छैटौं रारा ट्रेल रन वैशाख ३० गते हुने
मुगु : रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘रारा ट्रेल रन’ प्रतियोगिता यस वर्ष बैशाख ३० गते सञ्चालन हुने भएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा हनुमान ध्वज गुल्मले प्रतियोगिताको तयारीबारे सरोकारवाला निकायलाई जानकारी गराउँदै छैटौं संस्करणको ट्रेल रन वैशाख ३० गते बिहान १० बजेदेखि सुरु हुने जनाएको हो।
पाँच वर्षअघि सुरु गरिएको यो प्रतियोगिता कर्णाली प्रदेशमा खेलकुद गतिविधिको विस्तार, स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने तथा राराको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले सञ्चालन हुँदै आएको छ। साथै यसले स्थानीय समुदाय र नेपाली सेना बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्रतियोगिता राराताल वरिपरि १६ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ। यसमा १८ देखि ४५ वर्ष उमेर समूहका ५० जना महिला र २ सय जना पुरुष सहभागी हुनेछन्। त्यस्तै १० देखि ६० वर्ष उमेर समूहका लागि ५ किलोमिटर ‘रन फर फन’ प्रतियोगिता पनि आयोजना गरिने छ।
प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरूको एक रातको बसोबास र खानपानको व्यवस्था रारास्थित होटल व्यवसायीहरूले गर्ने जनाइएको छ। नाम दर्ता वैशाख १५ देखि २९ गतेसम्म हनुमान ध्वज गुल्म, हुटुमा गरिनेछ भने सहभागीहरूको स्वास्थ्य परीक्षण वैशाख २९ र ३० गते बिहानसम्म सञ्चालन गरिनेछ। कार्यक्रमका अवसरमा नेपाली सेनाले फोटो प्रदर्शनी, खुकुरी नृत्य तथा स्थानीय संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्ने हनुमान ध्वज गुल्मका सेनानी खड्गबहादुर श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !