वार्ता असफल भए इरानमाथि आक्रमण गर्ने अमेरिकाको चेतावनी
वासिङ्टन डिसी : अमेरिकाले शनिबार इरानमाथि पुनः आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सिंगापुरमा आयोजित एक सम्मेलनका क्रममा सम्बोधन गर्दै इरानसँग भइरहेको वार्ता असफल भएमा अमेरिकाले फेरि आक्रमण गर्न सक्ने बताएका हुन्।
अमेरिका र इरानका वार्ताकारहरू एक प्रस्तावित सम्झौतामा रहेका मतभेदहरूलाई समाधान गर्ने प्रयास गरिरहेका बेला याे चेतावनी आएको हाे । उक्त प्रस्तावित सम्झौता अन्तर्गत गत अप्रिल महिनाको सुरुवातमै भएको अस्थायी युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याउने र भविष्यमा स्थायी सम्झौताको बाटो तय गर्ने लक्ष्य राखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा बस्ने बैठकमा यस प्रस्तावमाथि अन्तिम निर्णय लिने बताएका थिए। यद्यपि, दुई घण्टासम्म चलेको उक्त बैठकपछि उनले निर्णयलाई तत्कालका लागि सारेका छन्। अर्कातर्फ, इरानले भने सम्झौताका लागि अहिलेसम्म कुनै समयसीमा घोषणा गरेको छैन।
यसैबीच, इरानका मुख्य वार्ताकार मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूहरूलाई अमेरिकामाथि विश्वास नभएको बताएका छन्। उनले अमेरिकाले ठोस कदम नचालेसम्म इरानले पनि कुनै कदम नचाल्ने स्पष्ट पार्दै भनेका छन्, 'हाललाई हामीलाई कुनै हतार छैन।'
प्रतिक्रिया दिनुहोस !