प्रधानमन्त्री कपको उपाधि जित्न आर्मी र सुदूरपश्चिम भिड्दै
काठमाडौं : आठौं संस्करणको प्रधानमन्त्री कपको उपाधिका लागि विभागीय टोली आर्मी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। लगातार ७ पटक फाइनल खेलेको त्रिभुवन आर्मी क्लबले पहिलो पटक प्रदेशको टोली सुदूरपश्चिमसँग उपाधिका लागि खेल्न लागेको हो।
यी दुई टोलीले बैशाख ४ गते विरगञ्जको नारायणी रंगशालामा उपाधीको लागि खेल्नेछन्। प्रधानमन्त्री कपको इतिहासमा गत सात सिजनमा हरेक पटक त्रिभुवन आर्मी क्लबले फाइनल खेलेको छ। सन् २०१७ बाट हरेक सिजन फाइनल खेलेको आर्मीले सन् २०१७ मा नेपाल पुलिस क्लबसँग उपाधी बाँडेको थियो। त्यसयता सन् २०२१ मा त्रिभुवन आर्मीले एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको थियो।
सुदूरपश्चिम प्रदेश भने प्रधानमन्त्री कपको इतिहासमा पहिलो पटक फाइनल खेल्न लागेको हो। युवा खेलाडीको टिम सुदूरपश्चिम प्रदेशले अनुभवी र युवा खेलाडीको मिश्रण रहेको आर्मीलाई उपाधिमा चुनौती दिनेछ। युवा कप्तान शेर मल्लको कप्तानीमा रहेको सुदूरपश्चिम प्रदेशले पहिलो पटक प्रधानमन्त्री कपको फाइनल खेल्ने प्रदेशको रुपमा आफ्नो नाम दर्ता गरायो। विरगन्जको नारायणी रंगशालामा युवा कप्तान शेरको टोलीले अनुभवी कप्तान विनोद भण्डारीको टोलीलाई उपाधि भिडन्त दिनेछ।
विभागीय आर्मीको फाइनल अनुभव
सन् २०१७ बाट लामो फम्र्याटको क्रिकेटको रुपमा खेल्न थालिएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लब सर्वाधिक सफल टोली हो। आर्मी हालसम्म हरेक संस्करणमा फाइनल पुग्ने टोली हो। तर उपाधीमा भने आर्मी उति भाग्यमानी टोली होइन। उपाधीमा हरेक पटक विभागीय टोली एपिएफ या त नेपाल पुलिससँग हार्ने गरेको इतिहास छ। सन् २०१७ मा नेपाल पुलिसँग उपाधी बाँडेको त्रिभुवन आर्मी क्लबले सन् २०१८ मा एपिएफसँग पराजित बन्दै उपविजेतामा सिमित भयो। सने २०१९ मा नेपाल पुलिस क्लबसँग पराजित हुँदै आर्मी पुनः उपविजेता बन्यो। कोरोनाका कारण सन् २०२० मा प्रधानमन्त्री कप आयोजना भएन। सन् २०२१ मा त्रिभुवन आर्मीले प्रधानमन्त्री कपको उपाधी जितेको थियो। त्यसयताको ३ सिजन आर्मी उपविजेतामा नै सिमित छ।
आठौं संस्करणको प्रधानमन्त्री कपको फाइनल केही फरक छ। विभागीय टिमलाई प्रदेशको टिमले उपाधी चुनौती दिँदैछ। हरेक पटक विभागीय डर्बीमा खेलिएको फाइनल यसपटक फरक देखिनेछ। त्रिभुवन आर्मीको बलिङ र ब्याटिङ दुवै राम्रो छ । ब्याटिङमा कप्तान विनोद भण्डारी राम्रो फर्ममा छन्। अर्जुन साउद र वसिर अहमदले पनि प्रतियोगिता अवधीमा शतकीय पारी खेलेका छन्। इनिङ्स सम्हाल्नमा भिम सार्की पनि अनुभवी खेलाडी हुन्। बागमतीसँगको खेलमा कुशल मल्लले खेलेको पारी सायदै यो सिजन आर्मीले बिसर्नेछ। आक्रमक पारी उनले खेल्न सक्छन्।
बलिङतर्फ स्पिनमा साहब आलम र नरेन साउद मुख्य हुनेछन्। वसिर अहमद र कुशल मल्लले पनि यी २ को राम्रा साथ निभाउने गर्छन्। पेसरमा आकाश चन्द निर्विकल्प छन्। बायाँ हाते बलर दुर्गेश गुप्ताको मध्यम प्रदर्शनपश्चात उनी प्राय बेन्चमा नै सिमित छन्। हाल अनुभवी बलर सोमपाल कामी चोटका कारण टिम बाहिर रहेका छन्।
सुदूरपश्चिमको ऐतिहासिक फाइनल
प्रधानमन्त्री कपको इतिहासमा पहिलो पटक फाइनल खेल विभागीय क्लब र एउटा प्रदेशको टोलीबिच हुँदैछ। प्रतियोगितामा ६ जित र ३ हारसहित सुदूरपश्चिमले आठौं संस्करणको प्रधानमन्त्री कपको फाइनलमा स्थान बनाएको हो। पहिलो खेलमा कर्णाली प्रदेशलाई ४ विकेटले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा मधेश प्रदेशसँग हार बेहोर्यो। तेस्रो खेलमा कोशी प्रदेशलाई ७ विकेट, चौथो खेलमा लुम्बिनी प्रदेशलाई १२ रन, पाँचौं खेलमा गण्डकी प्रदेशलाई २ विकेट र छैटौं खेलमा बागमती प्रदेशलाई १६३ रनले हराएको थियो। लगातार ४ खेलमा जित दर्ता गरेको सुदूरपश्चिमले सातौं र आठौं खेल लगातार हार्यो। सातौं खेलमा एपीएफसँग ४५ रन र आठौं खेलमा त्रिभुवन आर्मीसँग ७ विकेटले पराजित भयो।
नवौं खेलमा नेपाल पुलिस क्लबलाई ५६ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले उच्च मनोबलका साथ लिग चरणको खेल सक्यो। मनोबलमात्रै नभई सुदूरपश्चिम अंक तालिकामा पनि बलियो रह्यो। फलस्वरुप पहिलो पटक फाइनल खेल्ने प्रदेशको टोलीको रुपमा आफ्नो नाम दर्ता गर्यो।
लिग चरणमा त्रिभुवन आर्मीसँग हार बेहोरेको यो टिमले फाइनलमा आर्मीसँग बदला लिन सक्छ। सुदूरपश्चिम प्रदेशको टोलीबाट मध्यम ब्याटिङ प्रदर्शन भए पनि बलिङ निकै राम्रो छ। हाल सर्वाधिक विकेटकर्ताको सुचीमा राज गरिरहेका हेमन्त धामीले निकै घातक बलिङ गर्छन्। सर्वाधिक विकेट लिनेको शिर्ष ३ भित्र सुदूरपश्चिम प्रदेशका कप्तान शेर मल्ल पनि छन्। हेमन्त धामीले कर्णाली प्रदेशविरुद्ध ६ विकेट र बागमती प्रदेशविरुद्ध ७ विकेटको उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए। उनले ९ खेलमा २५ विकेट लिएका छन्। कप्तान शेर मल्लले ९ खेलमा २२ विकेट लिएका छन्। यी दुई बलरको प्रदर्शनका कारण जतिसुकै सानो लक्ष्य पनि यो टोलीले रक्षा गर्न सक्छ भन्ने प्रमाण बागमतीसँगको खेल रहनेछ। सुदूरपश्चिम प्रदेशले बागमतीलाई ११.२ ओभरमा ४६ रनमा अलआउट गर्यो।
ब्याटिङतर्फ किरण ठगुन्ना, नारायण जोशी, कप्तान शेर मल्ल दिपक बोहराले मध्यम ब्याटिङ प्रदर्शन गरिरहेका छन्। खडक बोहरा पनि ब्याटिङमा क्षमतावान खेलाडी हुन्। उनको यो प्रधानमन्त्री कपमा भने ब्याट राम्रो चल्न सकेको छैन। उनले कोशी प्रदेशसँग ६६ रनको पारी खेलेका थिए। यो नै उनको सर्वाधिक रन हो।
सुदूरपश्चिम प्रदेशले ऐतिहासिक प्रधानमन्त्री कपको फाइनल खेल्दैछ। यो सँगै शिर्ष २ मा अटाएको सुदूरपश्चिमले पहिलो पटक जय ट्रफीको लागि छनोट भएको हो।
प्रतिक्रिया दिनुहोस !