दक्षिणपन्थीसँगको अपवित्र साँठगाँठले पार्टीको प्रतिष्ठा ध्वस्त पार्न सक्छ : झलनाथ खनाल
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्ट शक्तिहरूलाई दक्षिणपन्थी शक्तिसँग 'अपवित्र साँठगाँठ'नगर्न आग्रह गरेका छन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि देशका ज्वलन्त समस्याको समाधान हुने आमअपेक्षा विपरीत राष्ट्रियता,राष्ट्रिय स्वतन्त्रता,जनअधिकार,सूचना पाउने अधिकार तथा संवैधानिक संस्थाहरूबीचको सम्बन्ध खलबलिन थालेको दावी गरेका छन्।
उनले देश झन् जटिल परिस्थितितर्फ उन्मुख भएको र विदेशी हस्तक्षेपसँगै घरेलु अस्थिरता बढ्दै गएको उल्लेख गरेका छन्। आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै नेता खनालले यस्तो अवस्थामा आमजनता, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन्। तर, त्यसका लागि वामपन्थीहरूले आपसी आग्रह,पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
विगतमा वामपन्थी दलहरूले नीतिहीन रूपमा दक्षिणपन्थी शक्तिसँग सहकार्य गरेको भन्दै त्यसलाई गल्तीको रूपमा स्वीकार गरिएको उनको भनाइ छ।
नेपाल कम्युनिस्ट पार्टीले पनि त्यही गल्ती दोहोर्याएको उल्लेख गर्दै अहिले फेरि त्यस्तै प्रकारको साँठगाँठले पार्टीको प्रतिष्ठामा थप आँच पुग्ने खतरा रहेको खनालले औँल्याएका छन्।
उनले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे निर्णय गर्नुअघि केन्द्रीय संयोजन समितिको बैठक तत्काल बोलाई वर्तमान राजनीतिक परिस्थितिबारे विस्तृत छलफल गर्न आग्रह गरेका छन्। साथै,प्रदेश सरकार गठनसम्बन्धी निर्णय गर्दा कार्यनीतिक उद्देश्य र वर्गीय दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।
खनालले केही नेताहरूको कुर्सी मोह र आत्मसन्तुष्टिका लागि हुने राजनीतिक साँठगाँठ रोक्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार अहिलेको आवश्यकता सत्ता समीकरणमा केन्द्रित हुनु नभई सही कार्यदिशाका आधारमा पार्टीको पुनर्गठन र रूपान्तरण गर्नु हो।
पूर्वप्रधानमन्त्री खनालले सबै कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूलाई अवसरवादी साँठगाँठभन्दा सिद्धान्त, नीति र जनहितलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस !