काभ्रेमा बढ्यो अलैंची आकर्षण
बनेपा: खेर गइरहेको चिसो खोल्सा, भीरपाखा र ओसिलो जमिनबाट कम लगानी र थोरै मेहनतमा लाखौं रुपैयाँ आम्दानी हुने भएपछि पछिल्लो समय काभ्रेका किसान अलैंची खेतीप्रति आकर्षित भएका छन्।
अन्य नगदेबाली र खाद्यान्न बालीको तुलनामा कम लागत र बढी मुनाफा हुने भएकाले किसानले व्यावसायिक रूपमा अलैंची खेती गर्न थालेका छन्।
बारीमा मकै, कोदो, फापरको उत्पादन राम्रो नभएपछि व्यावसायिक रूपमा अलैंची खेती गर्दै आएका र्याले गाविसका उपेन्द्र तिमल्सिनाले खाद्यान्न बाली र अन्य नगदेबाली छोडेर अलैंची खेती थालेको बताए।
'खेतबारीमा जति मेहनत गरे पनि कोदो मकैको उत्पादनले लगानी पनि उठाउन हम्मेहम्मे परेकाले अलैंची लगाएँ। एकपटकको लगानीले बारम्बार मुनाफा गर्न पाइन्छ।' कालो सुन भनेर चिनिने अलैंचीको उत्पादन राम्रो र मूल्य पनि गतिलै पाएपछि यस वर्ष खेती विस्तार गर्ने तिमल्सिनाले सुनाए।
उनले आफैंले बनाएको नर्सरीबाट वार्षिक एक लाख ५० हजार बिरुवा उत्पादन गर्छन्। उत्पादित बिरुवा काभ्रे, रामेछाप, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, गोरखालगायतका जिल्लामा आपूर्ति गर्ने गरेको उनले बताए।
यो वर्ष किसानले दुई हजार रुपैयाँ किलोमा अलैंची बिक्री गरेका छन्। यस वर्ष सुख्खाले उत्पादनमा गिरावट आए पनि मूल्य राम्रो पाएको किसानले बताए। अलैंची खेती गर्दै आएका कुशादेवी गाविस-८ का लोकप्रसाद आचार्य पनि अलैंची खेतीबाट राम्रो आम्दानी हुने गरेको बताउँछन्।
'अलैंचीको बजार राम्रो छ। उत्पादन गर्न सके अन्य नगदेबालीभन्दा राम्रो आम्दानी गर्न सकिन्छ', उनले भने। मेहनत र समय कम लाग्ने र अलैंची खेतीसँगै अन्य व्यवसाय पनि गर्न मिल्ने भएकाले अलैंची खेती गर्न थालेको उनले बताए।
कम लागत र बढी मुनाफा हुने भएकाले जिल्लामा पछिल्लो समय अलैंची खेतीप्रति किसान आकर्षित भएको कृषि कार्यालय धुलिखेलका कृषि अधिकृत थर्क जीसीले बताए। 'खेर गएको भीरपाखा, ओसिलो जमिन, सीम क्षेत्रमा यसको खेती गर्न सकिने भएकाले खेर गइरहेको जमिनबाट उत्पादन लिन किसानले अलैंची खेती थाले', उनले भने, 'अलैंचीको माग स्वदेशमा र विदेशमा पनि बढेको छ।
यहाँको अलैंची छिमेकी मुलुक भारत, बंगलादेश र चीनमा समेत निर्यात हुन्छ तर जिल्लामा मागअनुसार उत्पादन गर्न सकिएको छैन।' थापाका अनुसारको यस वर्षमात्र ६० हजार बिरुवा किसानलाई वितरण गरिरएको छ।
कार्यालयको तथ्यांकअनुसार २०७०/७१ मा ६० मेट्रिक टन अलैंची उत्पादन भएकोमा २०७१/७२ मा ७० मेट्रिक टन र २०७२/÷७३ मा ८५ मेट्रिक टन पुगेको छ। यो वर्ष अलैंचीबाट जिल्लामा २२ करोड रुपैयाँ भित्रिएको जीसीले जानकारी दिए।
जिल्लाका कुशादेवी, र्याले र भूमिडाँडा गाविसलाई अलैंची उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको छ भने पछिल्लो समय सिपाली चिलाउने, घर्तिछाप, चौवास, नयाँगाउँका किसानसमेत अलैंची खेतीतर्फ आकार्षत हुन थालेका छन्।
अलैंची औषधि, मसला र कस्मेटिक सामान बनाउन प्रयोग हुने भएकाले यसको माग दिनप्रतिदिन बढ्दै गएको जिल्ला कृषि कार्यालयले जनाएको छ।
यो वर्ष किसानले दुई हजार रुपैयाँ किलोमा अलैंची बिक्री गरेका छन्। यस वर्ष सुख्खाले उत्पादनमा गिरावट आए पनि मूल्य राम्रो पाएको किसानले बताए।