आदर्शकी प्रतिमूर्ति : माता जानकी

आदर्शकी प्रतिमूर्ति : माता जानकी

हिन्दू धर्मशास्त्र अनुसार वैशाख शुक्ल नवमीका दिन जगज्जननी जानकी माताको प्राकट्य भएको मानिन्छ। यस पावन दिनलाई ‘सीता नवमी’ वा ‘जानकी नवमी’ का रूपमा श्रद्धापूर्वक मनाइन्छ। धार्मिक मान्यता अनुसार, त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको भूमि तयार गर्न हलो जोत्दा धर्तीबाट एउटी कन्याका रूपमा उहाँ प्रकट हुनुभएको थियो। मिथिलाका राजा जनक उहाँका जनक पनि बन्नुभयो । धर्तीकी पुत्री हुनुको नाताले उहाँमा पृथ्वी जस्तै सहनशीलता र उदारता थियो। राजा जनकको दरबारमा उहाँले शास्त्र र शस्त्र दुवैको ज्ञान प्राप्त गर्नुभयो। उहाँ 'वैदेही' (देहको मोह नभएकी) र 'जानकी' का नामले पनि चिनिनुहुन्छ।

आर्य संस्कृति र हिन्दु दर्शनमा माता सीता केवल एक ऐतिहासिक वा पौराणिक पात्र मात्र हुनुहुन्न, उहाँ त्याग, शक्ति, पवित्रता र बुद्धिको सर्वोच्च प्रतीक हुनुहुन्छ। वाल्मीकि रामायण र अन्य रामायणहरूमा सीताको चरित्रलाई एक यस्तो नारीको रूपमा चित्रण गरिएको छ, जसले हरेक परिस्थितिमा आफ्नो धर्म र मर्यादालाई सर्वोपरि राख्नुभयो।

स्वयम् र सङ्कल्पको दृढता

सीताको विवाह भगवान् श्रीरामसँग हुनु केवल एक संयोग थिएन, बरु उहाँको शक्तिको पहिचान पनि थियो। बाल्यकालमा भगवान् शिवको पिनाक धनुषलाई सहजै उठाउन सक्ने उहाँको सामर्थ्यले नै उहाँको दिव्य स्वरूपलाई प्रष्ट पार्छ। वनवास जाने समयमा श्रीरामले उहाँलाई अयोध्यामै बस्न आग्रह गर्दा, उहाँले तर्कपूर्ण ढङ्गले आफ्नो अधिकारको कुरा राख्नुभयो र सँगै जाने निर्णय गर्नुभयो। उहाँले राजदरबारको सुखलाई त्यागेर श्रीरामसँगै १४ वर्ष वनवास जाने निर्णय गर्नु उहाँको पतिव्रता धर्म मात्र नभई आफ्ना निर्णयमा अडिग रहने स्वतन्त्र व्यक्तित्वको प्रमाण पनि हो।

अशोक वाटिका: मौन प्रतिरोधको केन्द्र
रावणद्वारा हरण हुँदा पनि सीताले आफ्नो बुद्धिको सन्तुलन गुमाउनुभएन। बाटोमा श्रीरामको नाम लिँदै वा आफ्ना वस्त्र र आभूषणहरू खसालेर उहाँले आफ्नो हरणको प्रमाण छोड्दै जानुभयो। यो बुद्धिमानी पछि निकै लाभदायक सिद्ध भयो।

रावणद्वारा हरण भएपछि लङ्कामा बिताएको समय सीताको जीवनको सबैभन्दा कठिन परीक्षा थियो। तर, त्यहाँ उहाँले देखाउनुभएको साहस अतुलनीय छ। सीताले आफ्नो बुद्धिलाई सन्तुलित राखिरहनुभयो। जब हनुमानले सीतालाई भन्नुभयो— "तपाईं मेरो पिठ्युँमा बस्नुहोस्, म तपाईंलाई रामकहाँ लैजान सक्छु," तब सीताले हनुमानलाई भन्नुभयो: "मलाई थाहा छ, तिमीसँग धेरै टाढा जान सक्ने र मलाई आफ्नो पिठ्युँमा बोकेर लैजाने शक्ति छ। तर कार्य सफलताका लागि मैले आफैँ पनि यस विषयमा सोच-विचार गर्नु आवश्यक छ।" कुनै पनि काम गर्ने वा नगर्ने सम्बन्धमा आफैँले सोच-विचार गरेर निर्णय लिनुपर्छ। परिष्कृत बुद्धिले मात्र यस्तो गर्न सक्छ।

रावण जस्तो शक्तिशाली असुरको अगाडि पनि उहाँले कहिल्यै शिर झुकाउनुभएन। उहाँले रावणसँग कुरा गर्दा सधैँ एउटा 'तिनको' अगाडि राखेर आफ्नो मर्यादाको रक्षा गर्नुभयो। शोक र त्रासको वातावरणमा पनि उहाँले आफ्नो विवेक गुमाउनुभएन। उहाँले हनुमानलाई चिन्नका लागि गर्नुभएको सूक्ष्म परीक्षणले उहाँको उच्च बुद्धिमानी झल्काउँछ।

त्याग र आत्मसम्मानको पराकाष्ठा

अग्नि-परीक्षा र पछि अयोध्या त्यागका प्रसङ्गहरूले सीतालाई आत्मसम्मानमा दृढताका साथ अडिग रहने नारीको रूपमा उभ्याउँछन्। उहाँले समाजको मर्यादाका लागि राजदरबारको सुखलाई दोस्रो पटक त्याग्नुभयो तर आफ्नो सत्यतासँग कहिल्यै सम्झौता गर्नुभएन।
जब पुनः परीक्षाको घडी आयो, तब उहाँले आफ्नो पवित्रता प्रमाणित गर्न धर्ती मातालाई गुहार्नुभयो र उहाँकै काखमा विलीन हुनुभयो। यसले यो सन्देश दिन्छ कि नारीको सहनशीलताको पनि एउटा सीमा हुन्छ र आत्मसम्मानका लागि भौतिक संसार त्याग्न उनी डराउँदैनन्।

एक सक्षम र एकल माता 
वाल्मीकि आश्रममा बिताएको समयले सीताको अर्को महत्वपूर्ण पक्ष उजागर गर्छ। उहाँले एक्लै आफ्ना दुई छोराहरू, लव र कुशलाई शिक्षित र दीक्षित बनाउनुभयो। उहाँले आफ्ना छोराहरूलाई यस्तो वीर बनाउनुभयो कि उनीहरूले अयोध्याको सेनालाई समेत चुनौती दिए। रानी भएर पनि आश्रमको कष्टकर जीवनमा उहाँले आफ्ना छोराहरूलाई संस्कार र शौर्य सिकाउनुभयो, जुन आजका नारीहरूका लागि ठूलो प्रेरणा हो।

प्रेरक चरित्र
रावणको वधपछि जब हनुमानले अशोक वाटिकाका राक्षसहरूलाई दण्ड दिन चाहे, तब सीताले "पाप होस् वा पुण्य, दया सबैमाथि गर्नुपर्छ" भन्दै उनीहरूलाई क्षमा गरिदिनुभयो। यो उहाँको महानताको प्रमाण हो।

सीता माता केवल एउटा नाम मात्र होइन, उहाँ एक विचार हुनुहुन्छ। उहाँको जीवनले सिकाउँछ कि परिस्थिति जस्तोसुकै प्रतिकूल किन नहोस्, यदि मानिससँग बुद्धिको सन्तुलन, चरित्रको पवित्रता र आफ्नो सत्यमा विश्वास छ भने उसले इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सक्छ। आजको आधुनिक समाजमा सीताको संघर्ष र मर्यादा झन् बढी सान्दर्भिक बनेको छ।

जानकी नवमी विशेष गरी मिथिला क्षेत्र र जनकपुरधाममा अत्यन्तै उत्साहका साथ मनाइन्छ। माता सीता त्याग, समर्पण, धैर्य र पवित्रताकी प्रतिमूर्ति हुनुहुन्छ। उहाँको जीवनले हामीलाई प्रतिकूल परिस्थितिमा पनि आफ्नो धर्म र मर्यादामा कसरी अडिग रहने भन्ने सिकाउँछ। यस दिन श्रद्धालुहरूले व्रत बस्ने, रामायण पाठ गर्ने र माता सीताको पूजा–आराधना गरी उहाँको आदर्श चरित्रको स्मरण गर्दछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.