छैटौं रारा ट्रेल रनको तयारी पूरा
मुगु : रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘रारा ट्रेल रन’ प्रतियोगिताको छैटौं संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
मंगलबार नेपाली सेनाको हनुमान ध्वज गुल्म, हुटुले पत्रकार सम्मेलन गरेर वैशाख ३० गते सञ्चालन हुने प्रतियोगिताको तयारी सम्पन्न भएको जानकारी दिएको हो। गुल्मपति खड्ग बहादुर श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन वैशाख १० गतेदेखि नाम दर्ता सुरु भइसकेको छ।
प्रतियोगिता राराताल वरिपरि १६ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ। प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुने र यसमा १८ देखि ४५ वर्ष उमेर समूहका महिला तथा पुरुष गरी ६ सयभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। यसैगरी १० देखि ६० वर्ष उमेर समूहका लागि ५ किलोमिटर ‘रन फर फन’ प्रतियोगिता पनि आयोजना गरिनेछ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !