एन्फा महासचिव र अध्यक्षलाई विश्वकपमा जान किन लगायो राखेपले रोक ?
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई फिफाको बैठक र विश्वकप हेर्न जान रोक लगाएको छ।
राखेप सदस्य सचिव राम चरित्र मेहेताले नेपालमा फुटबलको विवाद नसुल्झिएको अवस्थामा फुटबलको सम्बन्धित पक्ष बनेर बैठक र विश्वकपमा जान नमिल्ने बताए। उनले अन्नपूर्ण पोस्टसँगको कुराकानीमा आफूहरूले एन्फा महासचिव र अध्यक्षको फिफा बैठक र विश्वकपमा जान पाउँ भन्ने प्रस्तावलाई अस्वीकार गरेको बताए। ‘उहाँहरूले फिफाको बैठक र विश्वकपमा जान पाउँ भन्नु भएको थियो। हामीले यहाँको विषय नसुल्झाइ हुँदैन,’ भनेका हौं।’
‘एन्फाको कार्यसमिति सबैको पासपोर्ट कालोसूचीमा भएको हुँदा उहाँहरूले कतै पनि विदेश भ्रमण जान मिल्दैन’, उनले भने।
यदि एन्फाका पदाधिकारी विदेश जान चाहेको खण्डमा पदबाट राजीनामा दिएर मात्रै जान मिल्ने राखेप सदस्य सचिवले बताए। ‘यहाँ विवादका बीचमा पासपोर्ट कालोसूचीमा हुँदा यसै पनि जान मिल्दैन। यदि उहाँहरू जान चाहनुहुन्छ भने पदबाट राजीनामा दिएर जानुपर्छ’, सदस्यसचिव राम चरित्र मेहेताले भने। जुन ११ बाट क्यानडा, मेक्सीको र अमेरिकाले संयुक्त रूपमा फिफा विश्वकप २०२६ सुरु हुँदैछ।
प्रतिक्रिया दिनुहोस !