रोनाल्डो र लेवान्डोस्कीको भिडन्त

रोनाल्डो र लेवान्डोस्कीको भिडन्त

एजेन्सीः युरोकपमा ऐतिहासिक यात्रा तय गरिरहेको पोल्यान्डले शुक्रबार बिहान हुने क्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्न सके अर्को कोसेढुंगा पार गर्नेछ ।

दुवै टोलीको विशेषता भनेको दुवैलाई एउटा स्टार स्ट्राइकरको साथ छ । तर पोर्चुगिज टोलीलाई विश्व फुटबलमा नाम चलेका अन्य केही खेलाडीको पनि साथ छ । पोल्यान्डमा भने रोबर्ट लेवान्डोस्कीबाहेक अन्य खेलाडी त्यति चर्चित छैनन् ।

युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका लेवान्डोस्की पोल्यान्डलाई ऐतिहासिक सफलता दिलाउने प्रयासमा छन् । तीन पटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि उपाधि जित्न सकेका छैनन् ।

लेवान्डोस्की र रोनाल्डो दुवै राष्ट्रिय टोलीका कप्तान हुन् । लेवान्डोस्की युरोकप छनोटमा १३ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए । रोनाल्डोले यो सिजन आफ्नो क्लब रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन्स लिगको उपाधि पनि जिताएका थिए ।

त्यसैले यी दुई टोलीबीचको भिडन्तलाई उदाउँदो शक्ति र संघर्ष गरिरहेको शक्तिबीचको लडाइँका रूपमा हेरिएको छ, जहाँ दुवै टोली एकएकजना स्टार खेलाडीको साथमा अगाडि बढ्दैछन् ।

पोल्यान्डले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहे पनि लेवान्डोस्कीले लय समाउन सकेका छैनन् । उनको नाममा एउटा पनि गोल छैन । तर पोल्यान्डको टिम गेम राम्रो छ । समूहगत चरणमा विश्व च्याम्पियन जर्मनीसँग बराबरी खेलेको पोल्यान्डले अन्य दुई खेलमा जित हात पारेको थियो ।

पोल्यान्डले प्रिक्वार्टरफाइनलमा सशक्त प्रदर्शन गरिरहेको स्विट्जरल्यान्डलाई टाइब्रेकरमा हराएको थियो । सन् २००८ मा पहिलोपटक युरोकप खेलेको पोल्यान्डले यसअघिका संस्करणमा समूहगत चरण पार गर्न सकेको थिएन । पोर्चुगलको यात्रा पोल्यान्डको भन्दा बढी संघर्षपूर्ण रहेको छ ।

समूहगत चरणमा तीनवटै खेल बराबरी खेलेको पोर्चुगलले नकआउट चरणमा बलियो टोली क्रोएसियालाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो । समूहगत चरणको अन्तिम खेलमा हंगेरीविरुद्ध ३–३ गोलको बराबरी खेलेपछि पोर्चुगलले अघिल्लो चरणको यात्रा तय गरेको थियो । समूहगत चरणको आफ्नो अन्तिम खेलमा तीनपटक पछि परेको पोर्चुगलका लागि रोनाल्डोले दुई गोल गरेका थिए ।


रोनाल्डोको प्रदर्शन क्रमशः प्रभावशाली बन्दै गएको छ । नकआउट चरणमा प्राप्त जितमा पनि रोनाल्डोले नै मुभ बनाएका थिए । त्यैपनि रोनाल्डोले आफूस्तरको प्रदर्शन भने गर्न सकेका छैनन् । क्रोएसियाविरुद्ध उनले निर्धारित ९० मिनेट समयमा एउटा पनि गतिलो आक्रमण गर्न सकेनन् ।

अनुभवी विंगर रिकार्डो क्वारेस्मा र १८ वर्षीय स्ट्राइकर रेनाटो सान्तोष यतिबेला पोर्चुगल टोलीको आकर्षण बन्दैछन् । क्रोएसियाविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका सान्चेज प्लेयर अफ दि म्याच घोषित भएका थिए । क्वारेस्मालाई पनि दोस्रो हाफमा मैदान छिराइएको थियो ।

पोल्यान्डले जारी प्रतियोगितामा चार खेल खेल्ने क्रममा केवल तीन गोल गरेको छ । फियोरेन्टिनाका मिडफिल्डर ज्याकुब ब्लाजिकोस्कीले दुई गोल गरेका छन् ।

आयाक्सका स्ट्राइकर अर्काडियुज मिलिचले पनि एक गोल गरेका छन् । ३० अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरिसकेका मिलिच र ८३ अन्तर्राष्ट्रिय खेलमा १८ गोल गरेका ब्लाजिकोस्की लयमा छन् । पोल्यान्डको रक्षापंक्ति बलियो छ ।

पोर्चुगलले सन् १९९६ यताका हरेक युरोकप संस्करणमा कम्तीमा क्वार्टरफाइनल यात्रा तय गरेको छ । यसक्रममा उसले एकपटक फाइनल, दुईपटक सेमिफाइनल र तीनपटक क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।

सन् १९८४ को संस्करणमा पनि सेमिफाइनलसम्म पुगेको पोर्चुगललाई पुनः यो प्रतियोगितामा सहभागिता जनाउन १२ वर्ष लागेको थियो । पछिल्लो तथ्यलाई हेर्ने हो भने पोर्चुगल सन् २०१२ को युरोकपमा पनि सेमिफाइनलसम्म पुगेको थियो ।

पोर्चुगल र पोल्यान्डबीच विगतमा भएको भिडन्तलाई हेर्ने हो भने लगभग दुवैको स्थिति एउटै छ । हालसम्म यी दुई टोलीबीच भएका १० भिडन्तमा पोर्चुगलले चार जित र पोल्यान्डले तीन जितको नतिजा निकालेका छन् । तीन खेल भने बराबरीमा सकिएका छन् ।

यी दुई टोलीबीच भएका पछिल्ला दुई भिडन्तको नतिजा बराबरीमा टुंगिएको थियो । चार वर्षपछि यी दुई टोली आमनेसामने हुन लागेका हुन् ।

पोल्यान्डका समर्थकले पनि आफ्ना प्रभावशाली खेलाडी लेवान्डोस्कीबाट निकै आशा गरेका छन् । सन् २०१२-१३ को युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रोनाल्डोको क्लब रियल म्याड्रिडलाई ४–१ गोलले हराउँदा बोरुसिया डर्टमन्डका स्ट्राइकर लेवान्डोस्की एक्लैले चार गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.