भारतीय सेनाको विमान आठ दिनदेखि कता हरायो ?
एजेन्सीः भारतीय वायुसेनाको एक मालवाहक विमान एएन–३२ हराएको आठदिनसम्म समेत भेटिएको छैन । विमान किन भेटिएन भन्ने विषयमा बहस हुँदै आएको भए पनि विमान रहस्यमय ढंगले हराएको छ ।
अघिल्लो शुक्रबार हराएको विमानमा चालकदलका सदस्यसहित २९ जना सवार थिए । उक्त विमान आठ दिन अघि शुक्रबार बिहान साढे आठ बजे चेन्नाईबाट पोर्ट ब्लेयरका लागि उडेको थियो । ११ः३० बजेसम्म विमान सम्पर्कमै थियो । तर, त्यसपछि भने विमान बेपत्ता छ ।
एक सातादेखि भारतले सम्पूर्ण शक्ति लगाएर विमान खोजीकार्य जारी राखेको भए पनि विमानको अत्तोपत्तो छैन् । भारतले विमान समुन्द्रमा खसेको हुन सक्ने अनुमान गर्दै खोजी कार्य जारी राखेको छ । समुन्द्रमा खसेको अपुष्ट खबर आए पनि विमानको कुनै अत्तोपत्तो छैन ।
खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । कतिपयले भने विमान धेरै पुरानो भएकाले दुर्घटनामा परेको अनुमान गरेका छन् । बेपत्ता विमान २६ वर्ष पुरानो हो । पुरानो भएकाले दुर्घटना भएको हुनसक्ने आशंका अनुभवी पाइलटहरुले गरेका छन् ।
भारतले विमान खोज्न आकाश, जमिन र पानीमा थुप्रै अभियान चलाए पनि सफल हुन सकेन । अनुसन्धानकर्ताले विमान समुद्रमा कतै फसेको हुनसक्ने अनुमान गरेका छन् । एकसातासम्मको प्रयास असफल भए पनि भारतले खोजी कार्यलाई भने निरन्तरता दिएको बताएको छ ।