कुलुङ जातिको यो लोकविश्वास र मिथकले हामीलाई प्रकृतिसँग पुन : जोड्न सिकाउँछ। चरा–चुरुंगीहरू केवल आकाशमा उड्ने प्राणी मात्र होइनन्, तिनीहरू त हाम्रा पूर्वजका कथा बोकेका जीवित पात्रहरू हुन्।
नेपालको पूर्वी पहाडी भेग, विशेषगरी महाकुलुङ क्षेत्रको भूगोल जति सुन्दर छ, त्यहाँका आदिवासी किरात कुलुङ जातिको लोकजीवन र संस्कृति त्योभन्दा बढी वैभवशाली छ। प्रकृतिपूजक कुलुङ समुदायको हरेक क्रियाकलाप, संस्कार र भोगाइमा प्रकृति एउटा अभिन्न अंगका रूपमा जोडिएर आउँछ। यो समुदायको लोक विश्वास, मिथक, लोक कथा र लोकवार्ताहरूमा जीव–जन्तु, चरा–चुरुंगी, रुख–बिरुवा, ओढार, भीर–पहरा, खोला–नाला र हिमाल–पहाडको जीवन्त चित्रण पाइन्छ। मानौं, प्रकृति र मानिसबीच कुनै समय यस्तो साइनो थियो, जहाँ उनीहरू एउटै भाषा बोल्थे र एउटै संवेदना साट्थे।
प्रकृतिसँगको आदिम साइनो : कुलुङ जातिको सांस्कृतिक मुन्धुम र लोक कथाहरूमा चरा–चुरुंगीहरूको स्थान निकै उच्च र प्रतीकात्मक छ। विशेषगरी तीनवटा चरा— हङ्ग्रायो (लोस), धनेस (खेउ) र लाटोकोसेरो (पप्पउ)— को सम्बन्धमा यो जातिभित्र निकै रोचक र दार्शनिक मिथक प्रचलित छ। कुलुङ भाषामा हङ्ग्रायोलाई ‘लोस’ भनिन्छ, जसलाई अंग्रेजीमा ‘टुकान’ भनिन्छ। त्यस्तै, धनेसलाई ‘खेउ’ भनिन्छ, जुन अंग्रेजीमा ‘हर्नबिल’को नामले चिनिन्छ। अर्कोतर्फ, रातको राजा मानिने लाटोकोसेरोलाई कुलुङ भाषामा ‘पप्पउ’ भनिन्छ। यी तीन चराका माध्यमबाट कुलुङ समाजले जीवन, मृत्यु, पुनर्जन्म र अहंकारको व्याख्या गर्दै आएको छ।
लोस र खेउको टुहुरी बाल्यकाल : अनादिकालको कुरा हो, जब संसारमा सत्य युगको प्रभाव थियो। त्यसबेला ‘लोस’ (हङ्ग्रायोे) दिदी र ‘खेउ’ (धनेस) बहिनीका रूपमा चिनिन्थे। उनीहरूका एक जना सोल्टी (रेउ) थिए— लाटोकोसेरो अर्थात् ‘पप्पउ’। लोस र खेउ सानैमा टुहुरी भएका थिए। उनीहरूको सहारा भन्नु नै एक–अर्काको साथ र त्यो विशाल जंगलमात्र थियो। आमा–बाबुको ममताबाट वञ्चित यी दुई दिदी–बहिनीले जंगलका कन्दमूल र फलफूल खाएर आफ्नो ज्यान पाल्थे। दिदी लोसले सानै उमेरदेखि आमाको भूमिका निभाउँदै बहिनी खेउलाई असाध्यै माया र संरक्षण दिएर हुर्काएकी थिइन्।
