गौरवका आयोजना घटाउनुपर्छ

गौरवका आयोजना घटाउनुपर्छ
सुन्नुहोस्

प्रारम्भिक अनुमानभन्दा चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत सार्वजनिक संशोधित अनुमानित लागत अधिकांश आयोजनाहरूमा दोब्बर देखिनुका पछाडि प्राविधिक, व्यवस्थापकीय र आर्थिक कारणहरू छन् । धेरैजसो सडक आयोजनाहरूमा सुरुको रेखांकनभन्दा पछि सहायक सडकहरू र उत्तर–दक्षिण जोड्ने सडकहरू थपिएकाले आयोजनाको आयतन र लम्बाइ दुवै बढ्न गई स्वाभाविक रूपमा लागत वृद्धि भयो ।

सुरुमा सामान्य अलकत्रा र गिट्टी मात्र छर्ने प्रविधि गर्ने गरी लागत अनुमान गरिएकोमा पछि आयोजनालाई दिगो र गुणस्तरीय बनाउन कंक्रिट प्रविधि अपनाइँदा बीचैमा विशिष्टीकरण परिवर्तन भयो, जसले लागत ह्वात्तै बढायो । मध्यपहाडी लोकमार्ग लगायतका धेरै आयोजनाहरूमा सुरुमा विस्तृत अध्ययन र डिजाइन नै नगरी अनुमानित लागतका भरमा आयोजना घोषणा गरिएकाले वास्तविक काम सुरु भएर विस्तृत आयोजना प्रतिवेदन तयार हुँदा लम्बाइ र लागत दुवै परिवर्तन हुन पुग्यो । 

कुनै पनि आयोजना समयमै नसकिँदा समयसँगै पैसाको वर्तमान मूल्य घट्दै जान्छ र वर्षौंसम्म आयोजना लम्बिरहँदा बजारमा निर्माण सामग्री र श्रमको मूल्य बढ्ने हुँदा सुरुको बजेटले न्यून काम मात्र सम्भव हुन्छ र संशोधित लागत चुलिन्छ ।

राष्ट्रिय गौरवको वर्गीकरण आवश्यकता र पूर्वतयारीका आधारमा भन्दा पनि राजनीतिक होडबाजी र क्षेत्रीय सन्तुलन मिलाउने नाममा हुने गरेको छ । ‘हाम्रो क्षेत्र वा हाम्रो मन्त्रालयको आयोजना किन नपार्ने ?’ भन्ने सोचका कारण पर्यटन, खेलकुद, ऊर्जा र सडकका नाममा अन्तर–निकाय बजेट र आयोजना बाँडफाँट गर्ने प्रवृत्ति हाबी भयो । आवश्यक अध्ययन र स्रोतको सुनिश्चितता विना नै संख्या मात्रै थपेर सस्तो लोकप्रियता कमाउने राजनीतिक आकांक्षाले गर्दा नयाँ आयोजनाहरू पनि पुरानै असफलताको बाटोमा हिँडिरहेका छन् ।

गौरवका आयोजनाहरूलाई साँच्चिकै सफल बनाउन र राज्यको ढुकुटीको दुरुपयोग रोक्न अबको रणनीतिमा आमूल परिवर्तन आवश्यक छ । विस्तृत इन्जिनियरिङ अध्ययन, जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्यांकन पूरा नभई कुनै पनि आयोजना सुरु गर्नुहुँदैन । आयोजना सुरु गर्दाकै बखत वास्तविक लागत निकालेर बजेट अद्यावधिक गरिनुपर्छ ।

आयोजनाहरूलाई निश्चित समयभित्रै सक्ने गरी कडा कार्यतालिका बनाइनुपर्छ । निर्माण व्यवसायीले काम गरेबमोजिमको भुक्तानी समयमै पाउने र ढिलासुस्ती गर्नेलाई कडा कारबाही गर्ने परिपाटी बसालिनुपर्छ । २७ वटा आयोजनामा स्रोत र साधन छर्नुभन्दा तत्कालका लागि देशलाई नभई नहुने चार–पाँचवटा आयोजना मात्र छनोट गरी तिनलाई राष्ट्रिय गौरवको रूपमा प्राथमिकता दिनुपर्छ । ती आयोजना निश्चित समयमा सम्पन्न भएपछि मात्र पालैपालो अन्य नयाँ आयोजनालाई यो सूचीमा थप्दै जानुपर्छ । 

-शर्मा, पूर्वसचिव हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.