अमर योगी, अखण्ड ज्योति

महायोगी गोरखनाथ

अमर योगी, अखण्ड ज्योति

महायोगी गुरु गोरखनाथ केवल एक ऐतिहासिक व्यक्तित्व वा योगीमात्र नभएर नेपाली पहिचान, सौर्य र आध्यात्मिकताका सर्वोच्च स्तम्भ हुन्।

नेपाली जनमानसमा महायोगी गोरखनाथ अर्थात् गोरक्षानाथ अत्यन्त प्रभावशाली, पूजनीय, रहस्यमयी सिद्धयोगीको रूपमा प्रतिष्ठित छन्। उनी नाथ सम्प्रदायका महान् हठयोगी र सिद्व योगका महागुरुको रूपमा चिनिन्छन्। यो भुखण्ड गुरु गोरखनाथझैं विराट व्यक्तित्वको प्रभावबाट मुक्त हुने सवालै उठ्दैन। उनले आफ्नो योगसिद्धी, तन्त्र एवं चमत्कारद्वारा झुपडीदेखि महल, राजादेखि रंक सबैलाई प्रभावित गरे। आज पनि यो देशको कुनाकुनामा व्याप्त छन्– गोरखनाथ। 

श्री गोरखनाथ शिवावतारको रूपमा देश, काल, सीमादेखि धेरै पर छन्। आज पनि उनी नाथ सम्प्रदायमा पूजित छन्। उपाषित छन्। इतिहास, साहित्य र साधनामा अमिट छाप छोड्न सफल छन्। नाथ सम्प्रदायको परम्परा र अनुश्रुतीअनुसार श्री गोरखनाथ अमर तथा चारै युगमा विद्यमान छन्। कलियुगमा गोरखनाथ एक जागृत देवको रूपमा मानिएका छन्। भगवान् शिवका अवतार भएका कारण असिम शक्ति स्त्रोत हुन्– गोरक्षानाथ। उनका बहुआयामिक पाटा छन्। एउटै पाटोबाट बुझ्न कठिन छ। गोरखनाथलाई बुझ्न नाथ सम्प्रदाय, उनका लोकवाणी, देशको इतिहाससँग उनको सम्बन्ध, गोरख साहित्य आदिलाई बुझ्नु आवाश्यक छ। 

नाथ सम्प्रदाय र गोरखनाथको जन्म  :  नाथ शब्दको सिधा अर्थ हो स्वामी। हाम्रो देशमा नाथ योगीहरूको परम्परा निकै प्राचीन छ। सनातन धर्मको अभिन्न अंग हो– नाथ सम्प्रदाय। भगवान शंकर आदिनाथ हुन् भने भगवान् दत्तात्रेय आदि गुरु हुन्। यहिबाटै नौ नाथ र चौरासीनाथ सिद्ध परम्पराको सुरुवात भयो। यी सबै नाथ समुदायको मुख्य स्थान हिमालयको गुफा, कन्दराहरू रहे। तिनै नाथ परम्पराका महायोगी थिए– गोरखनाथ। उनको जन्मबारे लोकमा अनेकौ जनश्रुति प्रचलित छन्। महायोगी गोरखनाथजीकोजन्म कर्म दुवै दिव्य छ। 

जनश्रुतिअनुसार उनको जन्म साधारण मनुष्यझैं माता–पिताको रजवीर्यबाट नभएर दैवीय चमत्कारद्वारा भएको पाइन्छ। एउटा लोकश्रुतिअनुसार एकपटक गोरखनाथका गुरु मत्स्येन्द्रनाथ भ्रमण गर्दै गोदावरी नदिको तटवर्ती चन्द्रागिरी नामको स्थानमा पुगे। मत्स्येन्द्रनाथ नाथ सम्प्रदायमा आदिनाथ र दत्तात्रेयपछिका सबैभन्दा महत्त्वपूर्ण नाथ आचार्य थिए। जो मिननाथ र मच्छिन्द्रनाथको नामले लोकप्रिय भए। कौलज्ञान निर्णयअनुसार उनी कौलमार्गका प्रथम प्रवर्तक थिए। उनका गुरु दत्तात्रेय थिए।

हठयोग परमगुरु थिए– मछिन्द्रनाथ। त्यहाँ पुगेर उनले सरस्वती नामकी नि : सन्तान महिलाको द्वारमा पुगेर अलख जगाए। उनी भिक्षा लिएर बाहिर आइन्। उनको अनुहारमा उदासीनता छाइरहेको थियो। त्यो करुणाका खानी मत्स्येन्द्रनाथले उनलाई भभुत दिँदै भने, ‘यो दिव्य प्रसाद खानु, तिमीलाई पुत्र रत्न प्राप्त हुन्छ तर लोकनिन्दाको डरले उनले त्यो खाइनन्। त्यसलाई नजिकैको झारी गोबरको थुप्रोमा राखिदिइन्। १२ वर्षपछि मत्स्येन्द्रनाथ घुम्दैघुम्दै फेरि त्यही स्थानमा आइपुगे र बालकको बारेमा सोधे।

उनले त्यो भभुतलाई गोबरको थुप्रोमा राखेको सत्यता बताइन्। यो सुनेपछि मत्स्येन्द्रनाथले भने– ‘हे आमा ! त्यो अभिमन्त्रित विभूत थियो, त्यो निष्फल हुनै सक्दैन। त्यो राखिएको स्थानमा मलाई लिएर हिँड्नुस्। ‘महिलाले त्यो स्थानमा लिएर गइन्। मत्स्येन्द्रनाथ सिद्व माहात्मा थिए। उनले आफ्नो ध्यानबलले हेरे। गएर उनले अलख ! निरञ्जन लगाउनेबित्तिकै गोबरको थुप्रोबाट चुच्चो नाक, ठूलो निधार, आकर्षक प्रतिमूर्तिका बाह्र वर्षका बालक सामुन्ने देखा परे। गुरु मत्स्येन्द्रनाथ बालकलाई लिएर गए। त्यही बालकपछि महायोगी गोरखनाथको नामले प्रसिद्ध भए।

गोरखनाथका चमत्कारहरू  :  लोकमा गुरु गोरखनाथ सच्चितान्न्द भगवान् शिवको स्वरूप पनि मानिन्छन्। चारैयुगमा विद्यमान अमरकाय सिद्ध पुरुषको रूपमा चिनिन्छन्। उनले एसियाको विशाल भुखण्ड नेपाल, भारत, अफगानिस्तान, कान्धहार आदिमा योगका महाज्ञान फैलाए। यस्ता महायोगीको बारेमा लोकमा अनेकौ चमत्कारका किस्सा प्रचलित छन्। उनले आफ्ना गुरु मत्स्येन्द्रनाथसँग परकाया प्रवेशको विद्या सिकेका थिए भन्ने लोकमान्यता छ। यो विद्याद्वारा मुर्दालाई पनि प्राण भर्थे। उनका गुरु मत्स्येन्द्रनाथ माछा पेटबाट प्रकट भएको भन्ने लोकविश्वास छ।

मत्स्येन्द्रनाथले क्षिर सागरमा भगवान् शिवले माता पार्वतीलाई सुनाएको रहस्य मातृगृहमा सुनेका थिए। त्यो ज्ञान उनले आफ्नो शिष्य गोरखनाथलाई प्रदान गरे। यही योगबलले उनले बादललाई पनि आफ्नो वशमा लिन्थे। उनले शिव–शक्तिलाई एकत्रित गरेर प्राणी मात्रलाई जीवन–मरणको बन्धन र दु : खबाट छुट्कारा दिन हठयोगको साधना गरे। कुण्डली शक्तिको जागरण, नाडीलाई शुद्व गर्नलाई धोतीओस्ती नेती, त्राटक, कपालभाती नामक षट्कर्य बताए। नाडी सोधनबाट ब्रह्मचर्य र प्रणायामद्वारा शरीरभित्रको विद्यमान विन्दु, वायु र मन निग्रह हुन्छ। यसैद्वारा कुण्डलिनी षट्चक्रको भेदन गर्दै शिवसँग समरस हुन्छ भन्ने अनमोल रहस्य उजगार गरे।

गोरखनाथ त्यस्ता महासिद्धि प्राप्त शिवावतार महायोगी थिए जसमा अद्भुत प्राण विद्या र साधना थियो। उच्चकोटिको योगशक्ति, प्राणप्रतिष्ठा, शाबर मन्त्रको माध्यमबाट निर्जीववस्तुमा पनि जीवनको सञ्चार गर्ने क्षमता थियो। एकपटक गोरखनाथ साधनामा लिन थिए। त्यहीबेला केही बालकले उनको नजिक आएर माटोको आकृति बनाएर खेल्न थाले। बालकहरूले आग्रह गरेपछि उनले माटोको पुत्ला बनाए। मन्त्र उच्चारण गर्न थाले। उनको साधनाको प्रभावले उक्त पुत्ला जीवित मानवको रूपमा परिवर्तित भयो। यो कथा केवल चमत्कारको मात्र वर्णन बुझाउने नभएर जीवन मृत्युको गुँढ रहस्य बुझाउने प्रतीक थियो। उनका यस्ता धेरै चमत्कारका कथा छन् जुन यो छोटो लेखमा वर्णन गरेर सम्भव नै छैन।
गोरखनाथ, हठयोग र शाबर मन्त्र  :  नाथ परम्पराका महायोगी गोरखनाथ हठयोगका सर्वोच्च आचार्य मानिन्छन्। उनले शरीरलाई नै साधनाको मुख्री साधन माने। हठयोगलाई जनमानसमा पुर्‍याउने काम गरे। उनीद्वारा रचित हठयोगको प्रमुख ग्रन्थ हो– ‘हठयोगको प्रदिपीका।’ उनको रचनाअनुसार हठयोगको प्रमुख लक्ष्यमात्र समाधि सिद्ध गर्नु हो।

महायोगीका अनुसार यदि हठयोग गरेर साधक समाधिमा जाँदैन भने त्यो बेकार छ। हठयोगको प्रमुख उद्देश्य भनेको शरीरलाई अजर, अमर बनाउनु कुण्डली जागृत गरेर समाधि प्राप्त गर्नु हो। चित्तवृत्तिको प्रवाहलाई सांसारिकतातर्फ जानबाट रोकेर अन्तमर्नुखि बनाउनु हो।

हठयोगअन्तर्गत षट्कर्म अर्थात शुद्धीकरण, आसन अर्थात् शरीरका मुद्रा प्रणायाम अर्थात प्राण नियन्त्रण र ऊर्जा रोक्ने तरिका मुद्रा ग्रन्थ वध आदि पर्छन्। त्यस्तै गुरुद्वारा स्थानीय भाषामा रचित सरल र प्रभावशाली मन्त्र हो– शाबर मन्त्र। यसको उपयोग रक्षा र सिद्धिका निम्ति गरिन्छ। यस मन्त्रमा ‘ॐ गोरखजाति मछिन्न्द्रनाथका चेला, शिवके रूपमे देखे अलबेला...’ भनेर जप गरिन्छ। गोरखनाथको ‍हठयोग र शाबर लोकमा अत्यन्त प्रसिद्ध छ।

लोकजीवनमा गोरखनाथको प्रभाव  :  लोकजीवनमा गोरक्षानाथको अत्यन्त प्रभाव रहेको पाइन्छ। महायोगीजी लोकजीवनमा अत्यन्त, श्रद्धेय पूजनीय सिद्धको रूपमा चिनिन्छन्। लोकमा उनी योगीको रूपमा मात्र नभएर शिवावतारको रूपमा उपासित छन्। उनले आफ्ना आध्यात्मिक चिन्तन, योग आदिलाई जटिल नबनाएर सर्वसाधारणको पहुँचमा पुर्‍याए। के धनी के गरिब सबै वर्गमा साधना, ध्यानलाई सर्वसुलभ बनाए। नेपाली, भोजपुरी, मैथली, अवधीलगायतका भाषामा उनको किस्सा भजन बहुतै लोकप्रिय छ। नेपाली लोकगायनका हस्ती झलकमान गन्धर्वको यो गीत आज पनि जनजिब्रोमा झुन्डिएको छ– ‘गोरखा गोरखनाथ, सत्य देवी कालिका।’

त्यस्तै, राष्ट्रिय एकीकरणको बेलादेखीको ऊर्जावान गीत सुन्दा आज पनि लोक जुर्मुराउँछ। जसलाई विभिन्न कालखण्डमा विभिन्न गायकले स्वर भरेका छन्  : –
जय जय काली, जय जय गोरख
हाम्रा रगतले कोरिएका सीमा रेखा मेटेर मेटिन्न 
हाम्रा किल्लामा गाडिएका खाँबाहरू भाँचेर भाँचिन्न। 

एकीकरण बेलामा होस् वा नालापानीको युद्धमा होस्। यही गीत गाउँदै आत्मबलिदानको भावनाले अभिप्रेरित भएर लोकले बैरीका किल्लामा धावा बोलेका थिए। लोककथा, शाबर मन्त्र आदिमा उनी एक अध्यात्मिक हस्तीमात्र नभएर जनजीवनका संरक्षकका रूपमा पूजनीय छन्। राजा भातृहरि, गोपीचन्दलगायतका लोकगाथामा उनलाई त्यस्तो सिद्ध योगीको रूपमा प्रस्तुत गरिएको छ, जो कालदेखि पर छन्। राजाहरूलाई वैराग्यको दीक्षा दिन्छन्।

लोकमान्यताअनुसार नेपालमा भयंकर खडेरी र अनिकाल परेको थियो। त्यस्तो मुस्किलको घडीमा उनले दुष्ट नागलाई वशमा लिएर पानी पारेका थिए। जसरी भगवान् कृष्णले गोबद्र्धन पर्वत उठाएर गौवंशको रक्षा गरेर गौपालकमा बन्दनीय भएका थिए। त्यसरी नै गोरखनाथ पनि गौपालकमाझ बन्दनीय छन्– गोरखनाथ अर्थात् गोरक्षानाथ। गोरक्षानाथ गो र रक्षा शब्द मिलेर बनेको छ। गोको अर्थ गाई हो। त्यसैले गोरक्षानाथ गौपालक गौमाताको रक्षक हुन् भन्ने विश्वास व्याप्त छ।

गोरखनाथ साहित्य  :  तत्कालीन नाथ सम्प्रदायका मानिसले आफ्नो मान्यतालाई प्रचार गर्न जुन साहित्य प्रचार गरे, त्यो नै नाथ साहित्य हो। यश साहित्यको प्रवर्तकको रूपमा गोरखनाथलाई मानिन्छ। आदिकालीन निर्गुण भक्तिधाराको साहित्यमा महायोगी गोरखनाथको अत्यधिक प्रभाव रहेको पाइन्छ। उनको नीतिपरक उपदेश तथा समाज दर्शन सर्वसाधारणदेखि योगी आदि सबैका निम्ति प्रेरक र अनुकरणीय छन्। उनका ‘गोरक्षा– शतक’, ‘गोरखवाणी’, ‘गोरक्षा–कल्प’, ‘विवेक–मार्तण्ड’, ‘ज्ञानप्रकाश शतक’, ‘आत्मबोध’ आदि कृति चर्चित छन्। उनको चर्चित कृति गोरखवाणीमा मान्छेका दैनिक जीवनका आचारसंहिता प्रस्तुत गरिएका छन्। योगीका निम्ति नैतिकपरक उपदेशहरू प्रस्तुत गरिएका छन्। उनको प्राय :  साहित्यमा इन्द्रियको संयमतामा जोड दिइएको छ। सांसारिक भोगबिलास त्याग्दै निवृत्तिमार्गको अनुसरणको शिक्षा दिइएको छ।

नेपालको ऐतिहासिक, सांस्कृतिक धरोहर गोरखनाथ  :  वैदिक सनातन धर्मअनुसार जगतगुरु गोरखनाथको नेपालको हिमालय पर्वतमा प्रकट भएको थियो भन्ने विश्वास छ। यहाँ गोरखनाथ मूलगुरु, कुलगुरु र राष्ट्रगुरुको रूपमा पूजनीय छन्। उनको आशीर्वादको कारणले यो राष्ट्र स्वाधीन र अक्षुष्ण रहेको मान्यता छ। आज गोर्खाली भनेर विश्वभरि चिनाउने गोरखाको नामकरण उनकै नामबाट भएको थियो। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एकीकरण गर्नलाई महायोगीजीबाट आशीर्वाद लिएका थिए। उनकै परम शक्तिका प्रतापले शाहले टुक्राटुक्रा राज्यलाई जोडेर विशाल नेपाल निर्माण गरेका थिए।

शाहवंशीय राजाहरूका आरध्यदेव हुन्– गोरखनाथ। उनकै अनुकम्पाले नै शाहवंशीय राजतन्त्रको गौरवशाली परम्परा सुरु भएको थियो। राजा द्रव्य शाहलाई गोरक्षाधीश भनेर सम्बोधन त्यसै भएको होइन, गोरखनाथकै कृपाले भएको हो। नेपालका मुद्रामा गोरखनाथको नाम तथा पादुका अंकित भएको पाइन्छ। राज्यस्तरबाट गोरखनाथका लागि दिएको उच्च सम्मान यसैबाट झल्किन्छ। नेपालको इतिहासमा गोरखनाथको कति सम्मान थियो भन्ने कुरा पुराना शाह वंशीय राजाका तामा र चाँदीका सिक्कामा श्री श्री गोरखनाथ र श्री श्री भवानी लेखिएकोबाट स्पष्ट हुन्छ। गोरखा दरबारको ठीक तल गोरखनाथ गुफा छ, जहाँ गुरु गोरखनाथले साधना गरेर सिद्धि प्राप्त गरेका थिए।

उक्त गुफा गोरख गुफाको रूपमा विश्वभरि चर्चित छ। गोरखगुफा, गोरखकाली मन्दिर, गोरखा दरबारले प्राचीन वास्तुकलाको इतिहासलाई उजगार गर्छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन नेपाल र भारतमा विशेष पूजा, भजन, ‘आदेश आदेश’को उद्घोष गर्दै महायोगी गोरखनाथ प्राकट्य उत्सव मनाइन्छ। यो दिन नेपालको गोरखनाथ मन्दिरमा विशेष प्रकारको रोटी अर्थात् रोट अर्पण गरिन्छ। गोरखनाथ प्राकट्य उत्सव अध्यात्मिक ऊर्जा र अनुशासनको प्रतीक हो। आफ्नो गौरवशाली संस्कृति, इतिहास र 
परम्परा स्मरण गर्ने दिन हो। 
ॐ शिव गुरु गोरख नाथाय नम : ।
ॐ चैतन्य गुरु गोरखनाथाय नम : ।। 

निष्कर्ष  :  महायोगी गुरु गोरखनाथ केवल एक ऐतिहासिक व्यक्तित्व वा योगीमात्र नभएर नेपाली पहिचान, सौर्य र आध्यात्मिकताका सर्वोच्च स्तम्भ हुन्। उनले हठयोग र शाबर मन्त्रका माध्यमबाट धर्मलाई सर्वसाधारणको पहुँचमा ल्याई समाजमा ठूलो रूपान्तरण गरे। नेपालको एकीकरण, गोर्खाली वीरता र शाहवंशीय इतिहासमा उनको भूमिका निर्णायक रहेको छ। गोरखनाथको महिमाले हाम्रो राष्ट्रिय अखण्डता र सांस्कृतिक गौरवलाई सदैव मार्गनिर्देश गरिरहेको छ। तसर्थ, उनको शिक्षा, साहित्य र योगमार्गलाई आत्मसात् गर्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जलि हो। गुरु गोरखनाथको यो पावन परम्पराले विश्वलाई शान्ति र अनुशासनको मार्ग देखाइरहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.