समीक्षाको डाक्टर बन्‍ने दृढता

समीक्षाको डाक्टर बन्‍ने दृढता

बुटवल: छ महिनाकै उमेरमा आमा गुमाएकी समीक्षा सुवेदीले यस वर्ष एसएलसी परीक्षामा ४ जीपीए ल्याएर आफूलाई अब्बल साबित गरेकी छन्। उनले रूपन्देहीको सैनामैना ३ स्थित सुनगाभा पब्लिक उच्च माविबाट एसएलसीमा यो सफलता चुमेकी हुन्।

पहिलोपटक ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशन भएको यस वर्ष अहिलेसम्म समीक्षाबाहेक अरू कसैले ४ जीपीए (ग्रेड प्वाइन्ट एभरेज) ल्याएको दाबी गरेको छैन। समीक्षाले भविष्यमा चिकित्सक बनेर समाजमा योगदान गर्ने सपना साँचेकी छन्।

परिवार र शिक्षकको सहयोगका कारण आफूले एसएलसीमा यस्तो नतिजा हात पारेको समीक्षाले बताइन्। उनले अबको अध्ययनमा यस्तै नतिजा ल्याउने दृढतासमेत व्यक्त गरिन्।

चिकित्सक बन्न विज्ञान विषय लिएर प्लस टु पढ्ने योजना भए पनि बुटवल वा काठमाडौं कहाँ पढ्ने भन्ने टुंगो भइसकेको छैन। एसएलसीमा अब्बल ठहरिएपछि समीक्षा त दंग छिन् नै आफन्त र छरछिमेकी पनि मक्ख परेका छन्।

नतिजा सार्वजनिक भएपछि सैनामैना नगरपालिका ४ सिसौडाँडास्थित उनको घरमा बधाई दिन आफन्त र शुभेच्छुकको लर्को लाग्न थालेको छ। उनी पढेको सुनगाभा पब्लिक उच्चमाविले उनले चार जीपीए ल्याएको खुसीयालीमा र्‍याली निकालेर सैनामैनाको मुर्गियानगर परिक्रमासमेत गरायो।

उनको मार्मिक जीवनकथा थाहा पाएका गाउँलेले यो सफलताको खुसीयालीमा नाचगान र भोजभतेर गरे। समीक्षाका हजुरबुबा रुक्मागत सुवेदीका अनुसार १७ वर्षअघि जेठ १९ गते अर्घाखाँचीको डाँडाकटेरीमा भएको बस दुर्घटनामा उनकी आमा गीता सुवेदीको निधन भएको थियो।

६ महिनाकी काखे समीक्षालाई लिएर माइतीबाट घर फर्कंदा गीता चढेको बस दुर्घटनामा परेको थियो। बस पल्टिएपछि गीताले ६ महिनाकी समीक्षालाई झ्यालबाट बाहिर फ्यालिदिएकी थिइन्। दुर्घटनामै गीताको ज्यान गएको थियो।

 

झाडीमा खसेकी समीक्षाका दुवै खुट्टा भाँचिए पनि उपचारपछि उनी ठीक भइन्। त्यसपछि उनलाई हजुरबुबा र हजुरआमाले स्याहारसुसार गरे। आमाको दूधबाट वञ्चित समीक्षालाई हजुरबुबा र हजुरआमाले गाईभैंसीको दूध खुवाएर हुर्काए। 

१७ वर्षअघि जेठ १९ गते अर्घाखाँचीको डाँडाकटेरीमा भएको बस दुर्घटनामा उनकी आमा गीता सुवेदीको निधन भएको थियो।

गीताको दुर्घटनामा निधन भएपछि बाबु तेजप्रसादले केही समयमै अर्को बिहे गरे। कान्छीआमाबाट जन्मेका समीक्षाका भाइ आशीषले पनि यही वर्षको एसएलसी परीक्षामा जीपीए ३.८५ ल्याएका छन्।

समीक्षालाई स्कुल पढ्न सजिलो थिएन। घरको आर्थिक अवस्था नाजुक थियो। बुबाको सानो व्यापारमात्र थियो। हजुरबुबा रुक्मागतले नातिनी समीक्षाका लागि भगवान् शिवको आराधना गर्न थाले। उनी हरेक दिन नातिनीले राम्रो पढून् भनेर प्रार्थना गर्थे। समीक्षालाई पनि राम्रो पढ्न प्रेरणा दिइरहन्थे।

विद्यालय सुरु गरेदेखि नै समीक्षा कक्षामा कहिल्यै दोस्रा भइनन्। हजुरबुबा हरेक दिन शिवपूजनपछि नातिनीलाई आशीर्वाद दिँदै भन्थे, 'तिमीलाई धर्तीमा कसैले जित्न नसकोस्।' नभन्दै समीक्षाले जीवनको पहिलो उल्लेख्य सफलता हातपारेकी छन्।

आफ्नो विद्यालयमा एक कक्षादेखि नै अध्ययन गरेकी समीक्षा अरू विद्यार्थीभन्दा फरक स्वभावकी रहेको सुनगाभा पब्लिक उच्चमाविका प्रधानाध्यापक तिलक केसीले बताए। विद्यालयमा हुने अन्य गतिविधिमा भन्दा पनि उनी अध्ययनमा बढी लगनशील हुने गरेको केसीको अनुभव छ।

'ससाना विषयमा उनी कुनै कम्प्लेन गर्दैनथिन्। सहनशील स्वभावकी थिइन्। सबै विषयमा उत्तिकै रुचि राख्थिन्', उनले भने, 'समीक्षाको नतिजा दुर्लभ हो। हाम्रो स्कुलले अब्बल विद्यार्थी पाएको छ।'

समीक्षाको घरको आर्थिक अवस्था अहिले पनि सामान्य छ। महँगो शुल्क तिरेर उनलाई चिकित्सक बनाउने आर्थिक हैसियत परिवारसँग छैन। बुबा तेजप्रसाद कुखुरापालन गरेर परिवारको जीविकोपार्जन गर्छन्।

रूपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाका अनुसार जिल्लाबाट एसएलसीमा जीपीए ४ ल्याउने समीक्षा एक्ली विद्यार्थी हुन्। उनले देशभरिमै अहिलेसम्म ४ जीपीए ल्याउने अर्को विद्यार्थी भएको थाहा नपाएको बताए। 'सरकारी अभिलेखमा पनि अरूको यस्तो अंक नदेखिएकाले समीक्षाले नै सर्वोत्कृष्ट अंक ल्याएको हुनुपर्छ', थापाले अन्नपूर्णसँग भने।

यो पनि पढ्नुस्

रुपन्देहीको सुनगाभाकी समीक्षा एसएलसी टपर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.