बस र टिप्पर ठोक्किँदा २१ जना घाइते
जनकपुरधामः धनुषामा बस र टिप्पर एक आपसमा ठोक्किँदा २१ जनाभन्दा बढी घाइते भएका छन्।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना४ख७१९४ नम्बरको दाइभाइ ट्राभल्सको बस र जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ ख ९७०३ नम्बरको टिप्पर आइतबार दिउँसो धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ रमदैयामा ठोक्किएर दुर्घटना भएको हो।
घाइतेहरुको जनकपुर अञ्चल अस्पताल, रमदैयास्थित जानकी मेडिकल अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई धरान रेफर गरिएको छ।
घट्नामा घाइते भई जनकपुर अञ्चल अस्पतालमा उपचार गराउनेहरुमा जनकपुर उपमहानगरपालिका-६ की शिवानी राय, धनुषा फुलगामा-४ बस्ने बिलट महतो र उनकी श्रीमती सोहागिन देवी, महोत्तरी सुन्दरपुर-४ की जमिला खातुन, हलिमा खातुन, सविला खातुन र सैदुल खातुन लगायत छन्।
बसका चालक र सहचालकसमेत घाइते भएको र अन्य यात्रुको अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक लक्ष्मण सिंह ठकुरीले जानकारी दिएका छन्।