संसद्मा सांसदको भूमिका प्रभावकारी बनाउन एमालेले आज अन्तर्क्रिया गर्ने
काठमाडौं : नेकपा एमालेको भूमिकालाई संसदमा प्रभावकारी बनाउन आज सांसद्सँग अन्तर्क्रिया हुने भएको छ । पार्टीको संसदीय विभागले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरुले संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने पार्टी सचिव एवम् संसदीय दलकी उपनेता पद्मा अर्यालले जानकारी दिइन् ।
अर्यालका अनुसार संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद् सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी गराउने छन् । उनले संसदीय समितिहरूका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयका बारेमा समेत जानकारी दिनेछन् ।
यसैगरी पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिने अर्यालले बताइन् । उनका अनुसार हरेक सांसदले पार्टी नीति अनुरुप संसद्मा भूमिका निर्वाह गर्नुपर्ने भएकोले सम्बन्धित विषयमा पार्टीका विभागहरुसँग पनि समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि महासचिव पोखरेलले स्पष्ट पार्नेछन् ।
कार्यक्रममा सहभागी हुन सम्पूर्ण विभाग प्रमुख र विभागका पूर्व सदस्यहरूलाई पनि जानकारी गराइएको छ । सम्बन्धित विभागहरुले विषय विज्ञता भएका व्यक्तिहरुको नाम सिफारिस गरेर सांसदहरुलाई संसदीय विषयवस्तुहरूमा आवश्यक पर्दा परामर्श दिने रोस्टर बनाउने छ । कार्यक्रममा दुवै सदनका सांसदहरु सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस !