तेस्रो स्थानको खेलमा नेपाल भारतसँग पराजित हुँदा घरेलु टोली पदकविहीन
काठमाडौं : काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालले भारतसँग तेस्रो स्थानको लागि भएको खेलमा पराजित हुँदा पदकविहीन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको तेस्रो स्थानको खेलमा भारतले नेपाललाई ३–१ ले हराएको छ ।
भारतले २५–२२, २५–२३, १५–२५ र २५–२२ ले हराउँदै काश्य पदक जितेको हो । पहिलो दोस्रो र चौथो सेटमा जित दर्ता गर्दै भारतले कास्य पदकमा आफ्नो नाम दर्ता गराएको हो । ९–९ बराबरी १२–१२ हुँदै खेलेका दुई टोलीले पहिलो सेट निकै प्रतिस्पर्धात्मक खेले। सेटको बीचमा १५–१३ ले नेपालले अग्रता बनाउँदा पुनः भारतले पुनरागमन गर्दै १७ बराबरीको स्थितिमा ल्यायो ।
१८–१८ बराबरीको स्थितिमा थियो । त्यसपछि भारतले लगातार अङ्क बटुल्दै २१–१८ को स्थिति बनाएको थियो । टाइम आउट लिँदै नेपालले लगातार अङ्क बटुल्दै २२ बराबरीमा भारतलाई भेट्टाएको थियो । त्यसपछि भने नेपालले अङ्क जोड्न सकेन र पहिलो सेट २५–२२ ले गुमायो ।
दोस्रो सेटमा भारतले ३–१ को अग्रतासहित सुरुवात गर्यो । नेपालले कमब्याक गर्दै नौ बराबरीको स्थितिमा सेट ल्यायो । ११ बराबरीबाट नेपालले १२–११ को अग्रता बनायो त्यसपछि पनि नेपालले १७ अङ्कसम्म १ अंकको अग्रता बनाउँदै खेलिरहेको नेपालले २५–२३ ले सेट गुमायो ।
तेस्रो सेटमा सुरुवाती समयदेखि अग्रता बनाउँदै फराकिलो जित निकाल्यो । नेपालले १५–७, १९–९ हुँदै २५–१५ ले नेपालले तेस्रो सेटमा जित दर्ता गर्यो । चौथो सेटमा भारतले पुनरागमन गर्यो । तेस्रो सेटमा रोकेको भारतलाई नेपालले चौथो सेटमा रोक्न सकेन । आजै हुने फाइनल खेलमा इरानले काजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । फाइनल खेल अपरान्न ४ः३० बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस !