मीठो बोल, सम्मान बटुल

मीठो बोल, सम्मान बटुल

‘हड्डी नभएको जिब्रो’लाई विवेकको लगाम लगाउनु नै आजको आवश्यकता हो। हामीले बोल्ने प्रत्येक शब्दले अरूको आत्मसम्मानमा ठेस नपुगोस् भन्नेमा सचेत हुनुपर्छ। किनकि मीठो र सभ्य बोली नै असल संस्कारको पहिचान हो।

मानव सभ्यताको उच्चतम उपलब्धिमध्येको एक हो, भाषा। भाषा मानिसबीच हुने सञ्चारको माध्यम हो। भाषा नहुँदो हो त मानिस र जनावरमा खासै फरक हुने थिएन। तर पछिल्लो समयमा पनि मानिसबीचमा सञ्चारको क्रममा भाषालाई दुरुपयोग गरेर वा दुर्गन्धित बनाएर प्रयोग गर्ने क्रम व्यापक बनिरहेको छ। समाजमा विविध भाषिक स्वभावका मानिस हुन्छन्। कोही मानिस भद्र भाषा बोल्ने हुन्छन् त कोही उग्र। उग्र भाषा बोल्ने मानिसबाट अन्य मानिसले वाकहिंसा भोगेका हुन्छन्।

‘हाड नभएको जिब्रोले जे पनि बोल्छ’ भन्ने त उखानै छ। केही संवेदनहीन मानिस जे पायो त्यही बोल्न अभ्यस्त हुन्छन्। उनीहरूले जानअञ्जानमा मनलाग्दी बोलिदिन्छन्, त्यस्तो बोलीले संवेदनशील मानिसमा मानसिक यातना वा चिन्ता उत्पन्न हुने स्थिति पैदा गराइदिन्छ। भनिन्छ ‘बन्दुकको गोलीले भन्दा कुटिल बोलीको प्रहारले बढी पीडा दिन्छ।’ वास्तवमा कुटिल र तुच्छ बोलीले कसैलाई रुवाउनु वा दुखाउनु पनि एउटा अति ठूलो हिंसा हो। समाजमा वाकहिंसाको जगजगी नै चलेको छ।

मानिसको दैनिक जीवनमा विभिन्न ठाउँमा असभ्य बोलीसँग साक्षात्कार हुन्छ। स्कुल क्याम्पसका विद्यार्थी साथी, खेलाडी साथी, कार्यालयमा सहकर्मीलगायत विविध क्षेत्रमा संगत गरिएका मानिसमध्ये कोही न कोही असभ्य बोली बोल्ने बानीका हुन्छन्। जे पायो त्यही बोलेर अरूको मनमा ठेस पु¥याउने र आफ्नो उचाइ गिराउने मानिस समाजमा प्रशस्त भेटिन्छन्। उनीहरूलाई शिष्टता र सभ्यताको ख्याल हुँदैन। अपशब्द वा फोहोरी शब्द बोल्ने मानिसको वाणी सुनेर अवोध बालबालिकाले पनि त्यसकै सिको गर्ने प्रवृत्ति व्यापक छ। एउटाले बोलेपछि अर्काले बोल्न थाल्छ, यसरी नै फोहोर बोल्ने क्रम व्यापक भएको छ। यस्तो अपशब्द बोल्ने प्रवृत्ति व्यापक भएको एउटा क्षेत्र यातायात हो। कतिपय खलासी, कन्डक्टर, चालक फोहोर बोल्न अति नै सिपालु हुन्छन्। भाडा उठाउने बेलामा होस् या अरू बेलामा त्यहाँ शब्दहरू अति नै अशिष्ट प्रयोग भएको सुनिन्छ। वास्तवमा चालक भनेका अति उच्च र 

संवेदनशील जिम्मेवारी भएका पेसाकर्मी हुन्।

तर केही चालकको असभ्य बोली सुन्दा दिक्क लाग्छ। सार्वजानिक सवारीमा यात्रा गर्दा उनीहरूको बोलीले थुप्रैलाई अत्यास लाग्छ। साहुले नोकरलाई, हाकिमले सहायकलाई, बलियाले निर्धालाई, ठूलाले सानालाई दुर्वचन लगाएर हप्काउने सिलसिला व्यापक छ। पढेलेखेका र आफ्नो छुट्टै पहिचान बनाइसकेका अनि उच्च पदमा आसिन मानिसले समेत फोहोर बोलेको सुन्दा त यस्तो लाग्छ कि मानिसमा संवेदनशीलता हराइसकेको छ। फोहोर वचनले संवेदनशील मानिसको मनलाई रुवाउँछ। प्रायः मानिस कोमल र संवेदनशील मनका नै हुन्छन्। एक दशकअघि अमेरिकामा गरिएको एक अनुसन्धान मुताविक वाइपोलार डिस्अर्डरमा आउने डिप्रेसिभ फेजजस्तो कडा मानसिक रोगले पीडित मानिसमध्ये २४ प्रतिशतलाई त्यो रोग निम्तनुको प्रमुख कारक वाकहिंसाको सिकार हुनु रहेको छ।

घरका सदस्यबाट दुर्वचन, गालीगलौज र उपेक्षा गरिएका विशेषगरी पाका उमेरका मानिसको मनस्थिति विचलित बन्छ। कतिपय अवस्थामा तिनले घरै छोडेर हिँड्ने वा कतिपयले त आत्महत्याको बाटो पनि रोजेका कैयौं दृष्टान्त छन्। दुर्वचन र उपेक्षाले आजित भएर केही लागुपदार्थको दुव्र्यसनमा पनि फस्ने गरेका छन्। बेइज्जतीपूर्ण गाली सहन नसकेर मानिस विचलित बन्छन र संयम गुमाउँछन्। यसको नतिजामा झैझगडा, कुटपिटलगायत हत्याहिंसासमेत निम्तिन सक्छ। कसैले निर्दोष मानिसलाई केही कुराको गलत आक्षेप लगायो भने त्यो अति ठूलो अन्याय हुन्छ र परिणामस्वरूप चरम कलह निम्तिन सक्छ। वाकयुद्धबाट कति मित्र शत्रु बन्छन्, कति आफन्त बैरी बन्न पुग्छन्। ज्यान दिन तयार हुनेहरू ज्यान लिन तयार हुन्छन्। वाकयुद्धबाट नै कति दम्पतीहरू एकअर्काबाट विरक्तिएर सम्बन्धविच्छेदसमेत गर्छन्। 

रक्सी र लागुपदार्थको नशामा अन्धाधुन्ध बोलिदिँदा मित्रवत् सम्बन्ध टुट्ने गरेको पाइन्छ। प्रकृतिले मानिसलाई मुख मीठो बोल्नका लागि दिएको हो, अपशब्द र असभ्य भाषा बोल्न होइन। अरूको मन दुखाउने गरी बोलिने शब्द वा वाक्यले कलह निम्त्याउँछ। असभ्यता, अराजकता, कलह निम्त्याउने शब्दले मानव समुदायमा दरार पैदा गरिदिन्छ। जीवनमा धेरै मानिससँग संगत, उठबस हुन्छ। सबैसामु सभ्य र सुसंस्कृत भएर प्रस्तुत भए इज्जत पाइन्छ, नत्र घृणामात्र हात लाग्छ। सभ्य बोलीले मानिसको असल संस्कार र चेतना झल्काउँछ, उसको गरिमा बढ्छ र उसले अरूबाट आड भरोसा पाउँछ। प्रत्येकको बोेलीवचन सुशील र संयमित हुनु अत्यावश्यक छ, यसले मात्र शान्ति र सौहार्दता झाँगिन्छ। बोल्नुभन्दा पहिले अरूको मनमा ठेस नपुगोस् भनेर सोचेर बोल्नु महानता हो। थोरै बोल्ने र मीठो बोल्ने मानिसले प्रायजसो राम्रा मित्र कमाएको हामीले देखेकै छौं। मीठो शब्द र सम्मानका साथ बोले आफूले पनि अरूबाट सम्मान पाइन्छ। मर्यादित तरिकाले बोल्नु नै असल मानिसको एक प्रमुखमध्येको गुण हो।

खराब बोली अत्यन्त कुटिलता हो। वाकहिंसाको सिलसिला बन्द गर्न सबै सचेत मानिस एकजुट हुनु आवश्यक छ। हाड नभएको जिब्रोमा विवेकको हाड हाल्न सक्नु असल मानिसको ठूलो खुबी हो। वाकहिंसाको पीडामा मुच्र्छित कमलो मन भएका मानिसलाई सबै मानिस क्रूर हुँदैनन् भन्ने सन्देश दिएर पीडामुक्त पार्नु पनि हाम्रो कर्तव्य हो। विद्यालय, कलेजमा विद्यार्थीमा सभ्य बोलीचालीको परम्परा बसाल्नको निम्ति शिक्षकहरूले उच्च प्रयत्न गर्नु जरुरी छ। साथीभाइको असभ्य बोली सुधार्नका लागि सचेत मानिसले नैतिक दबाब दिनुपर्छ। विशेषतः पछिल्लो समय निर्माण भएका केही चलचित्रमा निकृष्ट र असभ्य भाषा प्रयोग भएको पाइएको छ। यो प्रवृत्तिलाई निस्तेज पार्न पनि सचेत मानिस अग्रसर हुनुपर्छ। चलचित्रको प्रभाव दीर्घकालीन हुने भएकाले असभ्य संवाद हटाउन चलचित्र सेन्सर बोर्ड अग्रसर हुनुपर्छ। समाजका प्रत्येक क्षेत्रमा शाब्दिक अराजकता हट्नु पर्छ। 

शाब्दिक वा भाषिक तवरले गरिने परपीडन र परनिन्दाले मानवीय एकता कमजोर बनाउँछ। यसले कालान्तरमा सभ्य र शान्त समाज निर्माणमा कठिनाइ उत्पन्न गरिदिन्छ। वर्तमानमा शाब्दिक अराजकता भुसको आगोझैं बढिरहेको क्षेत्र हो सामाजिक सञ्जाल। सार्वजनिक पदमा रहेका निर्दोष मानिसहरूको पनि अति व्यक्तिगत जीवनमा धावा बोलेर बांगोटिंगोे गराई सामग्रीहरू प्रेषण हुन्छन्। मानिसलाई इज्जत कमाउन जीवनभर लाग्छ भने इज्जत गुमाउन निमेषभर पनि लाग्दैन। मानिसको चरित्रहत्या गर्ने, अपशब्द प्रयोग गर्ने, अपमान र गालीगलौज गर्ने प्रवृत्ति व्यापक छ। केही मानिसले आफ्नो कुण्ठा र प्रतिशोधको भावना प्रकट गर्न सामाजिक सञ्जालको व्यापक दुरुपयोग गरिरहेका छन्। यसको प्रभावकारी नियमन जरुरी छ। मीठो, भद्र र सभ्य भाषा बोल्न, लेख्न सक्नुनै असल मानवको उच्चतममध्येको एक विशेषता हो। यो कुरालाई नजरअन्दाज गर्नु कसैले पनि हुँदैन। हामी सबैलाई साथी बनाऔं, दुश्मन होइन। सभ्य हुनु नै सबैको मानवीय धर्म हो।

निष्कर्षमा, भाषा मानव सभ्यताको गौरव र सञ्चारको सशक्त माध्यम हो। तर, यसको दुरुपयोगले सिर्जना गर्ने ‘वाकहिंसा’ भौतिक चोटभन्दा पनि घातक सावित भइरहेको छ। सार्वजनिक यातायात, कार्यस्थल र विशेषगरी सामाजिक सञ्जालमा बढ्दै गएको अपशब्द र अशिष्ट बोलीले मानवीय संवेदनालाई मात्र कमजोर बनाएको छैन, बरु मानसिक रोग र सामाजिक विग्रहको बिउसमेत रोपेको छ।

‘हड्डी नभएको जिब्रो’लाई विवेकको लगाम लगाउनु नै आजको आवश्यकता हो। हामीले बोल्ने प्रत्येक शब्दले अरूको आत्मसम्मानमा ठेस नपुगोस् भन्नेमा सचेत हुनुपर्छ। विद्यालय, चलचित्र सेन्सर बोर्ड र समाजका हरेक तहबाट अश्लीलता र गालीगलौजविरुद्ध नैतिक दबाब सिर्जना गरिनुपर्छ। अन्ततः, मीठो र सभ्य बोली नै असल संस्कारको पहिचान हो। अरूलाई सम्मान दिएर मात्र आफूले सम्मान पाउन सकिन्छ भन्ने सत्यलाई आत्मसात् गर्दै एउटा मर्यादित र शान्त समाज निर्माणमा लाग्नु हामी सबैको मानवीय धर्म हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.