जिद्दी स्वभाव र जीवनको मोड : दिदीको अत्यधिक माया र स्नेहका कारण बहिनी खेउको स्वभाव अलिक पुल्पुलिएको र चञ्चले थियो। ऊ स्वभावैले एकोहोरो, जिद्दी र हठी थिई। आफूले भनेको कुरा पुग्नैपर्ने र हरेक कुरामा जित्नैपर्ने उसको बानीले कहिलेकाहीँ अप्ठ्यारो परिस्थितिसमेत सिर्जना गथ्र्यो। समय बित्दै गयो र उनीहरू वयस्क भए। एक दिन उनीहरूले ६ महिनाका लागि छुट्टिएर टाढा–टाढा जाने सल्लाह गरे। दिदी लोसले लेकतिर र बहिनी खेउले बेंसीतिर (वा सन्दर्भअनुसार लेक र बेंसीको दूरीमा) छुट्टिएर आआफ्नो आहाराको जोहो गर्ने निधो भयो। तर, यो बिछोड सजिलो भने थिएन।
धसिङ्गारेको बिरुवा र वाचा–बन्धन : छुट्नुअघि उनीहरूले एउटा वाचा–बन्धन गरे। उनीहरूले आफू बसिरहेको ठाउँमा एक–एक बोट धसिङ्गारेको बिरुवा (कुलुङ भाषामा लिम्चासी) रोपे। उनीहरूले सहमति गरे— ‘६ महिनापछि हामीमध्ये जो पहिले फर्केर आउँछ, उसले यो बिरुवा हेर्नू। जसले रोपेको धसिङ्गारेको बिरुवा मुर्झाएको वा ओइलाएको हुन्छ, सम्झनु कि उसलाई केही अनिष्ट भएको छ वा उसको मृत्यु भएको छ।’ यो एउटा यस्तो भावनात्मक सुरक्षा कवच थियो, जसले उनीहरूलाई टाढा भए पनि एकअर्काको कुशलताको आभास दिलाउँथ्यो। तर, छुट्टिनुअघि को पहिले उड्ने भन्ने विषयमा उनीहरूबीच ठूलो विवाद भयो।
सत्य युगको बोली र श्राप : खेउको जिद्दी स्वभावका अगाडि दिदी लोसको केही लागेन। उनीहरू एक–अर्कालाई आँखाले देखुन्जेल हेर्न चाहन्थे। अन्तत : लोस पहिले उड्न तयार भइन्। उड्ने बेला दिदी लोसले बहिनीलाई मायालु पाराले अलिकति गाली गर्दै भनिन्, ‘अब म उडें, तँ चाहिँ यही मुन्टिई बस् !’ त्यो सत्य युग थियो, जहाँ मानिस वा प्राणीले जे बोले पनि त्यो सत्यमा परिणत हुन्थ्यो। दिदीले मायाले बोलेको त्यो वाक्य खेउका लागि कठोर श्राप बन्न पुग्यो। लोस उडेर टाढा पुगिन्, तर जब खेउले उड्ने प्रयास गरिन्, उनी हलचल गर्नै सकिनन्। उनी त्यहीँ मुन्टिएर बसिरहन विवश भइन्।
लाटोकोसेरोसँगको त्यो घातक ठट्टा : दिदीको श्रापका कारण उड्न नसकेपछि खेउ टोलाउँदै त्यहीँ वरपर डुल्न थालिन्। त्यहीँ नजिकै लाटोकोसेरो (खोतो पप्पउ) आफ्नो सुरमा ‘बुन्या’ (थुम्से जस्तो टोकरी) बुन्दै बसिरहेको थियो। चञ्चले स्वभावकी खेउलाई एक्कासि आफ्नो सोल्टी (रेउ) पर्ने लाटोकोसेरोलाई जिस्क्याउन मन लाग्यो। लाटोकोसेरोले सुरुमा त सह्यो, तर खेउले जिउमै छुने, कुतकुत्याउने र चिथोर्ने गर्न थालेपछि उसको धैर्यको बाँध टुट्यो। त्यतिमै नरोकिएर खेउले एउटा गम्भीर चोट पुर्याउने वाक्य बोलिन्, ‘रेउ, तिमी त मेरो पापा (बुबा) को तिहुन(तरकारी) त हौ नि, केको फूर्ति गर्छौ !’
अहंकारको अन्त्य र मृत्युको छाया : आफ्नो वंश र अस्तित्वमाथि नै चोट पुग्ने गरी बोलेपछि शान्त स्वभावको लाटोकोसेरो झनक्क रिसायो। रिसको झोंकमा उसले खेउको पखेटा मुनि (कोखामा) आफ्नो धारिलो ठुँडले बेस्सरी ठुँग्यो। त्यो ठुँगाइले सिधै खेउको मुटुमा चोट पुग्यो र उनको तत्कालै मृत्यु भयो। रिसले आँखा नदेख्ने भएको लाटोकोसेरोले मृत खेउलाई त्यहीँ खाइदियो। यसरी एउटा सानो अहंकार र जिद्दी स्वभावले गर्दा खेउको जीवनलीला समाप्त भयो। यता दिदी लोस भने आफ्नो ६ महिने यात्रा पूरा गरेर बहिनीलाई भेट्ने ठूलो धोको बोकेर फर्किँदै थिइन्।
मुर्झाएको बिरुवा र लोसको विलाप : जब लोस पहिलेकै ठाउँमा फर्किन्, उनले सुरुमा धसिङ्गारेको बिरुवा हेरिन्। बहिनी खेउले रोपेको बिरुवा मुर्झाएर सुकिसकेको थियो। त्यो देखेर लोसको मुटु काम्यो। उनले चारैतिर सुनिने गरी ‘ए नेछो खेवा’ (ओ नानी बहिनी) भन्दै चिच्याइन्, तर कतैबाट जवाफ आएन। केही पर लाटोकोसेरो सधैं झैं आफ्नो काममा मग्न देखिन्थ्यो। लोसले सोल्टीलाई सोधिन्, ‘ए रेउ, तिमीले मेरो बहिनी खेउलाई देख्यौ ?’ लाटोकोसेरोले सुरुमा त केही थाहा नपाए जस्तो अभिनय गर्यो, तर लोसको आँसु र अनुनयका अगाडि ऊ धेरै बेर टिक्न सकेन।
सत्यको स्वीकारोक्ति र हाडखोरको खोजी : लोसले भनिन्, ‘रेउ, मलाई थाहा छ खेउको बानी नराम्रो थियो, उसले तिमीलाई जिस्क्याई होला। यदि तिमीले रिसको झोंकमा उसलाई मार्यौ नै भने पनि म तिमीलाई केही गर्दिनँ। तर कम्तीमा दसी–प्रमाणका रूपमा उसको हाडखोर त देखाइदेऊ !” लोसको यो करुण पुकार सुनेपछि लाटोकोसेरोले सत्य ओकल्यो। उसले खेउलाई मारेर खाएको स्वीकार गर्दै उसको हाडखोर पुरिएको ठाउँ (गेम वा चिहान) तिर संकेत गरिदियो। लोस दौडिँदै त्यहाँ पुगिन् र जमिन खोतलेर बहिनीका बाँकी रहेका हाडका टुक्राहरू जम्मा गरिन्।
रिदुमको शक्ति र पुनर्जन्मको प्रक्रिया : बहिनीको हाडखोर फेला पारेपछि लोसले हार मानिनन्। उनले ती टुक्राहरूलाई काठको भाँडो (केवा वा फुरुम) मा राखिन्। त्यसपछि उनले आफ्नो सांस्कृतिक शक्ति ‘रिदुम’ (जसलाई अन्य किराँत समूहमा मुन्धुम, मुन्थुम वा मुकदुम भनिन्छ) को प्रयोग गर्न थालिन्। उनले ‘रिसिवा’ फलाक्दै, मन्त्रोच्चारण गर्दै र आफ्ना पुर्खाहरूलाई पुकार्दै बहिनीलाई पुनर्जीवन दिने अनुष्ठान गरिन्। यो प्रक्रिया निकै लामो र कष्टकर थियो, तर दिदीको प्रेम र सांस्कृतिक मन्त्रको शक्तिले अन्तत : चमत्कार भयो। चिहानबाट खेउ बिस्तारै जागृत हुन थालिन्।
चिहानको माटो र नयाँ स्वरूप : जब खेउ चिहानबाट बाहिर निस्किइन्, उनको स्वरूप पहिलेको जस्तो रहेन। चिहानबाट आउँदा उनले आफ्नो चुच्चो (ठुँड) को शिरमा चिहानको माटोको एउटा सानो अंश लिएर आएकी थिइन्। त्यही माटोको अंशपछि कडा भएर उनको शरीरको एउटा भाग बन्यो। कुलुङ मिथक अनुसार, धनेस (खेउ) को टाउकोमा जुन अतिरिक्त खप्टिएको भाग देखिन्छ, त्यो त्यही चिहानको माटोको प्रतीक हो। सत्य युगमा हङ्गायो र धनेस दुवैका चुच्चोहरू एकै प्रकारका हुन्थे, तर यो घटनापछि धनेसको रूप सदाका लागि परिवर्तन भयो।
सांस्कृतिक अध्ययन र पुस्तान्तरण : कुलुङ भाषा र संस्कृतिका अध्येता सीएम खम्बु (मोरोमूल)का अनुसार, यो कथाले कुलुङ समाजमा मृत्युपछिको संस्कार र जीवनप्रतिको दृष्टिकोणलाई प्रस्ट पार्छ। दिदीले ‘रिदुम’ गरेर बहिनीलाई जगाउनुले कुलुङ संस्कृतिमा मुन्धुमको महŒव र शक्तिलाई दर्शाउँछ। आज पनि धनेस चराले आफ्नो चुच्चोमाथि अर्को एउटा भाग बोकेर हिँड्नुलाई त्यही आदिम घटनाको साक्षीका रूपमा लिइन्छ। वैज्ञानिक रूपमा चराविद्हरूले यसलाई ‘कास्क’ भनेर व्याख्या गरे तापनि कुलुङ जनमानसमा यो कथाले गहिरो जरा गाडेको छ।
मिथकभित्रको जीवनदर्शन र सन्देश : यो लोककथा केवल चराहरूको उत्पत्ति कथामात्र होइन, यसले मानव जीवनका धेरै पक्षलाई समेटेको छ। शब्दको शक्ति (सत्य युगको बोली), अहंकारको परिणाम (खेउको मृत्यु) र दिदी–बहिनीबीचको अटुट प्रेम यसका मुख्य पक्ष हुन्। साथै, यसले लाटोकोसेरोजस्तो शान्त प्राणी पनि अपमानित हुँदा कति भयानक हुन सक्छ भन्ने कुरा बुझाउँछ। कुलुङ समुदायले आफ्ना यी लोक कथाहरूलाई पुस्ता दर पुस्ता मौखिक रूपमा संरक्षण गर्दै ल्याएका छन्, जसले उनीहरूको जातीय पहिचानलाई अझ मजबुत बनाएको छ।
निष्कर्षमा प्रकृतिको ऐनामा संस्कृति : कुलुङ जातिको यो लोकविश्वास र मिथकले हामीलाई प्रकृतिसँग पुन : जोड्न सिकाउँछ। चरा–चुरुंगीहरू केवल आकाशमा उड्ने प्राणी मात्र होइनन्, तिनीहरू त हाम्रा पूर्वजका कथा बोकेका जीवित पात्रहरू हुन्। हङ्गायो, धनेस र लाटोकोसेरोका यी कथाहरूले नेपालको लोक साहित्यलाई धनी बनाएका छन्। यस्ता मौलिक संस्कृति, भाषा र मिथकहरूको संरक्षण गर्नु आजको आवश्यकता हो, ताकि भविष्यका पुस्ताले पनि आफ्ना जराहरूबारे गर्व गर्न सकून्। आखिर, यी कथाहरू नै हुन् जसले हामीलाई मानिस हुनुको र आफ्नो माटोको सुगन्ध चिनाइरहन्छन्।
प्रतिक्रिया दिनुहोस !