एसईईको नतिजाप्रति असन्तुष्टि
६ विद्यालयले राखे उत्तरपुस्तिका पुनःपरीक्षण र परीक्षा केन्द्रमाथि कारबाहीको माग
गोरखा : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै गोरखाका ६ वटा विद्यालयले उत्तरपुस्तिका पुन:परीक्षण गर्न र परीक्षा केन्द्रलाई कारबाही गर्न माग गरेका छन्। सदरमुकामस्थित शक्ति मावि परीक्षा केन्द्रमा परीक्षा दिएका ६ विद्यालयले परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणमा चरम लापरबाही गरेको भन्दै पुन:परीक्षणको माग गरेका हुन्।
गोरखा नगरपालिका वडा नं ९ लक्ष्मीबजारस्थित महालक्ष्मी मावि, गोनपा–१० को रत्नराज्य मावि, पालुङटार नगरपालिका–९ को त्रिवेणी मावि, आरुघाट गाउँपालिका–२ मान्बुस्थित भवानी मावि, भिमसेनथापा गाउँपालिका–६ अश्राङको नवजागृती चण्डी मावि तथा गण्डकी गाउँपालिका–६ घ्याल्चोकको ज्ञानमार्ग माविले संयुक्त विज्ञप्ति जारी गर्दै एसईई उत्तरपुस्तिकाको पुन:परीक्षण हुनुपर्ने माग गरेका हुन्।
उनीहरूले विज्ञप्तिमार्फत शक्ति मावि परीक्षा केन्द्रमा परीक्षा भई उत्तरपुस्तिका परीक्षण भएका गणित, विज्ञान र भूगोल विषयको उत्तरपुस्तिकामा लापार्बाही भएको भन्दै पुन:परीक्षण गर्न माग गरेका हुन्। शक्ति मावि परीक्षा केन्द्रले दमनात्मक र वैरभावपूर्ण लक्ष्यका साथ परीक्षा सञ्चालन र गैरविषयात्मक शिक्षकबाट उत्तरपुस्तिका परीक्षण गरेको विद्यालयहरूको आरोप छ। जसले गर्दा पालिका र जिल्लामा नै उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूको नतिजा अति निराशाजनक देखिएको उनीहरूको गुनासो छ। विद्यालयहरूले शक्ति मावि परीक्षा केन्द्रलाई आवश्यक कारबाही गर्न समेत माग गरेका छन्।
‘शक्ति माविले विद्यालयका साविक उमावि भौतिक विज्ञान शिक्षक जो कक्षा १० को गणित विषयमा नियमित पठनपाठनमा संलग्न नभएको तिलक केसीलाई गणित विषयको उत्तरपुस्तिकाको जिम्मा दिई पूर्वाग्रही रुपले उत्तरपुस्तिका परीक्षणमा लापरबाही गरेको’, विद्यालयहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यसैगरी, विज्ञान विषयको उत्तरपुस्तिका पनि पूर्वाग्रही रुपमा परीक्षण गरेको तथा भूगोल विषयमा गैरविषयका शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न दिएको विद्यालयहरूको आरोप छ। यसबारे आवश्यक छानबिन गरेर कारबाही गर्न तथा आगामी वर्षहरूमा शक्ति मावि परीक्षा केन्द्रलाई रद्द गर्न विद्यालयहरूले माग गरेका छन्।
शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख विश्वप्रकाश रेग्मीले घटनाबारे आवश्यक छलफल तथा निर्णय राष्ट्रिय परीक्षा बोर्डले गर्ने बताए। ‘बोर्डले केही उत्तरपुस्तिकाको नमुना हेरेर निर्णय गर्ने हो। यस घटनामा विद्यालयहरूको एसईई नतिजा पुनर्योग गर्छ यदि विद्यालयहरूलाई त्यसमा पनि चित्त नबुझे पुन:परीक्षण हुनसक्छ’, उनले भने।
यता शक्ति मावि केन्द्रले भने परीक्षा व्यवस्थापन तथा अनुगमनका क्रममा सर्वत्र प्रशंसनीय बनेको आफ्नो विद्यालय र परीक्षा केन्द्रमाथि लगाइएका आरोप झुटो र पूर्वाग्रही रहेको बताएको छ। उक्त परीक्षा केन्द्रले निष्पक्ष एवं सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ। आफूहरू छानबिन प्रक्रियामा आवश्यक सहयोग गर्न ‘हरपल तत्पर’ रहेको सो विद्यालयले विज्ञप्ति जारी गरी उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस !