‘उड्ता पञ्जाब'मा लाग्यो सेन्सरको कैंची

‘उड्ता पञ्जाब'मा लाग्यो सेन्सरको कैंची

एजेन्सी: चलचित्र निर्माता र सेन्सर बोर्डबीचको सम्बन्ध प्रायः चिसो हुन्छ। चलचित्रलाई अभिव्यक्ति र सिर्जना मान्दै जस्तो निर्माण गरियो त्यस्तै प्रदर्शन गर्न पाउनुपर्छ भन्ने निर्माण पक्षको भनाइ हुन्छ भने सेन्सर बोर्डले समाजमा अपाच्य हुने दृश्य बताउँदै कतिपय चलचित्रमाथि कैंची लगाउँछ।

हिन्दी चलचित्र ‘उड्ता पञ्जाब'लाई भारतीय सेन्सर बोर्डले ९० भन्दा बढी दृश्य हटाउन निर्देशन दिएपछि अन्तर्राष्ट्रिय चलचित्र जगत्मा ठूलो चर्चा सुरु भएको छ।एकता कपुर, अनुराग कश्यप, अभिषेक चौबेलगायतका चर्चित फिल्म मेकरले निर्माण गरेको चलचित्रलाई भारतको सेन्सर बोर्डले नाम परिवर्तनसहित ९४ वटा दृश्य काट्न निर्देशन दिएपछि निर्माण पक्ष सेन्सरको निर्देशनविरुद्ध अदालत पुगेका छन्।

बिहीबार र शुक्रबारको बहसपछि मुम्बई उच्च अदालतले सोमबार फैसला गर्ने भएको छ। सेन्सर बोर्डले चलचित्रका दृश्यले पञ्जाब राज्य र त्यहाँका बासिन्दाको छविमा नकारात्मक असर पार्नसक्ने बताउँदै चलचित्रका दृश्य काट्न निर्देशन दिएको हो।

एजेन्सीहरूका अनुसार सेन्सरले पञ्जाब र त्यहाँका सहरको नाम, गालीजन्य शब्द, राजनीतिक शब्द, ड्रग्स लिएका दृश्य हटाउन र चलचित्रको कुकुरको नाम परिवर्तन गर्न निर्देशन दिएको छ। चलचित्रमा रहेको एउटा कुकुरको नाम ‘ज्याकी च्यान' राखिएपछि सेन्सरले यस्तो नाम परिवर्तन गर्न निर्देशन दिएको हो।

 


मुम्बई उच्च अदालतमा शुक्रबारको बहसमा सेन्सर बोर्डका वकिलले भने, ‘ज्याकी च्यानको चलचित्रमा कुकुरको नाम शाहरुख खान राखे भने हामीले इजाजत दिन सक्दैनौं।'

सेन्सर बोर्डको निर्देशनपछि निर्माता अनुराग कश्यपले चलचित्रका दृश्य नकाट्ने अडान लिएका छन्। सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानी र निर्माता अनुराग व्यक्तिगत गालीगलौजमा समेत उत्रिएका छन्।

पहलाजले अनुरागलाई आम आद्मी पार्टीबाट पैसा लिएर चलचित्र निर्माण गरेको आरोप लगाएका छन्। पञ्जाबमा आगामी वर्ष विधानसभा चुनाव हुँदैछ। आम आद्मी पार्टीले पञ्जाबको लागूऔषध र अपराध नियन्त्रणलाई मुख्य एजेन्डा बनाएर चुनाव लड्दैछ।

अहिले पञ्जाबमा भारतीय जनता पार्टी र अकाली दलको सरकार छ। आम आद्मी पार्टी र काँग्रेसले यो चलचित्रको विषय देखाएर पञ्जाबको लागूऔषध र आपराधिक क्रियाकलापविरुद्ध आवाज उठाउनसक्ने बताउँदै सेन्सरले चलचित्रलाई अंकुश लगाएको निर्माण पक्षको आरोप छ।

सेन्सर बोर्डले आपत्ति जनाएपछि बोर्डकै सुधार प्यानल प्रमुख तथा प्रख्यात निर्देशक श्याम बेनेगलले चलचित्र हेरेका छन्। उनले सेन्सर बोर्डको निर्णयप्रति कुनै टिप्पणी नगरी चलचित्र राम्रो बनेको मात्र प्रतिक्रिया दिएका छन्।

चलचित्रको विवाद चलिरहँदा भारतीय सूचना तथा प्रसारण मन्त्री अरुण जेट्लीले सेन्सर बोर्डमा परिवर्तन ल्याउने तयारी भइरहेको बताएका छन्। सेन्सर बोर्डको अधिकार चलचित्रको जाँचपास नभएर प्रमाणीकरण हुनुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.