आर्थिक रूपान्तरणमा नीतिदेखि व्यवहारसम्म

आर्थिक रूपान्तरणमा नीतिदेखि व्यवहारसम्म

नेपालको आर्थिक रूपान्तरणको बहस अब केवल नीतिगत घोषणामा सीमित रहनुहुँदैन। रोजगारी सिर्जना, निर्यात वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि प्रविधिमैत्री, व्यावहारिक र कार्यान्वयनयोग्य नीति अपरिहार्य भइसकेको छ। नीति बनाउने परम्परा नेपालमा पुरानो छ तर परिणाम दिने कार्यान्वयन अझै कमजोर देखिन्छ। त्यसैले अबको बहस ‘के गर्ने ?’ भन्दा पनि ‘कसरी गर्ने ?’मा केन्द्रित हुनु आवश्यक छ।

नेपाल अहिले एक जटिल संक्रमणकालीन मोडमा उभिएको छ। आर्थिक वृद्धि अपेक्षाअनुसार गतिशील हुन सकेको छैन, उत्पादनमूलक क्षेत्रको विस्तार सुस्त छ र ठूलो संख्यामा युवा जनशक्ति रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन्। यसले देशभित्रको उत्पादन क्षमता मात्र होइन, सामाजिक संरचना र दीर्घकालीन विकास सम्भावनालाई पनि असर गरिरहेको छ। सार्वजनिक सेवा प्रवाहप्रति बढ्दो असन्तुष्टि र शासन प्रणालीप्रति घट्दो विश्वासले राज्य र नागरिकबिचको सम्बन्धलाई अझ चुनौतीपूर्ण बनाइरहेको छ।

प्रशासनिक क्षमता र नीतिगत स्पष्टता : हालै निर्वाचित नयाँ सरकारप्रति नागरिकमा केही आशा र अपेक्षा देखिएको छ। तर, यथार्थ के हो भने सरकार विद्यमान प्रशासनिक संरचना, कार्यशैली र संस्थागत क्षमताभित्रै रहेर काम गर्न बाध्य छ। त्यसैले केवल नेतृत्व परिवर्तनले मात्र तत्काल परिणाम दिन सक्दैन। जबसम्म सरकारी संयन्त्रको कार्यसम्पादन क्षमता सुदृढ हुँदैन, तबसम्म अपेक्षित परिवर्तन सम्भव हुँदैन।

समयअनुकूल नयाँ नीतिहरू आवश्यक छन्, तर ती नीतिहरू प्रभावकारी बन्न स्पष्ट कार्यान्वयन योजना, उत्तरदायित्व निर्धारण र परिणाममुखी अनुगमन प्रणाली अनिवार्य हुन्छन्। नेपालमा नीति, योजना र रणनीतिहरूको अभाव छैन तर तिनको कमजोर कार्यान्वयनकै कारण अपेक्षित परिणाम हासिल हुन सकेको छैन। त्यसैले आजको सबैभन्दा ठूलो चुनौती नयाँ नीति बनाउनेभन्दा पनि विद्यमान नीतिहरूलाई व्यवहारमा रूपान्तरण गर्ने क्षमता विकास गर्नु हो। सरकारले परिणाममुखी शासन प्रणालीलाई प्राथमिकता दिनुपर्छ। प्रत्येक मन्त्रालय र सार्वजनिक निकायले स्पष्ट लक्ष्य, समयसीमा र जिम्मेवारी निर्धारण गर्नुपर्छ। कार्यसम्पादनमा आधारित मूल्यांकन प्रणाली लागू गर्दै डिजिटल प्रविधिमार्फत प्रगति अनुगमनलाई सुदृढ बनाउन सकिन्छ। परियोजनाहरूको प्रगति, बजेट खर्च र उपलब्धिहरू सार्वजनिक रूपमा नियमित साझा गरिँदा पारदर्शिता बढ्नेछ र नागरिकको विश्वास पुनर्निर्माणमा सहयोग पुग्नेछ।

उत्पादन र रोजगारी – अर्थतन्त्रको मेरुदण्ड : आर्थिक संरचनाको दृष्टिले हेर्दा नेपाल अझै पनि रेमिट्यान्समा अत्यधिक निर्भर छ, जुन दीर्घकालीन रूपमा दिगो आधार होइन। रेमिट्यान्सले तत्काल उपभोगलाई सहयोग गरे पनि उत्पादन वृद्धि र रोजगारी सिर्जनामा यसको प्रत्यक्ष योगदान सीमित छ। त्यसैले अब देशभित्र उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र रोजगारी सिर्जनामा केन्द्रित नीति आवश्यक छ। कृषि क्षेत्र नेपालको अर्थतन्त्रको आधार हो, तर यसको उत्पादकता र व्यावसायिकता अझै सीमित छ। परम्परागत आत्मनिर्भर खेती प्रणालीबाट बजारमुखी र व्यावसायिक उत्पादन प्रणालीतर्फ रूपान्तरण गर्नुपर्छ। क्लस्टर वा जोनमा आधारित कृषि विकास, कन्ट्र्याक्ट फार्मिङ र कृषक समूह तथा सहकारीमार्फत उत्पादन विस्तार गर्न सकिन्छ। आधुनिक प्रविधि—जस्तै ड्रिप सिँचाइ, ग्रिनहाउस, हाइड्रोपोनिक्स र डिजिटल सूचना प्रणाली—को प्रयोगले उत्पादन वृद्धि गर्नुका साथै लागत घटाउन मद्दत गर्छ।

यससँगै ‘एग्रो–प्रोसेसिङ’ उद्योगको विकास अपरिहार्य छ। कच्चा उत्पादन मात्र बेच्ने अभ्यासबाट अघि बढ्दै मूल्य अभिवृद्धि गर्न सके कृषकको आम्दानी उल्लेखनीय रूपमा बढ्न सक्छ। भण्डारण, कोल्ड स्टोरेज, वेयरहाउस र आपूर्ति शृंखला सुधार नगरी कृषि क्षेत्रको पूर्ण सम्भावना उपयोग गर्न सकिँदैन। साथै, डिजिटल मार्केटप्लेस, कृषक बजार र प्रत्यक्ष बिक्री प्रणालीमार्फत कृषकलाई उपभोक्तासँग जोड्दा उचित मूल्य सुनिश्चित गर्न सकिन्छ।

पर्यटनको नयाँ आयाम – वेलनेस टुरिज्म : पर्यटन क्षेत्रमा पनि अब केवल आगन्तुक संख्या बढाउने लक्ष्य पर्याप्त छैन। दीर्घकालीन आर्थिक लाभका लागि उच्च मूल्यमा आधारित सेवा विस्तार गर्न आवश्यक छ। नेपालको विशिष्ट पहिचान—आध्यात्मिकता, प्राकृतिक शान्ति र परम्परागत जीवनशैली—लाई आधार बनाएर वेलनेस टुरिज्मको विकास गर्न सकिन्छ। नेपाल प्राचीनकालदेखि नै ध्यान, योग र आध्यात्मिक अभ्यासहरूको केन्द्र रहँदै आएको छ। यही सांस्कृतिक सम्पदालाई आधुनिक वेलनेस टुरिज्मसँग जोडेर नयाँ अवसर सिर्जना गर्न सकिन्छ। योग र ध्यान शिविर, आयुर्वेदिक उपचार, प्राकृतिक चिकित्सा तथा मानसिक स्वास्थ्य पुनर्स्थापना कार्यक्रमहरूले नेपाललाई उच्च मूल्यको पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सक्छन्। यसले पर्यटन मात्र होइन, स्वास्थ्यसेवा र औषधि उत्पादन क्षेत्रमा पनि नयाँ सम्भावना खोल्नेछ।

औद्योगिक विकास र प्रविधिमैत्री पूर्वाधार : साना तथा मझौला उद्योगहरू आर्थिक विकासका मेरुदण्ड हुन्। यस्ता उद्योगलाई सहुलियतपूर्ण ऋण, प्रविधि हस्तान्तरण र बजार पहुँच उपलब्ध गराउन सकेमा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिन्छ। साथै, वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, कानुनी स्पष्टता र प्रशासनिक प्रक्रियामा सरलता अनिवार्य छ। अहिलेको जटिल र समयखपत गर्ने प्रक्रिया सुधार नगरी लगानीमैत्री वातावरण निर्माण सम्भव छैन।

सुशासन र भ्रष्टाचार नियन्त्रण विश्वास पुनस्र्थापनाको आधारभूत पक्ष हो। भ्रष्टाचारले केवल आर्थिक क्षति मात्र पुर्‍याउँदैन, यसले राज्यप्रतिको विश्वासलाई पनि कमजोर बनाउँछ। ‘ई–गभर्नेन्स, ‘प्रोकुर्मेन्ट र ‘केपीआई’मा आधारित ट्रयाकिङ प्रणालीमार्फत पारदर्शिता र दक्षता दुवै बढाउन सकिन्छ। डिजिटल ड्यासबोर्ड र नियमित समीक्षा प्रणालीमार्फत मात्र नीति कार्यान्वयनलाई परिणाममुखी बनाउन सकिन्छ। 

शिक्षा र स्वास्थ्य क्षेत्र दीर्घकालीन विकासका आधार हुन्। नेपालको शिक्षा प्रणाली अझै पनि श्रम बजारको आवश्यकतासँग पूर्ण रूपमा मेल खाँदैन। त्यसैले पाठ्यक्रम सुधार, व्यावहारिक शिक्षा र उद्योगसँगको सहकार्य बढाउनु आवश्यक छ। प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्दै युवालाई रोजगारयोग्य सीप प्रदान गर्न सकिन्छ। स्वास्थ्य क्षेत्रमा पनि सेवा पहुँच र गुणस्तर सुधार गर्दै स्थानीय तहसम्म प्रभावकारी सेवा सुनिश्चित गर्न आवश्यक छ।

चौथो औद्योगिक क्रान्ति र नेपालको तयारी : यी आधारभूत सुधारहरूसँगै अब नेपालको आर्थिक रूपान्तरणको बहस औद्योगिक विकासतर्फ केन्द्रित हुनुपर्छ। विश्व अहिले चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरिसकेको छ, जहाँ कृत्रिम बुद्धिमत्ता, स्वचालन र डाटा–आधारित प्रविधिले उत्पादन प्रणालीलाई पुनर्परिभाषित गरिरहेका छन्। यस्तो अवस्थामा नेपालले परम्परागत औद्योगिक ढाँचामा सीमित रहनु दीर्घकालीन रूपमा घाटाजनक हुन सक्छ। ‘स्मार्ट उद्योग, आत्मनिर्भर अर्थतन्त्र र समृद्ध नेपाल’जस्ता अवधारणालाई नारा मात्र नभई कार्यान्वयनयोग्य रणनीतिमा रूपान्तरण गर्न आवश्यक छ। ‘इन्डस्ट्री ४.०’ अनुरूप औद्योगिक नीति परिमार्जन गर्दै ‘एसआईआरआई’ जस्ता अन्तर्राष्ट्रिय मापदण्ड अपनाउनु जरुरी छ, जसले उद्योगहरूको अवस्थाको मापन र सुधार सुनिश्चित गर्न सहयोग गर्छ। 

औद्योगिक पूर्वाधारमा लक्षित लगानीबिना यो रूपान्तरण सम्भव छैन। विशेष आर्थिक क्षेत्र, औद्योगिक पार्क, भरपर्दो ऊर्जा आपूर्ति र डिजिटल कनेक्टिभिटी स्मार्ट उद्योगका आधार हुन्। नेपालसँग जलविद्युत् जस्तो महत्वपूर्ण स्रोत उपलब्ध छ, जसलाई प्रभावकारी रूपमा उपयोग गर्न सकेमा उद्योगका लागि सस्तो र स्थिर ऊर्जा सुनिश्चित गर्न सकिन्छ।

मानव संसाधन विकास अर्को महत्वपूर्ण पक्ष हो। केवल जनशक्ति उत्पादनभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ। ‘टीभीईटी’ प्रणाली सुधार, विश्वविद्यालय–उद्योग सहकार्य र एआई, रोबोटिक्स, डाटा विश्लेषणजस्ता सीपमा आधारित तालिमले मात्र वास्तविक परिवर्तन ल्याउन सक्छ। डिजिटल रूपान्तरणलाई प्रोत्साहन दिन उद्योगमैत्री नीति आवश्यक छ। ‘ईआरपी’ प्रणाली, ‘इन्डस्ट्रियल एलओटी’ र स्मार्ट फ्याक्ट्री प्रविधि अपनाउन उद्योगहरूलाई कर छुट, अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउन सकिन्छ। विशेषगरी साना तथा मझौला उद्योगलाई लक्षित कार्यक्रमहरूले औद्योगिक रूपान्तरणलाई तीव्र बनाउन सक्छन्।

नवप्रवर्तन र निजी क्षेत्रसँगको सहकार्य : नवप्रवर्तन र स्टार्टअप इकोसिस्टम सुदृढ नगरी औद्योगिक विकास अधुरो रहन्छ। ‘आर एन्ड डी’ कोष, इन्क्युबेसन केन्द्र र प्रारम्भिक लगानी कार्यक्रममार्फत युवा उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्छ। ‘एक जिल्ला, एक औद्योगिक क्लस्टर’ जस्ता अवधारणाले स्थानीय स्रोत र सीपको उपयोग गर्दै क्षेत्रीय सन्तुलनमा योगदान पुर्‍याउन सक्छ। व्यवसायमैत्री वातावरण निर्माण पनि उत्तिकै आवश्यक छ। ‘ईजी अफ डुइङ बिजनेस’ सुधार, नीतिगत स्थायित्व र ’एएए’ मोडेलको विस्तारले निजी क्षेत्रको विश्वास जित्न सक्छ। सरकार र निजी क्षेत्रबिच सहकार्यबिना आर्थिक रूपान्तरण सम्भव छैन।

नेपालको वर्तमान समय चुनौतीसँगै अवसरको पनि हो। यी चुनौतीहरू समाधान गर्न सरकारलाई दृढ इच्छाशक्ति, स्पष्ट दृष्टि र प्रभावकारी कार्यान्वयन आवश्यक छ। सही प्राथमिकता निर्धारण गर्दै पारदर्शी र उत्तरदायी शासन प्रणाली अपनाउन सकेमा नेपालले आफ्नो सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्न सक्छ। अब नेपालले औद्योगिक विकासलाई परम्परागत ढाँचामा सीमित राख्न हुँदैन। स्मार्ट, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री औद्योगिक प्रणालीतर्फको रूपान्तरण आजको आवश्यकता मात्र होइन, भोलिको अस्तित्वको आधार पनि हो। यदि यसलाई स्पष्ट दृष्टि, दृढ इच्छाशक्ति र प्रभावकारी कार्यान्वयनसँग जोड्न सकियो भने ‘समृद्ध नेपाल’ केवल सपना होइन, यथार्थ बन्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.