कञ्चनपुरका किसानको पीडा : बाली जोगाउन दशकौंदेखि मचानको बास

कञ्चनपुरका किसानको पीडा : बाली जोगाउन दशकौंदेखि मचानको बास
सुन्नुहोस्

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ इमिलियाका टीकाराम रानाको पछिल्लो एक दशकदेखि मचानको बास भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्ती, निलगाई, चित्तल, बँदेल जस्ता जंगली जनावरले, खेतमा लगाएको बाली खाई दिने भएकाले उनी बाली जोगाउन भन्दै एक दशकदेखि मचानमा बस्दै आएका हुन् । 

जंगलको छेउमा घाँस दाउराका लागि सहज हुने भएकाले टीकाराम रानाका बाजे करिब सय वर्षअघि इमिलिया गाउँमा बसेको उनले बताए । सजिलोका लागि रोजेको नदीछेउको बसाई उनका लागि कष्टकर बन्दै गएको छ । टीकारामको इमिलियाको बीच गाउँमा १० कठ्ठा मात्रै जग्गा छ । त्यसबाट उत्पादन हुने अन्नले घरमा खान पनि नपुग्ने भएकाले उनले सोही वडा भएर बग्ने चौधर नदी किनारको २ विघा जग्गा भाडामा लिएर उखु खेती गरिरहेका छन् । 

उखु, टीकारामको घरखर्च चलाउने आम्दानीको स्रोत हो । जंगली जनावरबाट बचाउन सकेको वर्ष उनले २ विघाबाट करिब ७ सय क्विन्टल उखु विक्री गर्छन् । नजिकै रहेको महाकाली सुगर मिलले उनको उखु ६ सय रुपैंयाँ क्विन्टलका दरले किनि दिने गर्छ । उखु लगाएको खेतबाट १० किलोमिटरको दूरीमै चिनी मिल भएकाले पनि बेल्डाँडीका अधिकांश किसानले उखु खेती गर्दै आएका छन् । 

वर्षमा एक पटक विक्री गर्न पाउने उखुबाट उनले वर्षमा झण्डै साढे चार लाख जतिको आम्दानी गर्ने गर्छन् । ‘वर्षभरी घरको नुनतेलको खर्च, बालवालिकाको पढाई र औषधिमुलोको खर्च भनेको यही उखु हो । तर जंगली जनावरबाट जोगाएर आम्दानी हात पार्न धेरै संघर्ष गर्नु परिरहेको छ’ टीकारामले भने ।

टीकारामको मात्र होइन, बेल्डाडी गाउँपालिका–५ नम्बर वडामा पर्ने इमिलिया, मोहनपुर, राधापुर, वडा नम्बर २ को गौडीदंगा आसपासका अधिकांश किसान जंगली जनावरबाट बालीनाली जोगाउन संघर्षरत छन् । जंगली जनावरमा पनि बढीजसो उनीहरुको क्षति, हात्तीले गर्ने गर्छ । ‘सबैभन्दा बढी क्षति गर्ने भनेको हात्ती हो । उखु पाक्ने समयमा हात्तीको बथान आउँछ, विक्रीका लागि तयार भएको उखु सबै खाई दिन्छ, त्यसपछि वर्षभरीको सपना चकनाचुर हुन्छ’ रानाले भने ।

बेल्डाँडी गाउँपालकाको वडा नम्बर २ र ५ को अधिकांश भू–भाग शुक्लाफाँटा वन्यजन्तु आरक्षसँग जोडिएको छ । आरक्ष नजिकै उत्तर दक्षिण भएर चौधरी नदि बग्ने गर्छ । चौधरी नदीमा पानी खान, गर्मीका बेला ताल खेल्न हात्तीको बथान सो क्षेत्रमा आउने गर्छ । त्यही बथान बेलाबेला गाउँलेको खेतमा पनि पस्ने गर्छ । ‘त्यसैले हामीले मचान बनाएका छौं । मचानमा पालैपालो गरी बस्ने गर्छौं । हात्तीको बथान आयो भने मचानमा बसेका ब्यक्तिले गाउँमा फोन गर्छन् । त्यसपछि गाउँलेहरु ट्याक्टर ल्याएर आउँछन् । ट्याक्टरको आवाज, गाउँलेहरुको होहल्ला र गाडीका टायरहरु बालेर हात्ती भगाउने प्रयास गरिन्छ’ रानाले भने । 

स्थानीयले आफ्नो सुरक्षाका लागि मचान बनाएका हुन् । केही स्थानमा पक्की मचान बनाइएका छन् भने अधिकांश स्थानमा काठका पोल हालेर मचान बनाइएका छन् । खेतमा कटेरो बनायो भने हात्तीको बथान आएको पनि नदेखिने र आएपछि सजिलै भत्काई दिने भएकाले स्थानीयले आफ्नो ज्यानको सुरक्षाका लागि मचानहरु बनाएका हुन् । ‘आफ्नो सुरक्षाका लागि हामीले मचान बनाएका हौं । सानो कटेरो बनायो भने हात्तीले भत्काई दिन्छ । मचान अलि बलियो र उचाईमा हुने भएकाले सुरक्षित हुन्छ’ रानाले भने ।

चौधरी नदी आसपासको खेतमा करिब ५० वटा मचान बनाइएका छन् । यस आसपासको जमिनमा घरहरु छैनन् । त्यहाँका स्थानीयहरुको अलि टाढाको बस्तीमा घरहरु छन् । तर खेतीपातीका लागि भएको जमिन निकुञ्ज छेउमा छ । निकुञ्ज छेउमा रहेका तर सँगसँगै जोडिएको खेत भएका स्थानीयहरु पालैपालो मचानमा बस्ने गर्छ । मचानमा चौबीसै घण्टा कुनै न कुनै स्थानीयले ड्युटी दिएकै हुनुपर्छ ।

साना जंगली जनावरहरुलाई धपाउन सकिलो भए पनि हात्तीको आतंकले उनीहरु आजित छन् । स्थानीयले हात्तीको आतंक रोकिदिन सरकारसँग माग गरेका छन् । ‘सरकारले निकुञ्जको क्षेत्रमा तारजाली लगाई दिए हुन्थ्यो’ स्थानीय बसन्ती रानाले भनिन् । ‘निकुञ्जले लगाएको करेन्टवाला तारबाट पनि हात्ती रोकिएको छैन ।’ उनले हात्तीलाई करेन्टबारे जानकारी भईसकेको बताइन् । ‘पहिला पहिला करेन्ट छोडिएको तारमा सुँड लगाउदा झटका लाग्ने गरेका कारण हात्ती फर्किन्थ्यो । तर अहिले हात्तीको बथान आएमा पुच्छरतिरको भागले तार चुडाल्छ अनि बथान खेतमा पस्छ’ बसन्तीले भनिन् ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.