रोमानिया पठाइदिने भन्दै लाखौं ठगी, म्यानपावर सञ्चालक पक्राउ
विराटनगर : वैदेशिक रोजगारीको नाममा आकर्षक कमाइको प्रलोभन देखाउँदै रोमानिया पठाइ दिने भन्दै सर्वसाधारणसँग लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा मोरङबाट म्यानपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–८ घर भएका ३७ वर्षीय उद्धव पाठक रहेका छन् ।
प्रहरीका अनुसार पाठकले रतुवामाई–८ दाम्राभिट्टामा ‘केएसए’ नामक म्यानपावर सञ्चालन गर्दै आएका थिए । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक रोमानिया पठाइ दिने आश्वासन दिँदै उनले लामो समयदेखि विभिन्न व्यक्तिबाट ठूलो रकम असुलेको आरोप छ । प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।
उनीसँगै म्यानपावरमा लेखापालका रूपमा काम गर्दै आएका रतुवामाई–९ का करिब २५ वर्षीय अभि भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।
पक्राउ परेका पाठक र भण्डारीविरुद्ध ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको छ । अदालतबाट ६ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखिएको छ । प्रहरीका अनुसार पाठक लामो समयदेखि फरार रहँदै आएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय सिजुवा, उर्लाबारी, जिल्ला प्रहरी कार्यालय मोरङसहित काठमाडौंमा समेत किटानी जाहेरी परेको खुलेको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनी विदेशमै बसेर नेटवर्क चलाएको पत्ता लागेको छ । रोमानियाबाट केही समयअघि मात्रै नेपाल फर्किएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार पाठक केही समय काठमाडौंमा बसेर पछिल्लो एक साताअघि मात्रै रतुवामाईस्थित आफ्नो घरमा आएका थिए । विशेष सूचनाका आधारमा घरबाटै पक्राउ गर्न प्रहरी सफल भएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार पाठकले वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई लक्षित गरी रोमानिया पठाइ दिने भन्दै प्रलोभन देखाउने गरेका थिए । आकर्षक तलब र सुरक्षित रोजगारीको आश्वासन दिएर उनले पीडितहरूबाट चरणबद्ध रूपमा रकम संकलन गरेको पाइएको छ ।
प्रहरीले हालसम्म सय जनाभन्दा बढी सर्वसाधारण ठगीमा परेको अनुमान गरेको छ । एक व्यक्तिबाट एक लाखदेखि चार लाख रुपैयाँसम्म असुलेको पाइएको एसपी कटवालले बताए । ठगीको कुल रकम र ठगीमा पर्नेहरुको संख्या यकिन हुन बाँकी रहेको जानकारी उनले दिए । पीडितहरूले दिएको जाहेरी अनुसार पाठकले ३–४ वर्षअघि नै रकम लिएर अहिलेसम्म कुनै पनि प्रकारको रोजगारीका लागि विदेश नपठाएको देखिएको छ । उनीविरुद्ध विभिन्न व्यक्तिहरूले लगातार उजुरी दिँदै आएका थिए । नारायणप्रसाद भट्टराई, पदमबहादुर खुलाल र पुनम नेपाल लगायतले इलाका प्रहरी कार्यालय सिजुवामा किटानी जाहेरी दिएका छन् ।
पाठकले ठगीको रकम म्यानपावरका लेखापाल अभि भण्डारीको बैंक खातामा जम्मा गराउने गरेको पाइएको छ । वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई विभिन्न बहानामा भण्डारीको खातामा पैसा पठाउन लगाउने र त्यसपछि प्रक्रिया अघि नबढाउने गरेको आरोप उनीमाथि लागेको छ । प्रहरी स्रोतका अनुसार रकम संकलनपछि न भिसा प्रक्रिया पूरा हुन्थ्यो, न त विदेश पठाउने कुनै ठोस प्रयास नै गरिन्थ्यो । पीडितहरू वर्षौंसम्म आशामा बसिरहँदा अन्ततः ठगी भएको महसुस गरेर प्रहरीमा उजुरी दिन बाध्य भएका थिए ।
पीडितको यकिन संख्या र कुल ठगी रकमको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धान पूरा भएपछि वास्तविक तथ्य पत्ता लाग्ने प्रहरीको भनाइ छ । प्रारम्भिक प्रमाण र पीडितहरूको बयानका आधारमा ठगीको दायरा अझै ठूलो हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !