आदर्शको अन्तिम अवसान
अब केवल ‘कम्युनिस्ट’ नाम र साइनबोर्डले मात्रै जनताको विश्वास जित्न सम्भव छैन।
हाम्रो समाजमा प्रचलित निकै मर्मस्पर्शी एक उखान छ, ‘भेडाले आफ्नो सारा जीवन ब्वाँसोस“ग डराएर बिताउँछ, तर अन्त्यमा ऊ गोठालोद्वारा नै खाइन्छ।’ वामपन्थी प्रगतिशील दल, संस्था र नागरिक चेतनाको कमजोर उपस्थिति र भूमिकाप्रति यो उखानको मर्म मिल्न सक्छ। नागरिकले जसलाई दशकौं विश्वास गरे, आखिर तिनैले धोका दिए।
केही वर्षअघिसम्म वामपन्थी शक्तिप्रति जनअपेक्षा, विश्वास र समर्थन बलियो थियो। किनभने समाजमा वामपन्थीहरू प्रगतिशील, रुढिवादमुक्त, क्रान्तिकारी हुन्छन् भन्ने मान्यता स्थापित छ। मार्क्स—लेनिन—माओवादी अर्थात् कम्युनिस्टहरू प्रतिक्रियावादी, भूराजनीतिक चलखेल, दलाल पु“जीवाद, सुकिला मुकिला आदि अमूर्त, अमुक शक्तिप्रति आक्षेप लगाउने गर्छन्। आत्मसमीक्षा र आफ्नो कमजोरी कहिल्यै नदेख्ने वामपन्थी शक्ति अद्यपि पतनको बाटो रोज्दैछन्। आफूलाई कहिल्यै समयानुकूल परिमार्जन नगर्ने, सिद्धान्त र व्यवहारको अवलोकन र मूल्यांकन नगर्ने तथा अदृश्य, अपुष्ट शक्तिलाई दोषारोपण गर्ने वामपन्थीहरूको परम्परागत महारोग हुन्। यता जननिर्वाचित सरकारबाट सहिदको रगत, बलिदानी, संघर्षद्वारा प्राप्त उपलब्धि खोसिन सक्ने खतरा पहाड झैं उभिएको संकेत बुझ्नु जरुरी छ।
भौतिक, जैविक उपस्थिति प्रमाणित गर्न असम्भव र वाल्मीकि रामायण कथाका एक प्रमुख पात्र हुन्, श्रीराम। उनी ठोरीमा जन्मिएको मनगढन्त बालहठ ग्रस्त ओली मनस्थितिबाट नेपाली जनमानसले पर्याप्त मनोरञ्जन प्राप्त गर्यो। भौतिक पूर्वाधार, विद्यालय, कलेज, अस्पताल र जनताको आवास निर्माणमा भन्दा मठमन्दिर निर्माण, उपयोगीताविहीन भ्यु टावर, धार्मिक अनुष्ठानहरूमा बढी खर्च गर्ने वामपन्थी प्रधानमन्त्री, अर्थमन्त्री र अन्य मन्त्री नै अधिक छन्। त्यतिमात्रै होइन, वामपन्थी दलको टिकट र मतद्वारा निर्वाचित स्थानीय तहका जनप्रतिनिधि तथा वामपन्थी दल नेतृत्वको वा सम्मिलित प्रदेश सरकार रुढिवाद जीवन्त राख्ने संरचना जगेर्ना गर्ने कार्यमा बजेट दुरुपयोग गर्ने कार्यमा अत्यधिक संलग्न छन्। अर्थात स्थानीय तह तथा प्रदेश सरकार विद्यालय, अस्पताल, सार्वजनिक शौचालय, प्रहरी चौकी आदि निर्माणमा भन्दा मठमन्दिर, धार्मिक संरचना निर्माणमा बढी खर्च गर्न अग्रसर छन्।
हामीलाई शिक्षाविद्, वैज्ञानिक, प्राविधिक, इन्जिनियर आदि उत्पादन गर्नु छैन, बरु धार्मिक अतिवादीहरू जन्माउनु पर्ने लक्ष्य छ, तर किन ? दसवर्षे सशस्त्र विद्रोहबाट उदाएका तथा आफूलाई खा“टी क्रान्तिकारी कम्युनिस्ट ठान्ने पुष्पकमल दाहालको भैंसी पूजा, भारत उज्जैनस्थित महाकालेश्वरको गेरुवस्त्रधारी पूजाअर्चना पनि देख्यौं। २०८० सालमा उनी प्रधानमन्त्री भएका बखत भारतको औपचारिक भ्रमण गरेका थिए र त्यतिबेला दाहाल महाकालेश्वर मन्दिर पुगेका हुन्। शास्त्रीय मार्क्सवादी सिद्धान्तविपरीत वामपन्थीहरू नवधनाढ्यमा गनिन्छन्। उनीहरूको मूल मान्यताविपरीतको संसदीय व्यवस्थामा सबैभन्दा बढी लिप्त र भ्रष्ट बन्न पुगे वामपन्थीहरू। मार्क्स—लेनिन—माओले के भने, उनीको सिद्धान्त के हो भन्ने सवाल अब मुख्य रहेन, बरु कमरेडहरूको व्यवहार, चालढाल हेर्ने र मूल्यांकन गर्ने जागरिक तयार भएका छन्। केवल नेताहरूले बुझ्न ढिला गरे।
- समयको पदचाप पछ्याउँदै जडता त्यागेर वैचारिक रूपान्तरण गर्नु अनिवार्य छ।
- अव्यावहारिक शास्त्रीय समाजवादको साटो लोककल्याणकारी र उन्नत लोकतान्त्रिक राज्य निर्माणको सामूहिक लक्ष्य लिनु नै वामपन्थी राजनीतिको सुरक्षित भविष्य र अन्तिम विकल्प हो।
विश्वमा अब कोही कम्युनिस्ट रहेन। कम्तीमा नेपालमा कम्युनिस्ट पार्टीको नाम, साइन बोर्ड, ब्यानरबाहेक कोही कम्युनिस्ट छैन। खासमा कोही कम्युनिस्ट किन बन्नुपर्यो ? अब त वामपन्थीहरूको वैचारिकी र भाष्य बदल्नुपर्ने आवश्यकता छ। वामपन्थीहरूको ‘अन्त्येष्टि—उन्मुख’ अवस्था कसरी आयो ? यो विचारणीय प्रश्न हो। खासमा मार्क्सवादको मूल सिद्धान्त र विचारमै खोट वा समस्या छ, जसले विश्वभरि नै यो आज पतनोन्मुख भएको छ। मार्क्सवाद र मार्क्सवादी दुवै संकटमा छन्। विश्वमा मार्क्सले भनेको जस्तो सर्वहारा क्रान्ति कहिल्यै र कतै भएन। क्रान्तिका लागि मानसिक पक्षको महŒवपूर्ण भूमिका हुन्छ। जो वर्ग दैनिक हातमुख जोर्ने चिन्ता र मजबुरीमा सारा जीवन बिताउन बाध्य छन्, उक्त वर्ग आफैं क्रान्ति गर्न सक्षम हु“दैन। तथापि क्रान्ति सुरु भएपछि उनीहरू आफ्नो भूमिका निभाउन भने सक्छन्। क्रान्ति सुरुवात गर्ने काम साना पु“जीपति वा मध्यमवर्गीय व्यवसायी (जसलाई पिटिट बुर्जुवाजिज भनिन्छ) जस्तैः पढेलेखेका, बुद्धिजीवी, कर्मचारी, साना व्यापारी आदि हुन्।
मार्क्सवादको इतिहासवादमा हेत्वाभास (फल्लेसी) छ। रुसी क्रान्तिले त्यसलाई नंग्याइदिएको थियो। सन् १९२६ मा स्टालिनले रुसी कम्युनिस्ट पार्टीको कंग्रेसमा यस्तो घोषणा गरे, ‘समझदार मार्क्सवादीका अनुभवमा हामीले सैद्धान्तिक मान्यतामा पुनर्विचार गर्नुपर्ने आवश्यकतालाई बुझ्नु पर्दछ।’ यस सन्दर्भमा स्टालिनजस्तै लेनिनसमेत मार्क्सवादी क्रान्ति सिद्धान्तको अपर्याप्तताप्रति सचेत वा जागरुक थिए ? त्यो सत्य जान्न अब सम्भव छैन, तथापि यो सत्य भने स्पष्ट छ, मार्क्सवादी क्रान्ति सिद्धान्तको अपर्याप्तताका कारण नै रुसी क्रान्तिको पतन हुन पुग्यो (एम.एन. राय, पु. इन्ट्रडक्सन्)।
रुस र चीन दुवै मुलुकमा मार्क्सको दाबीबमोजिमको सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति सम्पन्न भएको होइन। तत्कालीन समयमा रुस र चीन दुवै देश औद्योगिक मुलुक थिएनन्, जहा“ सर्वहारा वर्गको प्रभुत्व होस्। रुसका जार निकोलस (१८९४—१९१७) रुसी साम्राज्यका अन्तिम सम्राट् थिए। कमजोर निर्णय क्षमता भएका उनी पहिलो विश्वयुद्धमा हार व्यहोरे। पछि उनी निरंकुश शासक बने। सन् १९०४–०५ को युद्धमा रुस जापानस“ग निरीहतापूर्ण ढंगले हार व्यहोर्न पुग्यो। र रुसी जनताले त्यो हारको सम्पूर्ण दोष जारमाथि थोपरिदिए। लेनिनको नेतृत्वमा १९१७ मा रुसी क्रान्ति सफल बन्यो। तत्पश्चात जारको परिवारसहित हत्या गरियो। लेखक एम.एन. रायका अनुसार सैद्धान्तिक दृष्टिबाट हेर्दा रुसी क्रान्ति सर्वहाराको क्रान्ति थिएन। ‘त्यो त्यस्तो क्रान्ति थिएन, जस्तो मार्क्सका अनुसार अत्यधिक विकसित पु“जीवादी मुलुकमा सुरु हुनु पर्दथ्यो। रुसी क्रान्ति बुर्जुवा वा बढीमा मिश्रित क्रान्ति थियो।’ अर्थात्, जसमा केही चिज बुर्जुवा र केही सर्वहारा क्रान्तिका थिए।
दुवै मुलुकमा किसान तथा अन्य वर्गको सहयोगमा सत्ता कब्जा गरियो। ज्ञातव्य रहोस्, सर्वहारा वर्ग यदि कही“ हुने सम्भावना रहन्थ्यो भने, पश्चिमा अतिविकसित औद्योगिक देशहरूमा मात्रै सम्भव थियो। परन्तु त्यहा“ पनि सर्वहारा वर्गको अस्तित्व थिएन, किनकि औद्योगिक मुलुकमा मजदुरहरू सर्वहारा बन्ने कुरा कुनै औचित्य नै थिएन। जब उनीहरू काम गर्थे उनीहरूले आय आर्जन गर्थे र सामान्य जीवन जिउथे। जब कोही आर्य आर्जन गर्छन् उनीहरू सर्वहारा कसरी बन्न सक्छन् ? यही दार्शनिक कारण हो, कुनै पनि औद्योगिक माध्यमबाट समृद्ध बनेका देशमा कहिल्यै न सर्वहारा वर्गको जन्म भयो न ती मुलुकमा अहिल्यै सर्वहारा वर्गको क्रान्ति नै।
चीनमा पनि उही हाल भयो। अध्यक्ष माओ त्से तुङको नेतृत्वमा एक सामाजिक, राजनीतिक क्रान्ति भयो, जसले जनवादी गणतन्त्र चीनको स्थापना गर्यो। १९३७ मा जापानद्वारा चीनमाथि आक्रमण गरी हजारौं किसानको हत्या गर्यो। त्यसकारण चिनियाँ जनतामा जापानविरुद्ध आक्रोश बढ्यो। त्यसको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टीले गर्यो। १९४५ मा अमेरिकाले जापानमाथि परमाणु बम खसालेपश्चात जापान कमजोर हुन पुग्यो। सोही मौकामा चिनियाँ क्रान्ति देश प्रेम तथा स्वतन्त्रता संग्रामका कारण आयो, न कि मार्क्सको योजना मुताविक।
विज्ञान भन्छ, कुनै पनि वस्तु वा चिज स्थायी छैनन्, बरु परिवर्तनशील छन्। तथागत बुद्धको पनि यही मान्यता थियो। उनी भन्छन्— ‘कुनै पनि वस्तु शाश्वत छैन।’ शाश्वत (इटरनल) अर्थात् अविनाशी, नित्य, चिरस्थायी वा अनन्त। मार्क्सवादमा यसलाई द्वन्द्वात्मकता (डाइलेक्टिक्स्) भनिएको छ। मार्क्सवादले मानव सभ्यतालाई चार भागमा विभाजित गरेको छ। पहिलो, आदिम साम्यवाद, त्यसपछि, दास प्रथा (युग), तेस्रो, सामन्तवाद र चौथो, पु“जीवाद। अब यसको समुन्नतिबाट समाजवाद आउने भविष्यवाणी गर्छन्। तत्पश्चात् वर्गविहीन, राज्यविहीन व्यवस्था अर्थात् साम्यवादमा पुगिन्छ। मार्क्सवादी सिद्धान्त विज्ञानको मान्यताविपरीत देखिन्छ। अर्थात्, साम्यवाद शाश्वत हुनेछ।
नेपालमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको गठन भयो। सुरुआतदेखि नै जनवादी क्रान्तिको आवश्यकता देख्यो र लक्ष बनायो। चर्चित झापा विद्रोह हुँदै नेकपा माओवादीले २०५२ सालबाट सशस्त्र विद्रोहको सुरुआत गर्यो। त्यो त्रासदीपूर्ण हिंसात्मक विद्रोहलाई बाह्रबु“दे सम्झौतामार्फत शान्तिपूर्ण र जनमतद्वारा शासन गर्ने युगमा माओवादी प्रवेश गरे। शान्तिपूर्ण मार्गमा प्रवेश गरेसँगै माओवादी अनगिन्ती फुटको भासमा भासिन पुग्यो। यस्तो हुनुमा संसदीय व्यवस्थाको मोहमात्रै होइन, मार्क्सवादी सिद्धान्तको जडता र समस्या प्रमुख कारण हुन्। अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रिय जनमोर्चा वा मोहनविक्रम सिंहपथमा आइपुगेका छन्। उसो त सत्तासीन दल रास्वपामाथि विचारविहीनताको आरोप लाग्ने गरेको छ। त्यसको यथोचित जवाफ रास्वपाले नै दिँदै जाला, यद्यपि सिद्धान्त एकातिर र व्यवहार अर्काेतिर गर्नु पनि सिद्धान्तहीन बन्नु समान नै हो।
निष्कर्षमा भन्नुपर्दा– सिद्धान्त र व्यवहारबीचको तीव्र अन्तर नै आजको वामपन्थी राजनीति र मार्क्सवादी दर्शन संकटमा पर्नुको मुख्य कारण हो। मार्क्सले परिकल्पना गरेको ‘सर्वहारा क्रान्ति’ र ‘साम्यवाद’ वैज्ञानिक र व्यावहारिक कसीमा खरो उत्रिन सकेन, जसको उदाहरण रसिया र चीनको इतिहासले देखाएको छ। नेपालमा पनि कम्युनिस्ट नेताहरू क्रान्तिकारी आदर्श छाडेर संसदीय सत्ता, भ्रष्टाचार र रुढिवादी आचरणमा लिप्त हुनुले यो शक्ति ‘अन्त्येष्टि–उन्मुख’ देखिएको छ।
अब केवल ‘कम्युनिस्ट’ नाम र साइनबोर्डले मात्रै जनताको विश्वास जित्न सम्भव छैन। समयको पदचाप पछ्याउँदै जडता त्यागेर वैचारिक रूपान्तरण गर्नु अनिवार्य छ। तसर्थ, अव्यावहारिक शास्त्रीय समाजवादको साटो लोककल्याणकारी र उन्नत लोकतान्त्रिक राज्य निर्माणको सामूहिक लक्ष्य लिनु नै वामपन्थी राजनीतिको सुरक्षित भविष्य र अन्तिम विकल्प हो।
प्रतिक्रिया दिनुहोस !