निर्माण कम्पनी सम्पर्कविहीन, राम्चे स्वास्थ्य चौकी भवन अलपत्र
रसुवा : कालिका गाउँपालिका–१ राम्चेमा निर्माणाधीन राम्चे स्वास्थ्य चौकी भवन निर्माणको काम अधुरै छाडेर निर्माणको जिम्मा पाएको कम्पनी सम्पर्कविहीन भएपछि गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट सेवाग्राही बञ्चित भएका छन् ।
सम्झौता अनुसार समयमा भवन निर्माण नभएपछि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको छ । चार वर्षदेखि निर्माणको जिम्मा पाएको ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रालि सम्पर्कविहीन हुन पुगेपछि निर्धारित समयमा भवन निर्माण नहुँदा आधारभूत स्वास्थ्य सेवा पाउनबाट सेवाग्राही समस्यामा परेका हुन् । निर्माण थालेकोमा अलपत्र रहेकोले सेवा प्रवाह हुनै सकेको छैन । सम्झौता गरेर काम थाले पनि दुई वर्षदेखि काम अधुरो छाडेर सम्पर्कमा नआएको स्थानीय बताउँछन् ।
स्वास्थ्य चौकीको भवन अधुरो छाडेपछि सेवा प्रवाहमा समयमा स्वास्थ्य संस्था भवन निर्माण नहुँदा सेवाग्राही समस्यामा परेका छन् । राम्चे बजारमा रहेको भाडाको कोठाबाट सेवा प्रवाह गर्न असहज रहेको छ । ‘जिम्मेवार निर्माण व्यवसायी ४ वर्षदेखि सम्पर्कमा छैनन् । भवन निर्माण अधुरो छाडेको लामो समय भयो पछि कुरा उठाएपछि समस्याको समाधान भएन’, स्वास्थ्य चौकीका अहेव रामप्रसाद ढकालले भने ।
०७७ सालमा निर्माण सुरू गरिएको भवन निर्माण नहुँदा प्रसुति सेवा तथा अन्य स्वास्थ्य जाँच सेवा पाउन निकै समस्या परेको स्थानीय राम तामाङ बताउँछन् । विगतदेखि नै पटक–पटक प्रमुख जिल्ला अधिकारी समक्ष समेत गुनासो गरेको कालिका गाउँपालिका–१ का वडा अध्यक्ष दावा तामाङले बताए । ‘धेरै ठाउँमा काम थालेकाले सबैतिर काम अलपत्र छ । ठेकेदार सम्पर्कमा नआएको वर्षौ बित्यो’, वडाध्यक्ष तामाङले भने ।
चार वर्षदेखि निर्माण थालेको राम्चे स्वास्थ्य चौकी भवन प्लाष्टर, झ्याल, ढोका, रङ, शौचालय निर्माणलगायतको काम छाडेर हिँडेका निर्माण व्यवसायी फर्केनन् । समयमा काम नगर्ने र अलपत्र छाड्ने कम्पनीलाई गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम उक्त ठेकेदार कम्पनीसँग गरिएको भवन निर्माणसम्बन्धी ठेक्का रद्द गर्ने, कालोसूचीमा र नियमानुसार कारबाही प्रक्रियाअघि बढाउनु पर्ने सरोकारवालाहरूको माग छ ।
स्वास्थ्य चौकी भवन अलपत्र भएकाले सेवाग्राहीलाई दैनिक उपचार सेवा दिन निकै कठिनाइ भएको राम्चे स्वास्थ्य चौकी प्रमुख सविना माझीले बताइन् । उनले पटक–पटक मौखिक अनुरोध तथा ०८२ -६-२२ गते सघन सहरी तथा भवन कार्यालयमा पत्राचार गरी निर्माण कार्य सम्पन्न गरिदिन अनुरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !