दर्शन, अध्यात्म र विज्ञान

समीक्षा

दर्शन, अध्यात्म र विज्ञान

संग्रह कविताको शक्ति, सौन्दर्य, शिल्प र शैलीका दृष्टिले समृद्घ छ। कविको भाव, प्रतीक र शैली पाठकलाई गहिरो अनुभूति गराउने प्रकारको छ।

कविता लेख्नासाथ वा कविता हुनेबित्तिकै कविताको दायित्व पूरा हुने होइन। कविताभित्रको सत्य पनि स्पष्ट हुनुपर्छ। कविता बन्न अक्षर, शब्द वा वाक्यको सही संयोजन अनिवार्य छ। शब्दको स्केलेटन मात्र कविताको अस्तित्व होइन। शब्दको संरचना, शिल्प र शैलीको कोलेस्टोरोल, मसल, मुटु, कलेजो आदिको सही आकारले शब्दको स्केलेटनलाई निश्चित ढाँचामा परिणत गर्छन्। कवितामा भाव, विचार, कला र मूल कथ्यको काव्यिक लय चाहिन्छ। कवितामा कविको गहिरो बुझाइ, अनुभव, आदर्श, संवेदना, समाजप्रतिको जिम्मेवारीपूर्ण दृष्टिकोण र जीवनको सचेत अनुभूति प्रतिविम्बित हुँदा कविता सघन र समृद्ध हुन्छ। शक्ति, सौन्दर्य र सीमान्त आवाजले कवितालाई कालजयी बनाउँछन्।

अनमोल कँडेलको पहिलो कवितासंग्रह ‘ईश्वरको कारागार’ प्रेम, अध्यात्म, विज्ञान, समाज, अस्वीकृति, अस्थिर राजनीतिको भत्सर्ना, असमान आर्थिक–सामाजिक व्यवस्थामाथि असन्तोषको दृष्टिले महत्त्वपूर्ण छ। उनी पेसाले वैज्ञानिक हुन्। सेतो रक्तकोषिकासम्बन्धी इम्युनोलोजीमा विद्यावारिधि गरेका डा. अनमोल लिम्फोमा क्यान्सरको भ्याक्सिन निर्माण र इम्युनोथेरापी अनुसन्धानमा संलग्न छन्। उनका कवितामा मुक्तिको मार्ग, प्रेमजन्य पीडा, आत्मअन्वेषण र प्रेरणाका झल्कोहरू प्रशस्त छन्।

समाजका विविध संवेदनशील पक्षलाई उनले काव्यमा रूपान्तरण गरेका छन्। गहिरो भावबोध भएका उनका कविताले पाठकलाई आत्मचिन्तनतर्फ डोर्‍याउँछन्। संग्रहमा समावेश ३७ कविता छोटो, मध्यम र लामो खण्डमा विभाजित छन्। नेपाली भाषा र अंग्रेजी भाषा दुवैलाई एउटै पुस्तकमा संग्रह गरिनु यस कृतिको सुन्दर पक्ष हो। यसले नेपालको काव्यभूमिलाई संसारका सबै कुनाकाप्चामा विस्तृत गर्न मद्दत गर्छ। लेखिएका सबै कविता उत्कृष्ट हुँदैनन् र उत्कृष्ट सबै कविता पाठकको मस्तिष्कमा बस्न सफल हुँदैनन्।

‘प्रयोगशालामा मुसाहरू’ आधुनिक समाजमा शक्ति र पहँुचहीनमाथि गरिने अमानवीयतामाथिको तीखो व्यंग्य हो। सत्ता, व्यवस्था र अदृश्य शक्तिद्वारा नियन्त्रित मानिसलाई शक्ति र संरचनाले कसरी सीमित बनाउँछ भन्ने सत्य यस कवितामा प्रस्तुत गरिएको छ। ‘बाल्टिमोरको वधशाला’ करुणा, आत्मसंघर्ष र आक्रोशको प्रतिनिधित्व गर्छ। ‘मानौं कसैले मलाई डोरीले बाँधेर मेरै अगाडि मेरो सन्तानको घाँटी रेटिरहेको छ।’ यहाँ कविले केवल पशु अधिकारको कुरा मात्र उठाएका छैनन्, मानवनैतिकतासँग सम्बन्धित गहिरा प्रश्नहरू पनि उठाएका छन्। ‘कैले भेटिएनन्’ प्रेम, सपना, सम्पत्ति र विश्वास गुमाउँदा उत्पन्न हुने भावनात्मक अवस्थाको दस्ताबेजीकरण हो। यौन र प्रेमको विघटन, तारा, बौलाहाको ठेगाना, क्लियोपेट्रा, यशोधरा, बुद्ध—मार्फत कविले सम्बन्ध, विश्वास र मानवीय संवेदनशीलतालाई उजागर गरेका छन्।

‘मान्छेभित्रको अन्धकार’ मानव अस्तित्वको गहिराइमा पुग्ने प्रयास हो। रात, दिन र मनका तीन तहको अन्धकारमार्फत कविले भित्री अन्धकारमा लुकेको मानवीय पीडा, संकोच र डरलाई प्रस्तुत गरेका छन्। यस कविताले मान्छेको भित्री संसारमा भएका नैतिक, मानसिक र भावनात्मक द्वन्द्वलाई उजागर गर्छ। ‘खरानीबाट फिनिक्स झैं उठ्न चाहन्छु’ विद्रोह, आत्मस्वीकृति, चिन्तन र रूपान्तरणको कविता हो। कविले आफ्नो भित्री कमजोरी, डर र संकोचलाई भष्म गरेर नयाँ चेतनाको पुनर्जन्मको कल्पना यस कवितामा प्रस्तुत गरेका छन्। इतिहास, मिथक र दर्शनको सुसंगत प्रयोग यस कवितामा स्पष्ट देखिन्छ। ‘हजारौं योनिको कारागार’ दुई भागमा विभाजित छन्। पहिलो भागमा सिद्धार्थको दृष्टिले त्याग, मुक्ति र दार्शनिक यात्रा प्रस्तुत गरिएको छ। दोस्रो भागमा यशोधराको दृष्टिले प्रेम, प्रश्न, क्षमा र सहअस्तित्वको भावनात्मक गहिराइ देखाइएको छ। यस कविताले प्रेम र त्याग समान महत्त्वका मानवीय मूल्यहरू हुन् भन्ने सन्देश दिन्छ। 

‘एक्काइसौं शताब्दीको डर’ समकालीन मानव सभ्यताको भय र अस्तित्वगत असुरक्षाको केन्द्रमा छ। युद्ध, हिंसा र आतंकका घटनालाई कविले पौराणिक पात्र प्रमिथस, सिसिफस, प्लेटोको आदिम गुफा र समकालीन घटनासँग जोडेर प्रस्तुत गरेका छन्। ‘सुकरातको भूत’ ज्ञान, सत्य र विवेकमाथि इतिहासले गरेको दमनको प्रतिविम्ब हो। सुकरात, मन्सुर अल–हलाज र ग्यालिलियोको उदाहरणमार्फत सत्ता र शक्तिको केन्द्रले सत्य बोल्ने व्यक्तिलाई कसरी पंगु बनाएर हत्या गर्छ भन्ने कुरा उजागर गरिएको छ। ‘देहबाट बाहिर निस्कँदा’ मृत्युलाई चेतनाको अन्त्य होइन, रूपान्तरणको द्वारका रूपमा प्रस्तुत गरेको।

कविले पहिलोपटक आफूले बोलेको आफ्नै शब्द सुन्ने अनुभव व्यक्त गरेका छन्– ‘पहिलोपटक आफूले बोलेको आपैंmले सुनें, शब्दहरूमा नअटेका अर्थ बुझें।’ ‘किनारलाई छोएर फर्किएको छाल’ आत्म–अस्तित्वको खोजकेन्द्रित कविता हो। ‘सखी आज तिमीले मेरोसामु अभिनय नगर्नू’ आत्मशुद्धि, इमानदारी र अस्तित्वको चिन्तनको सन्तुलित कविता हो। ‘मुर्कुट्टा आफ्नै अनुहारको पहिचान गुमाएको चेतना र संवेदनारहित कर्पोरेट समयप्रतिविम्बित दर्शनप्रधान प्रतीकात्मक कविता हो। 

र, ‘जुनून’ कविताको शाब्दिक अर्थ सनक वा पागलपन हो। फारु शब्द संरचनाको यो कविताले अटुट प्रेममा मानवहृदयको अस्थिरता र अटल विश्वासलाई प्रतिविम्बन गरेको छ। बुकहिलद्धारा प्रकाशित कृतिमा भावसंवेद्य भाषा, संवादात्मक, नाटकीय, प्रतीकात्मक शैली, दर्शन र आध्यात्मिक स्वर स्पष्ट देखिन्छ। प्रयोग र आविष्कारका नयाँ दृष्टिकोणहरूले पाठकलाई मन्त्रमुग्ध बनाउँछन् केही पुराना प्रतीक र मिथकीय पात्र प्रयोग भए पनि नयाँ दृष्टिकोण, जोखिम र नवीनता युवा कविबाट अपेक्षित छ। संग्रहका कवितामा आविष्कारका नयाँ मुना, नयाँ चेतना, दर्शन र समाजका विविध पक्षलाई समेटेका छन्। कवितामा विज्ञान, अनुसन्धान, आत्मबोध, स्वीकारोक्ति र नियोजनका तत्त्व पनि छन्।

अनमोलले चलाएका केही विम्ब पुराना छन्। गद्यको शैली र लय नयाँ र पारम्परित छन्। मिथकी पात्र र कथालाई भन्ने प्रविधि नयाँ नभए पनि लोभलाग्दो छ। कविका कविता पंक्तिको मिटरिक समन्वयको अभावमा रिडिङमा अवरोध आउँछ। शीर्षक नै सिंगो कविता हुनुपर्छ जस्तो लाग्छ। उनले मानवीय प्रतीकका अलावा, वस्तुगत, क्रियात्मक र प्राकृतिक प्रतीकलाई बहुअर्थ– लाक्षणिक, अविधात्मक वा व्यञ्जनात्मक शैलीमा प्रस्तुत गरेका छन्। फिनिक्स, सिसिफस, डेभिड ह्युम, एनी फ्र्याङ्को डायरी, जुलियस सिजर, रोम सहर, गोएबल्स, समाजवाद, साम्यवाद, वा राजनीतिक व्यक्तिहरू र प्राविधिक शब्दहरूलाई फुटनोटमा भन्दा कवितामै सान्दर्भिक तवरले प्रष्ट्याएको भए कवितामा नयाँ आयाम आउँथ्यो कि !

त्यसै पनि कविता सभ्यहरू वा शिक्षितहरूको विचार, चेतना, दर्शन वा अध्यात्मको विलास हो भन्छन् विचारकहरू। नत्र कविता जनमनबाट अवतरित हुन्छ र पीडा, हर्ष, विस्मात वा खुसीका क्षण प्रतिविम्बित हुन्छन्। जनबोली, जनचेतना वा सभ्यताको विकासका लागि कविता हुनुपर्ने हो। सायद पुँजीजस्तै साहित्य पनि मूल्यमान्यता र समाजबाट उक्लिँदै एक्लिँदै जान्छ कि। समग्रमा यो संग्रह कविताको शक्ति, सौन्दर्य, शिल्प र शैलीका दृष्टिले समृद्ध छ। कविको भाव, प्रतीक र शैली पाठकलाई गहिरो अनुभूति गराउने प्रकारको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.