेट,कृषि औजार, प्लास्टिक क्रेट तथा प्याकेजिङ सामग्री वितरण गरिएपछि महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन देखिएको वडाध्यक्ष रतन बुढाले बताए।
सहकारीका अध्यक्ष तारा बुढाका अनुसार,तरकारी खेतीले महिलाहरू आत्मनिर्भर मात्र बनेका छैनन्, उनीहरूमा बचत गर्ने बानी पनि विकास भएको छ। पहिले घरका पुरुषमा निर्भर महिलाहरू अहिले घरखर्चदेखि सामान्य आवश्यकताहरू आफ्नै कमाइबाट पूरा गर्न थालेका छन्। अध्यक्ष बुढाका अनुसार सहकारीद्वारा सामुहिक तरकारी खेती समेत संचालनमा छ। यो सामूहिक तरकारी खेति सहकारीको मुख्य आम्दानीको श्रोत बनेको छ। नन्दादेवी भन्छिन्, ‘तरकारी खेतीले आफनो जीवन सहज बनाएको छ। घरखर्चदेखि छोराछोरीको पढाइसम्म सबै यही आम्दानीबाट चलिरहेको छ।’
यहाँ उत्पादित तरकारीको बजार पनि सहज छ। छायल बजार, सहकारीको कोशेली घर आवासीय विद्यालय ताखा, पुलु प्रमुख बजार हुन्। छिमेकी गाउँ माग्री, मह र सदरमुककाम गमगढीसम्म यहाँको तरकारी पुग्ने गरेको छ। बजारको अभाव नहुँदा महिलाहरू अझै उत्साहित भएर व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। वडा सचिव विजय भामका अनुसार बजार सुनिश्चित भएकाले तीनवटै गाउँका महिलाहरूको लगाव र उत्पादन दुवै बढ्दै गएको छ। यस वर्ष फागुन मसान्तसम्मको तथ्यांक हेर्दा छायल गाउँका महिलाहरूले मात्र मौसमी तरकारीबाट ११ लाख ४० हजार र बेमौसमीबाट ३ लाख रुपैयाँबराबरको बिक्री गरेका छन् । पापु गाउँमा ७० हजार मौसमी र ३० हजार बेमौसमी तरकारी बिक्री भएको छ भने चिमात गाउँका महिलाहरूले १ लाख १४ हजारको मौसमी, ५० हजार बेमौसमी तथा ८ हजारबराबरको अदुवा र बेसार बिक्री
गरेका छन्।
मुगुम कार्मारोङ गाउँपालिकाका कृषि शाखा प्राविधिक गजराज विकका अनुसार महिलाहरूको सक्रियता र सहकार्यले यहाँको कृषि प्रणालीमा उल्लेखनीय सुधार आएको छ। यो नमुना अन्य स्थानका लागि पनि प्रेरणादायी बन्न सक्ने उनको भनाइ छ। परनिर्भरता र अभावसँग जुधेका यहाँका महिलाहरूलाई आफ्नै माटोमा पसिना बगाएर आत्मनिर्भरता, सम्मान र समृद्धिको नयाँ कथा लेख्न सुरु गरेका छन। मुगुम कार्मारोङ—९ तीन बस्तीका महिलाहरू हरियाली बारीसँगै उनीहरूको जीवनमा पनि उज्यालो छाउन थालेकाले यो सिंगो गाउँपालिकाका लागि नमुना योग्य काम भएको मुगुम कार्मारोङ गाउँपालिका उपाध्यक्ष छिरिङ पुटिक तामङ बताइन्।
प्रतिक्रिया दिनुहोस !