यस्तो बनोस् बालेनको लेन

यस्तो बनोस् बालेनको लेन

वर्तमान प्रधानमन्त्री बालेन शाह राजनीतिक कालखण्डको पछिल्लो अध्यायमा बनेको सबैभन्दा शक्तिशाली सरकार प्रमुख हुन् । संसद्मा उनलाई सरकार प्रमुख बनाउने पार्टीको सिट र उनको मन्त्रिमण्डलका सदस्यको उमेर पनि पृथक् अभ्यासको मानक नै हो । उनको शपथग्रहण समारोहको झलकमा पनि बेग्लै र केही नयाँ सूचित गरिरहेको भान हुन्थ्यो नै । विगतमा सत्तासीन पार्टी र नेताहरूले पनि स्वप्नदर्शी घोषणाहरू त गरे तर अपेक्षित तथा तात्विक परिर्वतन कहिल्यै सम्भव बनेनन् ।

राजनीतिक अकर्मण्यता र सत्तादोहनमा अनियन्त्रित उन्मादका नयाँ तथा घातक ‘भेरियन्ट’हरू मात्र देखिए । बलिया अन्तरविरोध, स्पष्ट असफलता तथा उच्च नागरिक निराशा उत्सर्जनमा चाहिँ घनिभुत सफल भए । गएको निर्वाचनले ती सबैको असम्मानपूर्ण बहिर्गमन तथा लज्जास्पद अवतरण गराइदिएको छ । सत्ता परिवर्तनका अनेकन तिकडमबाजीबाट पनि बालेन चिन्तित रहनु पर्दैन । नयाँ संविधान र गणतन्त्र स्थापनापछि सुनौलो भविष्यको सुरुआत हुन्छ भनेर दिएका आश्वासन लामो समयसम्म केवल पुराना सिनेमाका डाइलगजस्तै भएका थिए ।

अमेरिकामा सन् १७८७, फ्रान्समा १७९१, अर्जेन्टिनामा १८५२, अस्ट्रियामा १९२०, बेल्जियममा १८३१, क्यानडामा १८६७, डेनमार्कमा १८४९ मा संविधान बनेपछि आएको जस्तो सकारात्मक परिवर्तन हामीकहाँ देखिएन । नागरिकहरू देशको र आफ्नो भविष्यप्रति सकारात्मक कम अनि नकारात्मक बढी बन्नु परिरह्यो । सरकारहरू पूर्ण असफल र अकर्मण्यता उन्मुख भएर सकिए । तर पछिल्लो निर्वाचनबाट यी यावत् व्यवधानको सामुल निर्मूलीकरण भएको छ । नयाँ, ऊर्जावान्, जोशिला तथा काबिल व्यक्तिहरू सत्तामा छन् । अब चाहिँ नागरिकको अपेक्षा तथा विश्वास सार्थक हुने अनि सरकारमात्र हैन, संस्कार पनि फेरिने आशा बौरिएको छ ।

समुन्नत राष्ट्र निर्माणमा समर्पण भन्दै २००७, २०१७, २०३६, २०४६ र २०६२÷०६३ सालमा विभिन्न राजनीतिक परिवर्तन÷क्रान्तिहरू भए । यद्यपि देशमा शासक र शासितबीचको खाडल जस्ताको तस्तै रह्यो । समुन्नत राष्ट्र निर्माणको सपना पूरा भएन । राष्ट्रनिर्माणका सवालमा सरकारका दुई कार्य हुन्छन्– एउटा सामान्य नियमित कार्य र दोस्रो अपेक्षित कार्य । हाम्रा सरकारहरूले अपेक्षित कार्य गर्न सकेनन्, खाली नियमित कार्यमा नै अल्झिरहे । देशको प्रशासन चलेको आभास गराउनु, कार्यकारी संस्थाको रूपमा हुनुपर्ने औपचारिक कार्यहरू सञ्चालन गर्नु नियमित कार्य हुन् । चुनाव हुनु, सरकार गठन÷विघटन हुनु अनि राजनीतिक सघनता देखिने धर्ना, जुलुस, आन्दोलन, नाराबाजी तथा भाषणहरू हुनु यसका पक्ष हुन् । विगतमा जति सरकार बने पनि संस्कार चाहिँ फेरिएन । हाकिम फेरिए हुकुम र हैकम फेरिएन । शासक फेरिए शासन फेरिएन । साहु फेरिए शैली फेरिएन, व्याधा फेरिए तीर फेरिएन, पात्र फेरिए पद्घति फेरिएन, अचानो फेरियो यद्यपि चोट फेरिएन । विगतका सबै सरकारहरू यही चुकेका थिए, एउटाको विकल्पमा आफूलाई प्रस्तुत गरेका अरूहरू पनि पटक—पटक परीक्षण अनि असफल भएकै पात्रहरू मात्रै हुन्थे । उनीहरूले पनि संस्कार फेर्न सकेका थिएनन् र सक्ने ल्याकत राख्दैनथिए । 

सरकारको दोस्रो तर प्रमुख पक्ष अपेक्षित कार्य सम्पादन हो । सम्पूर्ण नागरिकको इच्छा उनीहरूको जीवनसँग सम्बन्धित हुन्छ । आर्थिक विकास, रोजगारी सिर्जना, आवश्यक सुविधा र विकासका पूर्वाधारहरूको दु्रततर अनि सर्वत्र विकास, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सञ्चारजस्ता भौतिक आधारलाई जनताको पहुँच सहज हुनेगरी सुनिश्चितताजस्ता कुराले जनताले सरकारप्रति प्रकट गर्ने सदभाव प्रवद्र्धन गर्छ । सांस्कृतिक र सामाजिक समन्वयलाई अझ मजबुत गर्नु अनि सम्पूर्ण जाति र प्रजातिको समतामूलक समानतामा जोड दिनु सरकारको अर्को पक्ष हो ।

आर्थिक विकास र गुणस्तरीय जीवनका सूचकांकमा समूल सकारात्मक परिवर्तन आवश्यक हुन्छ । लेखक नोम चोम्स्कीकोे पुस्तक ‘फेल्ड स्टेट’ले पनि यही तर्क दिन्छ । पछिल्लो पटक तीव्र विकासलाई पछ्याएका विशेषतः एसियाली अधिकांश देशका सरकारहरूमा अपेक्षित कार्य सम्पादन कौशल उल्लेख्य देखिन्छ । केवल, नाम, व्यक्ति अनि सरकार फेर्दैमा र शब्दका फजुल खर्च गर्दैमा राष्ट्रको नयाँ स्वरूप बन्दैन । प्रसिद्ध पुस्तक ‘डेमोक्रेसी ः द गड द्याट फेल्ड’का लेखक ह्यान ह्यामर हिप्स रोजगारी निर्माण, गरिबी निराकरण, पूर्वाधार विकास र नागरिकको सामाजिक सुरक्षा बढोत्तरीमा असफल भएकै कारण थुप्रै देशमा प्रजातान्त्रिक सरकार असफल भएका उदाहरण दिन्छन् । हाम्रो समस्यासमेत यही नै थियो ।

  • सरकार फेर्दैमा देश किमार्थ बनिहाल्दैन। परिवर्तन चाहनेले नागरिकप्रति पूर्ण सर्मपित राजनीतिक संस्कार निर्माण गर्नुपर्छ। सुस्पष्ट कार्ययोजनासाथ काम गर्नुपर्छ।
  • अब चाहिँ साँच्चै देश र जनताका लागि काम हुन्छ भन्ने आशा बढ्दैछ। यो सरकारबाट चाहिँ यस्तो आभास होस् कि सत्ताामा हाकिममात्र हैन, हैकम पनि फेरिएछ।

परिवर्तनहरूले शासक बनाउने वा शासक बनेकाहरूको लागिमात्र अपेक्षित कार्यसम्पादन गरे । पुराना वा नयाँ रूपमा जन्मिएका शासकहरू तथा परिवार अनि आसेपासेको जीवन र जगत् परिवर्तन भयो । तर दुनियाँ संलग्न शासित वर्गमा सरकारकोे तर्फबाट गरिनुपर्ने अपेक्षित कार्य भने पूरा भएनन् । निमुखा र सामान्य नागरिकको नजरमा सरकार कहिले नियमित कार्यसम्पादनभन्दा माथि उठेन । जनताको दिनचर्या र जीवनस्तरसँग सम्बन्धित अपेक्षित कार्य गर्न सकेन । नागरिकहरू अझ कमजोर, असुरक्षित र त्रसित बन्दै रहनु परेको छ । चीनले पछिल्लो दशक हजारौं मिलियन मानिसलाई गरिबीको रेखाबाट माथि उचालेको तथ्यांक विश्वव्यापी बनिसकेको छ । कतार, कुवेत, दुबईजस्ता देशहरूको विकासलाई मानव निर्मित स्वर्गको संज्ञा दिइन्छ ।

कारण, त्यहाँ जो/जहिलेसुकै सत्तामा आए पनि देशको विकास एउटैमात्र पहिलो मन्त्र बनाएको देखिन्छ । तर हाम्रो राजनीति चाहिँ पदको लफडाबाजीमा मात्र प्रयोग भइरह्यो । हिजोसम्म सत्तामा आएका कोहीसँग देशहित र नागरिक भलाइमा यसरी काम गर्नेछु भन्ने योजना थिएन । अबको ५, १० वा १५ वर्षमा देशको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक परिवर्तन कुन गति र आयतनमा हुन्छ भन्ने आकलन भएन । उनीहरूको वादसँग के योजना थिए– जसले ‘किसानको आय प्रतिव्यक्ति ५० हजार डलर होस्  ? व्यापार नाफा होस्, साक्षरता सय होस्, औसत आयु ८० बनोस्, कर्मचारी नागरिकका सहयोगी बनून् । शिक्षा स्वास्थ्य सुलभ, सहज र गुणस्तरीय हुन् । रोजगारी तथा विकास निर्माणले गति लिओस् । नयाँ उद्योग खुलून्, सबैमा देशपे्रम जागोस् । नेपाल न्यून भ्रष्टाचार हुने ५ वा १० प्रथममा पर्न सकोस् ।’

न त यस्तो सोच थियो न त शक्ति । योजना, क्षमता र इच्छाशक्ति केही थिएन । प्रशस्त आर्थिक विकाससँगै अपेक्षित काम गर्न सके नागरिकमा सरकारप्रति स्वतः सम्मान र आदर निर्माण हुन्छ । राजनीतिक र प्रशासनिक गतिविधिहरूले मात्र सरकारको सफलता र देशको प्रगति सम्भव रहँदैन । देश र नागरिकप्रति उत्तरदायी हुने सरकारहरूले सरभाइभल फङ्सनबाट माथि उठी उल्लेखनीय गतिमा ‘एक्सपेक्टेड फङ्सन’ गर्नुपर्छ । नेतृत्वसँगै नियत, व्यवस्थासँगै अवस्था अनि सत्तासँगै सोच बदलिएमात्र सरकार परिवर्तनको सार्थकता रहन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, पुँजी पलायन वा प्रवद्र्धन, सामाजिक सुरक्षा, आन्तरिक सामाजिक मानव सदभाव, सहायता, शान्ति सुरक्षा अनि अमनचयन, सडक, सञ्चार, विद्युत् र विकासजस्ता आवश्यक पक्षहरूमा सघन सकारात्मक सुधार ल्याउनुपर्छ । भोकमारी, महामारी, बेथिति, सामाजिक अपराध, मानवीय विचलनतालाई पूर्ण उन्मूलन गर्नुपर्छ । तत्कालीन आवश्यकता र दीर्घकालीन विकासका छुट्टाछुट्टै आयोजनाहरू रफ्तारमा सञ्चालन हुनुपर्छ । भाषणमा हैन, व्यवहारमा नै देशलाई सिंगापुर र स्विट्जरल्यान्ड बनाउने ल्याकत देखाउनुपर्छ ।

सरकार फेर्दैमा देश किमार्थ बनिहाल्दैन । परिवर्तन चाहनेले नागरिकप्रति पूर्ण समर्पित राजनीतिक संस्कार निर्माण गर्नुपर्छ । सत्ताको हाकिममात्र होइन, हुकुमसमेत फेर्नुपर्छ । सरोकारवाला र विज्ञसमेतको घनिभुत छलफलबाट योजना बनाएर देशको आर्थिक, सामाजिक÷नैतिक, मनोवैज्ञानिक तथा भौतिक विकासमा विशाल फड्को मानुपर्छ । सुस्पष्ट कार्ययोजनासाथ काम गर्नुपर्छ । अब सरकार होइन, संस्कार अनि पात्रसँगै पद्घति फेर्ने सोच र ल्याकत राख्नुपर्छ । सरकारबाट प्रस्तुत सुशासनको सुरुआती १०० बुँदे कार्यसूचीले यसको राम्रै झलक दिन्छ । बृहत् योजना तथा दृष्टिकोणहरू बन्दै होलान् ।

राज्यका विभिन्न निकायलाई नेतृत्व दिने पदाधिकारीहरूमा नवीन र क्षमतावान् व्यक्तिहरूलाई प्रविष्ठ गराउने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले महत्त्वपूर्ण नियुक्तिमा अपनाउन खोजिएको छ । यस्तो प्रतिस्पर्धात्मक अभ्यासले सुनौलो भविष्य चियाउन सहयोग पुग्दैछ । अब चाहिँ साँच्चै देश र जनताका लागि काम हुन्छ भन्ने आशा बढ्दैछ । यो सरकारबाट चाहिँ यस्तो आभास होस् कि सत्तामा हाकिममात्र हैन, हैकम पनि फेरिएछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.