समुदायमा क्षयरोग पहिचान गर्न खकार परीक्षण

समुदायमा क्षयरोग पहिचान गर्न खकार परीक्षण
सुन्नुहोस्

दोलखा : भीमेश्वर नगरपालिका-२ मा समुदायस्तरमै क्षयरोग पहिचान गर्ने उद्देश्यले खकार परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखाको आयोजनामा शनिबार सञ्चालन गरिएको कार्यक्रममा स्थानीय बासिन्दाको खकार संकलन गरी परीक्षण गरिएको हो।

समुदायमै पुगेर परीक्षण गर्दा रोग लुकाएर बस्ने प्रवृत्ति न्यूनीकरण हुने र प्रारम्भिक अवस्थामै रोग पहिचान गर्न सहज हुने विश्वास आयोजकले लिएका छन्। क्षयरोग अझै पनि समाजमा चुनौतीपूर्ण रोगका रूपमा रहेको नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखाका सभापति तीर्थबहादुर जोशीले बताए। क्षयरोग लुकाएर राख्नुभन्दा समयमै परीक्षण गरी उपचारमा जानु आवश्यक रहेको उनले बताए। ‘क्षयरोग लुकाएर होइन, पहिचान गरेर निदान गर्नुपर्छ भन्ने उद्देश्यका साथ समुदायमा पुगेर खकार परीक्षण कार्यक्रम सञ्चालन गरेका हौँ,’ सभापति जोशीले भने।

ग्रामीण क्षेत्रमा अझै पनि क्षयरोगबारे चेतनाको कमी, सामाजिक संकोच तथा रोग लुकाउने प्रवृत्तिका कारण धेरै बिरामी समयमै स्वास्थ्य संस्थाको पहुँचमा आउन सकिरहेका छैनन्। त्यसैले समुदाय केन्द्रित कार्यक्रममार्फत जनचेतना फैलाउने र सम्भावित बिरामी पहिचान गर्ने प्रयास गरिएको उनले बताए।

क्षयरोग समयमै पहिचान भए पूर्ण रूपमा निको हुने रोग भएकाले कुनै पनि लक्षण देखिएमा परीक्षण गर्न ढिलाइ गर्न नहुने जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख दिलेन्द्र बुढाले बताए। उनले दुई साताभन्दा बढी लगातार खोकी लाग्ने, राति पसिना आउने, भोक कम लाग्ने तथा तौल घट्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह पनि गरे।

सरकारले क्षयरोग नियन्त्रण तथा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै समुदायस्तरमा गरिने परीक्षण अभियानले रोगको प्रारम्भिक पहिचान र उपचारमा महत्वपूर्ण सहयोग पुग्ने  उनले बताए। ‘क्षयरोगका बिरामीलाई समाजबाट अलग गर्ने होइन, उपचार र हौसला दिन आवश्यक छ,’ उनले थपे 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.