दलितको दस्तावेज

समीक्षा

दलितको दस्तावेज
सुन्नुहोस्

कृति केवल कलाको विवरणमात्र होइन, बरु सामाजिक न्याय र आत्मसम्मानको पक्षमा गरिएको एउटा वैचारिक हस्तक्षेप हो।

‘मानव समृद्धिका लागि रैथानीय ज्ञान’ नेपाली समाजको जटिल संरचनामाथि केन्द्रित एक महत्त्वपूर्ण कृति हो। यस पुस्तकको एउटा खण्ड ‘दलित (शिल्पी)हरूको गौरवशाली कला र कलाकृतिहरू  :  सामाजिक–सांस्कृतिक बन्धनभित्र’ले ऐतिहासिक असमानता र सिर्जनात्मक श्रमको अवमूल्यनलाई सूक्ष्म ढंगले केलाएको छ। यो कृति शिल्पी समुदायका कला र सीपको दस्तावेजमात्र नभई, जातीय विभेदले सिर्जना गरेको संरचनागत अन्यायको आलोचनात्मक विश्लेषण पनि हो।

विषयवस्तु र मूल तर्क  :  पुस्तकको केन्द्रीय तर्क स्पष्ट छ– नेपाली सभ्यता र संस्कृतिको विकासमा दलित (शिल्पी) समुदायको योगदान आधारभूत र अपरिहार्य छ। डा. गोविन्द सार्की नेपालीद्वारा लिखित र इन्दिरा घले सह–लेखक रहेको पुस्तकमा उनीहरूले विकास गरेका कला र ज्ञान प्रणालीले समाजलाई जीवन्त बनाएका छन्।

तर, विडम्बना ! यिनै योगदानकर्ताहरू सामाजिक रूपमा सधैं उपेक्षित र दमनमा परेका छन्। लेखकका अनुसार शिल्पीहरू केवल ‘काम गर्ने वर्ग’ मात्र होइनन्; बरु उनीहरू ज्ञानका स्रष्टा, प्रविधिका आविष्कारक र अर्थतन्त्रका बलिया आधारस्तम्भ हुन्। समाजले उनीहरूको श्रम र उत्पादनको उपयोग गरे पनि उत्पादकलाई भने सामाजिक रूपमा बहिष्कृत गर्नु गहिरो विरोधाभास हो।

ऐतिहासिक सन्दर्भ  :  पुस्तकले शिल्पी समुदायको ऐतिहासिक पृष्ठभूमिलाई गहिरो गरी केलाएको छ। प्राचीन कालदेखि नै धातु, काष्ठ, वस्त्र, संगीत र हतियार निर्माणमा उनीहरूको उल्लेखनीय भूमिका छ। मल्लकालीन दरबार, मन्दिर र मूर्तिका बुट्टाहरूमा शिल्पीकै पसिना र सीप झल्किन्छ। तर, हिन्दु वर्णव्यवस्थाले उनीहरूलाई ‘अछुत’को श्रेणीमा राखेर सामाजिक र कानुनी रूपमै कमजोर बनायो। समाजले सीपको उपयोग गर्ने तर शिल्पीलाई सम्मान र अधिकारबाट वञ्चित गर्ने ऐतिहासिक द्वन्द्व नै यस पुस्तकको मुख्य विश्लेषण हो।

कला र सीपको महत्त्व  :  शिल्पी समुदायका विविध कला र सीपहरूको यसमा विस्तृत वर्णन छ। धातुका भाँडा, कृषि औजार, काष्ठकला, लोक वाद्ययन्त्र (सारंगी, मादल, ढोलक), जुत्ता र कपडा बुन्ने सीपहरू उनीहरूको सिर्जनशीलताका प्रमाण हुन्। यी वस्तुहरू केवल उपयोगका सामग्री मात्र नभएर सांस्कृतिक पहिचानका प्रतीक पनि हुन्। लेखकले यिनलाई ‘गौरवशाली कला’का रूपमा व्याख्या गर्दै प्रत्येक सिर्जनामा इतिहास, परम्परा र सामुदायिक अनुभव गाँसिएको तथ्य प्रस्तुत गरेका छन्।
रैथानीय ज्ञानको अवधारणा  :  पुस्तकको अर्को सशक्त पक्ष ‘रैथानीय ज्ञान’को अवधारणा हो। आधुनिक विकासले पश्चिमी प्रविधिलाई महत्त्व दिँदा स्थानीय र रैथानीय ज्ञान उपेक्षामा परेको लेखकको तर्क छ। धातु पगाल्ने, काठको बुट्टा भर्ने र वाद्ययन्त्र बनाउने पुस्तैनी सीप दिगो विकासका लागि अत्यन्त उपयोगी हुन्छन्। यस्ता ज्ञानको संरक्षण र प्रवद्र्धनले आर्थिक विकास मात्र होइन, सांस्कृतिक पहिचानको 
रक्षामा पनि ठूलो टेवा पुर्‍याउँछ।

सामाजिक विभेदको आलोचना  :  लेखकले जातीय विभेदलाई केवल सामाजिक समस्यामात्र नभई आर्थिक र राजनीतिक समस्याका रूपमा चित्रण गरेका छन्। उच्च वर्गले शिल्पीको श्रम प्रयोग गर्ने तर श्रमिकलाई तिरस्कार गर्ने प्रवृत्तिले सामाजिक अन्यायलाई जीवितै राखेको छ। यस्तो विभेदले शिल्पीहरूको आत्मसम्मानमा चोट पुर्‍याउनुका साथै उनीहरूको सिर्जनशीलता र उत्पादन क्षमतामा 
समेत अवरोध सिर्जना गरेको छ।

आधुनिकता र चुनौती  :  औद्योगिकीकरण र बजार अर्थतन्त्रले परम्परागत सीपलाई संकटमा पारेको छ। मेसिनबाट बनेका सस्ता सामानले हस्तकलालाई विस्थापित गर्दा शिल्पीहरूको जीविकोपार्जन चुनौतीपूर्ण बनेको छ। युवा पुस्ता आफ्नो परम्परागत पेसाबाट टाढिँदै जानुले सांस्कृतिक सम्पदा हराउने जोखिम बढेको छ। ‘शिल्पीको सीप हराए हाम्रो पहिचान के रहन्छ ?’ भन्ने गम्भीर प्रश्न लेखकले उठाएका छन्।

नीतिगत सुझाव र समाधान  :  पुस्तकले समस्यामात्र नदेखाएर व्यावहारिक समाधान पनि प्रस्तुत गरेको छ। शिल्पी समुदायका सीपलाई औपचारिक शिक्षा प्रणालीमा जोड्नुपर्ने, हस्तकला उद्योगलाई प्रवद्र्धन गर्ने, बजारको  पहुँच विस्तार गर्ने र विभेद अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्ने जस्ता सुझावहरू यसमा छन्। यी उपायहरू शिल्पी समुदायको समग्र उत्थानका लागि दीर्घकालीन मार्गचित्र बन्न सक्छन्।

भाषा, प्रस्तुति र शैली  :  पुस्तकको भाषा सरल, स्पष्ट र प्रभावशाली छ। अनुसन्धानमूलक तथ्य र उदाहरणहरूले पुस्तकलाई विश्वसनीय बनाएको छ। फोटो तथा दृश्य सामग्रीको प्रयोगले विषयवस्तुलाई झनै आकर्षक बनाएको छ। पुस्तकको आवरणमा सारंगी बजाइरहेका वृद्ध शिल्पीको तस्बिरले ‘संघर्षभित्रको सिर्जनशीलता’लाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

निष्कर्ष  :  यो कृति केवल कलाको विवरणमात्र होइन, बरु सामाजिक न्याय र आत्मसम्मानको पक्षमा गरिएको एउटा वैचारिक हस्तक्षेप हो। सार्की र घलेको यो प्रयासले शिल्पी समुदायको आवाजलाई मूलधारमा ल्याउन मद्दत गर्छ। यो पुस्तक इतिहासको पुनर्लेखन गर्ने र समाजलाई समावेशी दिशातर्फ लैजाने एउटा आन्दोलन हो। नेपाली समाजको समावेशी विकास र सामाजिक न्यायमा चासो राख्ने जोकोहीका लागि यो कृति अनिवार्य पठनीय छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.