जेन–जी विद्यार्थी व्यवस्थापनका चुनौती

जेन–जी विद्यार्थी व्यवस्थापनका चुनौती
फाइल तस्बिर

सन् २००५ मा र्‍यापर एमसी मार्सलले आफ्नो गीतमा आइ–जेनेरेसन शीर्षक प्रयोग गरेर जेनेरेसनलाई वर्णमालामा जोड्ने कामको सुरुवात गरे। अहिले त्यो क्रम जेन एक्स, वाइ हुँदै जेडमा पुग्यो र जेन–जीमा रूपान्तरण भयो। जेन–जीहरू डिजिटल नेटिभ हुनुका साथै छोटोमीठो सञ्चारको शैली मन पराउन थाले। यिनीहरूलाई जेरी जस्तो गुजुल्टिएको र सेल जस्तो घुमेको कुरा मन पर्दैन। यिनीहरू सिधा कुरा र सिधा विचारमा आकर्षित हुन्छन्। हाल कक्षा ११ तथा १२ मा अध्ययनरत विद्यार्थीको उमेर सामान्यत १५ देखि १८ वर्षको बीचमा हुन्छ। खासमा त्यही
उमेर समूहलाई जेन–जी भनिन्छ।

जेन–जीपुस्ता भन्नाले सन् १९९७ देखि २०१२ सम्म जन्मिएका पुस्तालाई जनाउँछ। केही स्रोतले २०१५ सम्मको अवधिलाई पनि मान्यता दिएको देखिन्छ। जसको सख्या विश्वव्यापी रूपमा २.४७ अर्ब रहेको अनुमान छ। यी जेन–जी संसारका कुनै न कुनै स्कुल कलेजमा अध्ययन गर्दैछन्। यो पुस्तालाई डिजिटल नेटिभ पनि भनिन्छ, जो लामो समयसम्म एकै ठाउँमा ध्यान लगाउन सक्दैन। यो पुस्ता इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै हुर्किएको छ। डिजिटल वातावरणमा हुर्किएका कारण यिनको सिकाइ प्रविधिसँग जोडिएका हुन्छ। यो पुस्ता अनलाइनमा आधारित शिक्षण सिकाइ क्रियाकलापमा रुचि राख्छ। यस युगमा जन्मेका कारण जेन–जी सिकारुहरूमा अघिल्लो पुस्ताभन्दा फरक विशेषता पाइन्छन्, जसलाई उचित रूपमा प्रयोग गर्न सके शिक्षण सिकाइ प्रक्रियामा सार्थक प्रभाव पार्न सकिन्छ।

शिक्षण सिकाइ क्रियाकलापका चरणहरूको विकासक्रमलाई नियाल्ने हो भने गुरुकुलकालीन समयसम्म जानुपर्ने देखिन्छ। गुरुका घरमा नै गएर ज्ञाज आर्जन गर्नुपर्ने अवस्थादेखि आज प्रविधिको प्रयोग गरेर घरमै बसेर शिक्षा आर्जन गर्ने अवस्थासम्म आइपुग्दा विविध किसिमका विधिको खोज तथा प्रयोगले महत्वपूर्ण भूमिका खेलेको कुरा नकार्न सकिन्न। नेपालमा शिक्षणको विकासक्रमलाई अवलोकन गर्दा राणाकालीन अवस्थामा जंगबहादुर बेलायत भ्रमण गएपश्चात् दरबार हाइस्कुलको स्थापना भएको देखिन्छ। सोही समयदेखि कक्षाकोठा व्यवस्थापन र अंगे्रजी विषय शिक्षणको मोहको बीजारोपण भएको पाइन्छ। अंग्रेजी भाषा शिक्षणकै नमुना हेरौं। विगतमा व्याकरण अनुवाद पद्धतिको अवलम्बन गरेर पढाइन्थ्यो। ‘काउ’ माने ‘गाई’ शैलीको शिक्षण कक्षाकोठामा निकै लामो समयसम्म रहन पुग्यो। उक्त शैलीका बाछिटा अझै बाँकी छन्। 

आज कतिपय सन्दर्भमा शिक्षकभन्दा विद्यार्थी अगाडि छ। शिक्षकले जान्नुअघि नै विद्यार्थी नयाँ नयाँ प्रविधि आफैं सिकिसकेको हुन्छ। उसले सामाजिक सञ्जालबाट अनावश्यक धेरै पक्षको जानकारी लिइसकेको हुन्छ। अब पुरानो शिक्षण शैलीले अहिलेका जेन–जी समूलाई धान्न र सहीमार्गमा ल्याउन सक्दैन। त्यसैले विगतमा प्रयोग भएका शिक्षणविधिहरूको वर्तमानमा प्रयोग गर्दा शिक्षक र शिक्षण संस्था सचेत हुनु आवश्यक देखिन्छ। आजको समयमा विभिन्न नवीनतम, प्रविधिमैत्री तथा विद्यार्थी केन्द्रित विधिको उपयोगलाई केन्द्रबिन्दुमा राखेर अगि बढ्नुपर्ने देखिन्छ। कक्षाकोठामा हुने शिक्षकको प्रभुत्व न्यूनीकरण गरी विद्यार्थी केन्द्रित क्रियाकलापलाई जोड दिई कक्षा कार्यकलापमा उनीहरूको सक्रियता बढाएर जेन–जी समूहलाई सही दिशा निर्देश गर्न सकिन्छ।

आजको तीव्र परिवर्तनशील जटिल परिस्थितिले विश्वव्यापी रूपमा शिक्षा प्रणालीमा नयाँ चुनौतीहरू देखा पारेका छन्। सिकाइ र सिकारुहरू कहिल्यै पनि स्थिर नरहने र समयसँगै परिवर्तन भइरहेको पाइन्छ। तसर्थ, सिकाइ वतावरणले विद्यार्थीले अपनाउने अध्ययन तथा सिकाइ शैलीलाई प्रभाव पार्ने देखिन्छ। अधिकांश विद्यार्थी अहिले डिजिटल रूपमा दक्ष र मल्टिमिडिया, अन्तरक्रियात्मक सिकाइ तथा उपकरणहरूसँग पनि परिचित छन्। त्यसैले आजभोलिका कक्षाकोठाहरू सहकार्यात्मक, समालोचनात्मक सोच समस्या समाधान विधिहरूको प्रयोेग व्यापक रूपमा रहेको देख्न सकिन्छ। यस्ता किसिमका परिवर्तनले विद्यार्थीको रोजाई उनीहरू हुर्केको सिकाइ वातावरणले प्रभाव पार्ने कुरा देखाउँछ।

अनुभव र अध्ययनका आधारमा के भन्न सकिन्छ भने आजका सिकारुको सिकाइ आवश्यकता सम्बोधन गर्ने हो भने शिक्षण विधिमा प्रविधिलाई समायोजन गर्नैपर्ने हुन्छ। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग उपकरणसँग प्रतिस्पर्धा गर्न होइन, शिक्षण सिकाइ प्रभावकारी बनाउन हुनुपर्छ। प्रत्येक पुस्ताका विद्यार्थी समकालीन समयका प्रतिबिम्ब हुन्। त्यसैले हरेक शिक्षकले वर्तमान विद्यार्थीका प्राथामिकता, आवश्यकता र रुचि बुझ्न आवश्यक छ।

शिक्षाविद् डा. अर्लेन्ज जे निकोलास र उनको टिमले गरेका अध्ययनका अनुसार जेन–जी विद्यार्थीको ध्यान केन्द्रित गर्ने समय छोटो हुन्छ। त्यसैले ई–लर्निङ प्लेटफर्मको अत्यधिक प्रयोगले उनीहरूलाई अघिल्लो पुस्ताभन्दा फरक बनाएको देखिन्छ। अघिल्लो पुस्ता कक्षाकोठामा लामो समयसम्म शान्त बसेर शिक्षकको व्याख्यान सुन्न सक्थे तर जेन–जी विद्यार्थीलाई लामो व्याख्यान निरश लाग्छ। उनीहरू प्रत्यक्ष, आकर्षक, प्रश्न–उत्तर र समस्या समाधानमा आधारित गतिविधि मन पराउँछन्। उनीहरूको ध्यान अवधि छोटो भए पनि छिटो प्रतिक्रिया, व्यावहारिक कार्य र वास्तविक जीवनसँग सम्बन्धित विषयवस्तु चाहन्छन्।

डा. कोरी सिमिलेर र डा. मेघन ग्रेसको अध्ययनले भन्छ– पाठ्यपुस्तकमा आधारित शिक्षणले विद्यार्थीको सक्रिय सहभागिता घटाउन सक्छ। जबकि, प्रविधिमा आधारित शिक्षण पद्धतिले उनीहरूलाई उत्प्रेरित गर्छ र सिकाइ प्रभावकारी बनाउँछ। सन् २०१६ मा ‘स्याटो र एर्विन’को टोलीले गरेको अध्ययनअनुसार जेन–जी पुस्ताका विद्यार्थीको औसत ध्यान अवधि ८ सेकेन्डमात्र हुन्छ। उनीहरू लामो समयसम्म जटिल समस्यामा ध्यान केन्द्रित गर्न रुचाउँदैनन्। उनीहरू सतही समस्या र तुरुन्त समाधान मन पराउँछन्। शिक्षकहरूले उनीहरूलाई लामो समयसम्म एउटै चित्र, पजलमा केन्द्रित गराउन कठिन हुन्छ भन्ने बुझ्नुपर्छ। साथै, उनीहरू प्रक्रियामुखी वा अत्यधिक ध्यान चाहिने कार्यभन्दा तुरुन्त प्रतिक्रिया र सञ्चारलाई प्राथमिकता दिन्छन्।

धेरै शिक्षक विशेषगरी ‘डिजिटल आप्रवासी’ (डिजिटल इमिग्रयान्स) प्रविधिको पूर्ण उपयोग गर्न संघर्ष गरिरहेका छन्। जेन–जीका आवश्यकता तथा चाहाना पूरा गर्न शिक्षकहरूमा डिजिटल दक्षता हुनु अत्यन्त आवश्यक छ। अध्ययनहरूले उनीहरूलाई प्रविधिमा दक्ष, सामाजिक रूपमा जडित र प्रेरणाप्रति संवेदनशील पुस्ताका रूपमा चित्रण गरेका छन्। त्यसैले २१औं शताब्दीका सिकाइ दृष्टिकोणसँग मेल खाने गरी शिक्षकहरूले आफ्ना शिक्षण पद्धति र कक्षाकोठा भित्रका क्रियाकलापलाई समयअनुसार परिमार्जन गर्न आवश्यक छ।

मैले भनेको तैंले मान्नुपर्छ भन्दैमा अहिलेको पुस्ता मान्नेवाला छैन। त्यसैले उनीहरूलाई सही मार्गमा डो¥याउन शिक्षकले प्रविधि र भावनाबिचमा तालमेल ल्याउनुपर्ने हुन्छ। जेन–जीले आफूलाई बढी नै जान्ने, समझदार र बुद्धिमान् ठान्छ। बरु शिक्षक र अभिभावकलाई कुरा नबुझ्ने, एकोहोरो र म्याद गुज्रिएको औषधि जस्तो ठान्छ। यो पुस्ताको समस्या के हो भने यसले मलाई सबै थाहा छ भन्छ। पढ भन्दा मलाई थाहा छ किन पढ्ने भन्छ। लेख भन्दा पनि मलाई थाहा छ किन लेख्ने भन्छ ? जाँचमा पास भएर देखाइ दिन्छु। 

नम्बर ल्याएर देखाइदिन्छु भनेर कहिलेकाहीँ ज्याद्रोपना देखाउँछ। यसमा त्यस पुस्ताको मात्रै दोष छैन। परिवर्तित हुन नखोज्ने शिक्षक र नम्बरको पछि कुद्ने अभिभावकको पनि दोष छ। यस्तो अवस्थामा कक्षामा जेन–जीलाई सम्हाल्न (ह्यान्डल गर्न) कठिन हुन्छ। तसर्थ, शिक्षक सचेत हुनु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.