अब बाख्रा पाल्न आउँदैनन् डम्बरबहादुर

अब बाख्रा पाल्न आउँदैनन् डम्बरबहादुर

कोलोनी, नुवाकोटः नुवाकोटको कल्याणपुरका डम्बरबहादुर तामाङ परिवारलाई सुखसँग पाल्न मुस्लिम समुदायको बसोवास रहेको देशमा साहसिकरुपमा काम गर्दै आएका थिए ।

लामो समय मुस्लिम देशमा सेवा गरेपछि घर परिवारको सल्लाहमा अबको दुई महिनामा उनले घर फर्कने योजना बनाएका थिए ।

अफगानिस्तानको काबुलमा सोमवार बिहान तालिवानको बम आक्रमणमा परी कल्याणपुर गाविस–२, आमथाङका ४५ वर्षीय डम्बरबहादुरसँगै नुवाकोटका तीनजनाले ज्यान गुमाए । यो घटनामा नुवाकोटका अर्का युवा पनि घाइते भए ।

नेपाल प्रहरीका पूर्व सिपाही डम्वरबहादुर पाँच वर्षदेखि अफगानिस्तानको काबुलस्ति क्यानाडेली दूतावासमा सुरक्षागार्डकारुपमा कार्यरत थिए ।

आइतवार विहान १० बजेमात्र पत्नी शान्तिकुमारीसँग इन्टरनेटमा कुरा गरेका डम्बरबहादुरले लामो समय विदेशीको सेवा गरेको बताउँदै भदौमा गाउँ फर्किएर बाख्रा पाल्ने योजना सुनाएका थिए ।

आइतबारमात्रै बाख्रा पाल्ने गरी घर आउने कुरा सुनाएका उनी त्यसको २४ घन्टा नबित्दै तालिवानको आततायी नजरमा परे । पतिको कुरा सुनेर पुलकित ४० वर्षीया शान्तिको खुशी २० घण्टा पनि टिक्न पाएन ।

सोमवार बिहान ७ बजे आफन्तले अफगानिस्तानको काबुलमा आक्रमण भएकाले पतिको अवस्थाबारे बुझ भनेका थिए । उनले तत्काल पतिलाई टेलिफोन गरिन् तर सम्पर्क हुन सकेन । त्यसपछि उनले काबुलमै रहेका नन्देभाइ कमानसिं तामाङललगायतलाई बुझ्न लगाइन् ।

एक घण्टासमेत नबित्दै पति र उनका साथीहरु बम आक्रमणमा मारिएको उनले वास्तविकता थाहा पाइन् । १३ वर्ष प्रहरीमा कार्यरत डम्बरबहादुर २०५८ सालमा तत्कालीन नेकपा माओवादीको द्वन्द्वका कारण जागिर छाडी विदेशिएका थिए ।

मेहनती स्वभाव भएका डम्वरबहादुर प्रहरीको जागिर छाडेपछि मलेसिया हानिए । उनले त्यहाँ दुई वषर्, इराकमा एक वर्ष र कतारमा तीन वर्ष सुरक्षागार्डको काम गरेको पत्नी शान्तिकुमारीले मंगलवार घरमा पुगेका पत्रकारसँग रुँदै बताइन् ।

त्यहाँ काम गर्दा कमाएको पैसाले उनले जन्मथलो भन्दा २० किलोमिटर पूर्वमा रहेको विदुर नगरपालिका–९ कोलनीमा घडेरी खरिद गरे । त्यसपछि घडेरीमा घर बनाउने उच्च अभिलाशाका साथ पाँच वर्षअघि साथीहरुको सहयोगमा साढे दुई लाख रुपैयाँ खर्चेर उनी अफगानिस्तानको काबुल छिरे ।

साब्री सुरक्षा कम्पनीमा कार्यरत डम्वरबहादुरको तलब९५ हजार रुपैयाँ रहेको परिवारले बताएका छन् । उनका आमा, पत्नी, दुई छोरी र एक छोरा छन् । बम आक्रमणमा परी डम्वरबहादुर मारिएपछि आमा ६८ वर्षीया ठूलीमाया तामाङको आँखा ओभाएको छैन । पत्नी शान्तिकुमारी बेलाबेलामा मुर्छित भइरहन्छिन् ।

जेठी छोरी २३ वर्षीया दुर्गाको बिहे भइसकेको छ । बाबु नरहेको खबरपछि उनी र उनका पति प्रकाश सोमवार बेलुकी नै माइती पुगेका छन् । कान्छी छोरी २१ वर्षीया लेनिसा र एक मात्र छोरा १८ वर्षीय सागर तामाङ परिवारको साहरा नै गुमेपछि आफ्नो पढाईको निरन्तरताको चिन्तामा डुबेका छन् ।

डम्बरबहादुरका ज्वाइँ प्रकाश कामकै सिलसिलामा आक्रमणमार मारिएका कारण कम्पनीले क्षतिपूर्ति दिनुपर्ने बताए ।

गत २०७२ चैत २० गते छुट्टीमा आएर वैशाख १७ गते काबुल फर्केका डम्वरबहादुरको पत्नी शान्तिसँग इन्टरनेट र टेलिफोनमा दिनहुँजसो कुराकानी हुन्थ्यो । बचेको रकमले बाख्रा पालेर छोराछोरीलाई उच्च शिक्षा पढाउने योजनाका साथ भदौ अन्तिम साता नेपाल फर्कने बताएका उनको स्वर अब शान्तिले कहिल्यै सुन्न पाउने छैनन् ।

डम्वरबहादुरसँगै काबुलमा रहेका ५० युवाहरु एकैपटक गत चैतमा गाउँ आएर फर्केका थिए । खाडी मुलुकमा मेहनत गरेर डम्बरबहादुरले हालसम्म ६० लाख रुपैयाँ कमाएको छिमेकीहरु बताउँछन् ।

पतिको मृत्युको खबरले भक्कानिँदै शान्ति ओछ्यान परेकी छिन् भने छोरीहरु दुर्गा, लेनिसा र छोरा सागर टोलाइरहेका छन् । उनीहरुका लागि लागेको छ–घटना झुट ठहर भइदिए नि हुने थियो ।

डम्वरबहादुरसँगै नुवाकोटकै कल्याणपुर गाविस–१ ढाँडेका ४५ वर्षीय मधुसुदन कोइरालाको पनि काबुलमै बम विस्फोटमा मारिएका छन् । उनका परिवारसमेत विक्षिप्त भएका छन् ।

एकै गाविसका दुईजनाको बम विस्फोटमा मारिएपछि कल्याणपुर गाविस शोकमा डुबेको छ । उता, काबुलमा बम विस्फोटमा परी नुवाकोटकै किम्ताङ गाविस–४ माथ्लोगाउँका ४५ वर्षीय लिलाबहादुर गुरुङको समेत निधन भएको छ ।

लिलाबहादुरको निधनले तामाङवस्ती किम्ताङगाउँसमेत शोकमा डुबेको छ । पूर्वभारतीय सेना गुरुङ पाँच वर्षदेखि अफगानिस्तानमा सुरक्षागार्डका रुपमा कार्यरत रहेको उनका नातेदार लालबहादुर तामाङले बताए ।

विदेशी भूमिमा कमाएको रकमले लिलाबहादुरले विदुर नगरपालिका–८ राइसिंमा घरघडेरी जोडेका थिए । उनको परिवार त्यहीँ बस्दै आएको छ ।

लिलाबहादुरको निधनको घटनाले उनको पुख्र्यौली घर किम्ताङ र राइसिंमा आफन्त तथा सर्वसाधारणको उपस्थिति बाक्लो छ । सोही घटनामा बर्सुन्चेत गाविसका च्वाङ्वा तामाङ घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.