राप्रपामा भुइँचालो : महामन्त्री राणासहित १८३ जनाले छोडे पार्टी
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा भुइँचालो गएको छ। महामन्त्री डा. धवलशमशेर राणासहित १ सय ८३ जनाले पार्टी छोडेका छन्। पछिल्लो महाधिवेशनमा एउटै समूहबाट अघि बढेका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राणा अहिले आएर अलग भएका हुन्। त्यतिबेला लिङ्देन र राणा मिलेर तत्कालीन अध्यक्ष कमल थापालाई पराजित गरेका थिए। यी दुई नेता मिल्दा निर्वाचनमा राप्रपाले १४ सिट जित्दै राम्रो परिणाम ल्याएको थियो।
राजतन्त्रको स्वरूपका सवालमा लिङ्देन र राणाबीच मतभेद सुरु भएको थियो। मतभेदकै बीच डा. राणा बिरामी परेका बेला अध्यक्ष लिङ्देनले उनलाई संगठन विभागको जिम्मेवारीबाट हटाएका थिए।
नेपालगन्जको खान्दानी राणा परिवारका डा. राणाको राजनीतिक यात्रा राप्रपाबाटै सुरु भए पनि पछि उनी एमाले प्रवेश गरे भने एमाले छोडेर पुनः राप्रपामै फर्किए। उनी २०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाट नेपालगन्जको मेयर भएका थिए। राजाले शासन हातमा लिएपछि राजनीतिक दलहरू सडक आन्दोलनमा जाँदा राणा सडक प्रिय बनेनन् र उनी राप्रपातिरै फर्किए।
जनस्तरमा लोकप्रिय राणा २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट पुनः नेपालगन्जको मेयरमा निर्वाचित भए। राप्रपाको महामन्त्री बनेका उनी २०७९ सालको आमनिर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए। अहिले आएर उनले राप्रपा पनि छोडेर नयाँ पार्टी बनाउने घोषणा गरेका छन्। उनसँगै राजीनामा दिनेहरूमा विगतमा पार्टीबाट कारबाहीमा परेका पदाधिकारीहरू पनि छन्।
जसमा उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, प्रवक्ता सगुनसुन्दर लावती र कार्यसम्पादन समिति सदस्य नारायणप्रसाद कोइरालालगायत छन्। सक्रिय राजतन्त्र कि संवैधानिक राजतन्त्र भन्ने विषयमा सैद्धान्तिक रूपमा उनीहरूबीच मतभेद रहेको बताइएको छ। अध्यक्ष लिङ्देन संवैधानिक राजतन्त्रको पक्षमा छन् भने महामन्त्री राणाले सक्रिय राजतन्त्रको वकालत गर्दै आएका थिए। २०८१ चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा राणा सक्रिय रूपमा सहभागी थिए भने राजेन्द्र लिङ्देन यसको विपक्षमा थिए। उक्त हिंसात्मक आन्दोलनमा एक पत्रकारसहित २ जनाको मृत्युसमेत भएको थियो। आन्दोलनका क्रममा विभिन्न सञ्चारमाध्यमदेखि भाटभटेनीसम्म तोडफोड, आगजनी र लुटपाट भएपछि यो घटनामा राणामाथि मुद्दासमेत चलाइएको थियो।
पार्टी छाडेको घोषणा गर्दै महामन्त्री डा. राणाले राप्रपाले आगामी स्थानीय तहको चुनावमा उम्मेदवार नै नपाउने अवस्था बनेपछि आफूहरूले विकल्प खोजेको बताएका छन्। आफ्नो नेतृत्वमा १ सय ८३ जना नेताले सामूहिक राजीनामा दिएपछि भेलालाई सम्बोधन गर्दै उनले ५ वर्षअघि राजेन्द्र लिङ्देनलाई अँगालो मारेर अध्यक्ष बनाएको स्मरण गरे।
‘आज दुःखका साथ हामीले आफ्नो घर छोड्नुपर्ने अवस्था आयो। यो खुसीको दिन होइन, आज दुःखको दिन हो,’ उनले भने, ‘तर आफ्नो जिन्दगी र राजनीतिक यात्रामा केही हासिल गर्न, आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर बनाउनुपर्छ। मक्किइसकेको र चर्किसकेको घरबाट पार लाग्दैन। अब अर्को घर बनाउन सक्ने जमर्को गर्नुपर्छ र त्यही जमर्कोमा आज हामीहरू लागेका छौं।’ उनले पछिल्ला ४ वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा दुःखी समय भएको बताए।
प्रतिक्रिया दिनुहोस !