असिनाले हिउँदे बाली र फलफूलमा ठूलो क्षति

असिनाले हिउँदे बाली र फलफूलमा ठूलो क्षति
सुन्नुहोस्

मुगु  : मुगुम कार्मारोङ गाउँपालिका–९ अन्तर्गत पाँपु गाउँमा शनिबार परेको भीषण असिनापानीले पाकेर घर भित्र्याउने तयारीमा रहेका हिउँदे बाली तथा फलफूलमा ठूलो क्षति पुर्‍याएको छ। असिनाले जौ, गहुँ, उवा लगायतका हिउँदे बालीसँगै कोदो, भुवा धान, चिनो र विभिन्न फलफूल क्षति गर्दा स्थानीय कृषक चिन्तित बनेका छन्।

स्थानीयका अनुसार शनिबार दिउँसो ४ बजेर ४० मिनेटदेखि करिब आधा घण्टासम्म लगातार परेको असिनापानीले खेतबारीमा लगाइएका अधिकांश बाली नष्ट गरेको हो। एक साताभित्र भित्र्याउने तयारीमा रहेका जौ, गहुँ र उवा सबैभन्दा बढी क्षति भएको छ।

स्थानीय भान बुढाले भने, ‘यति ठूलो असिनापानी यसअघि कहिल्यै परेको थिएन। पाकेर घर भित्र्याउन लागेको बाली र फलफूलमा सबैभन्दा बढी क्षति पुगेको छ। भर्खरै रोपिएका कोदो, भुवा धान र चिनो बाली पनि असिनाले सखाप बनाएको छ।’ उनका अनुसार असिनाले लेक क्षेत्रमा राखिएका पशुचौपायामा समेत क्षति पुगेको आशंका गरिएको छ। तर, घटनास्थलमा सञ्चार सम्पर्क हुन नसक्दा त्यसबारे विस्तृत जानकारी आउन सकेको छैन।

असिनापानीले सोही वडाको चिमाथ र छायल गाउँको कोटासे क्षेत्रमा समेत हिउँदे तथा वर्षे बाली र फलफूलमा ठूलो क्षति पुर्‍याएको स्थानीयहरूले बताएका छन्। मुगुम कार्मारोङ गाउँपालिका–९ अन्तर्गत पाँपु, चिमाथ र छायल गाउँलाई गाउँपालिकामै फलफूल तथा अन्नबाली उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ। यही समयमा परेको असिनापानीले कृषकको वर्षभरिको मेहनत नष्ट भएपछि स्थानीयमा खाद्य संकट र भोकमरीको चिन्ता बढेको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका नायब उपरीक्षक रविराज थपलियाले छायलस्थित प्रहरी चौकीसँग सम्पर्क हुन नसक्दा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको बताए। उनका अनुसार प्रहरी टोली घटनास्थलतर्फ गएको र स्थलगत विवरण संकलनपछि थप जानकारी सार्वजनिक गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.