मधेसमा मोटरसाइकल दुर्घटना बढ्दै

मधेसमा मोटरसाइकल दुर्घटना बढ्दै
सांकेतिक तस्बिर

महोत्तरी : उमेर नपुगेकाले तीव्र गतिमा सवारी चलाउनु, सवारीसाधन पुराना हुनु अनि जीर्ण सडककै कारण मधेसमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। सरकारले दुर्घटना न्यूनीकरणका लागि अनेक उपायहरू अवलम्बन गरेको छ। तर, त्यस्ता दुर्घटनाका कारकत्त्व यथावतै छन्। जसले मधेसमा ८ जिल्लामा दिनहुँ सवारी दुर्घटनाका कारण घाइते हुने र ज्यान गुमाउनेसम्बन्धी समाचार बनिरहन्छन्। जुन प्रहरीका लागि पछिल्लो समय टाउको दुखाइ बन्दैछ।

आर्थिक वर्ष २०८२/०८३ को ९ महिना अर्थात् साउनदेखि चैत मसान्तसम्म यहाँ ८ हजार ६ सय २४ वटा सवारी दुर्घटना भएका छन्। सडक दुर्घटनाअन्तर्गत मोटरसाइकल दुर्घटना यस प्रदेशका लागि घातक बन्दै गएको तथ्य प्रहरीको रेकर्डले देखाएको छ। कुल सवारी दुर्घटनामध्ये करिब दुईतिहाइ हराहारीमा मोटरसाइकल दुर्घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ। यस अवधिमा ५ हजार ९ सय ७५ वटा मोटरसाइकल दुर्घटना भएका छन्।

विगत ५ वर्षको अन्तरालमा सरसर्ती हेर्ने हो भने यहाँ सवारी दुर्घटनाको क्रम बढ्दो छ। आर्थिक वर्ष २०७७/०७८ देखि चालु आर्थिक वर्ष २०८२/०८३ सम्मको प्रहरी रेकर्डअनुसार यो तथ्य पुष्टि भएको छ। यस अवधिमा प्रदेशभरि ५० हजार ३ सय २१ वटा सवारी दुर्घटना भएका थिए। जहाँ ३४ हजार १०२ वटा मोटरसाइकल दुर्घटना रहेको थियो।

मधेस प्रहरी कार्यालय स्रोतका अनुसार चैत मसान्तसम्म मधेसमा सवारी दुर्घटनामा परी ३सय ९८ जनाको मृत्यु भएको छ। त्यस्तै, १ हजार ४ सय ९ जना गम्भीर घाइते र ८ हजार ३ सय २९ जना सामान्य घाइते भएका छन्। प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक स्रोतका अनुसार सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश मोटरसाइकल दुर्घटनामा परेका व्यक्तिहरू नै छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्म सप्तरीमा २ सय ९४, सिराहामा ७ सय ४०, महोत्तरीमा ५ सय ६८, सर्लाहीमा ९ सय ९४, रौतहटमा ८ सय २१, बारामा ८ सय ४२ र पर्सामा ७ सय १८ मोटरसाइकल दुर्घटना भएका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार मोटरसाइकल दुर्घटना बढ्नुको प्रमुख कारण जीर्ण सडक, तीव्र गतिका कारण अनियन्त्रित, लागुऔषध र मादकपदार्थ सेवन गरी चलाउनु हो। डीआईजी थपलियाका अनुसार उमेर नपुगेका र लाइसेन्स नभएका युवाले तीव्र गतिमा चलाउँदा तथा लागुऔषध र मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा अनियन्त्रित भई अन्य सवारीको तुलनामा मोटरसाइकल दुर्घटना बढी हुने गरेको छ।

यो न्यूनीकरणका लागि ट्राफिक प्रहरीले समय समयमा विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। त्यस्तै, लागुपदार्थ सेवन न्यूनीकरणका लागि प्रदेशका सबै जिल्लामा सेवनकर्तालाई सुधार र पुनस्र्थापनामा ल्याउने लक्ष्यसहित अभियान सञ्चालन गरेको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहले दिएका जानकारीअनुसार पछिल्लो तीन वर्षमा ४४ हजारभन्दा बढी सचेतनामूलक अभियान सञ्चालन गरिएको छ। ती अभियानमा सिकाएको कुरा व्यवहारमा लागू नगर्दा उक्त घटना दोहोरिँदै आएको प्रवक्ता सिंहले बताए। यसैबीच प्रदेशभरिका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ३० हजारभन्दा बढी चालकलाई कारबाही गरिएको डीएसपी सिंहले जानकारी दिए। उक्त कारबाहीबाट सरकारले ४७ करोड ९४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको प्रहरी स्रोतले जनाएको छ।

यता, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका ट्राफिक प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, मोटरसाइकल दुर्घटना बढी हुनुको मुख्य कारण तीव्र गति हो। उनका अनुसार लागुऔषध र मादकपदार्थ सेवन गरी आफूलाई बढी स्मार्ट देखाउने गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा यस्तो दुर्घटना प्रायः हुने गरेको छ।

मोटरसाइकल दुर्घटना न्यूनीकरण प्रभावकारी नहुनुको मुख्य कारण सरकार न्यूनीकरणतर्फ नलागि राजस्व संकलनमा केन्द्रित हुनु, ठोस कानुनको अभाव तथा सामाजिक व्यावहारिकता रहेको गौशाला नगरपालिका–४ की सवितादेवी महतोले बताइन्। उनले भनिन्, ‘सरकारले राजस्व संकलनका लागि मोटरसाइकल बढीभन्दा बढी बिक्री गर्न अनुमति दिइरहेका छन्। गाडी बिक्री गर्ने क्रममा कागजपत्रमा कडाइ गर्नुपर्ने देखिन्छ। अर्कोतर्फ सडक दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायको खासै ध्यान पुग्न सकेको छैन। जसले गर्दा सवारी चलाउने क्रममा ज्यान जाने घटना सार्वजनिक हुँदैछ।’

देशमा तीनै तहका सरकारले प्रायजसो सडक सुधारमै अधिकांश बजेट लगानी गरे तापनि यहाँका कुनै पनि सडक व्यवस्थित हुन नसकेको यसको एउटा कारण रहेको गौशालाका युवा मोहम्मद अझरुद्दिनको भनाइ छ। उनले भने, ‘सरकारले मोटरसाइकल बिक्रीबापत एजेन्सीसँग वार्षिक रूपमा करौडौं राजस्व असुल गर्दैछन्। सडक सुधार, मर्मतसम्भार, अत्याधुनिक प्रविधि संरचनाको जडान गर्न नसक्दा यस्ता समस्याहरू आउने गरेका छन्। दुर्घटनाको मुख्य कारक तत्त्वलाई समेटेर सरकारले जनचेतनामूलक अभियानलाई अब सतहसम्म ल्याउनुपर्ने देखिन्छ।’

गम्भीर रूपमा लिइएको मोटरसाइकल दुर्घटना न्यूनीकरणका लागि मोटरसाइकल बिक्रीको संख्याको आधारमा लाइसेन्स वितरण, उमेर नपुगेका वा लाइसेन्स नभएका अवस्थामा सवारीधनीलाई कारबाही र लापसे मापसे गर्ने चालकलाई कडा कानुनी कारबाहीको आवश्यकता छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.