किरातीमाथि त्यो ज्यादती
पश्चिमतिर दूधकोसी र पूर्वतिर अरुण नदी बगेको । उत्तरतिर हिमालले छेकेको र दक्षिणतिर भावर क्षेत्र । यो कठिन खालको भौगोलिक क्षेत्रमा किरात खम्बु (राई) हरूले प्रमुख रूपमा आवाद गरेकोले यस क्षेत्रलाई 'माझ किरात' भनिँदै आएको छ । यो क्षेत्र नेपाल राज्यमा गाभिनुअघि यहाँ राजा सेनहरू भएका र उनीहरूले राजधानी चौदण्डीमा राजधानी स्थापना गरेर राज्य गरे तापनि खासगरी माथिल्लो पहाडी भागमा प्रमुख आवाद गरिबसेका किरात खम्बु (राई) हरूकै शासन र प्रशासनमा हैकम थियो ।
पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानका क्रममा माझ किरातमा निक्कै ठूलो युद्ध भयो । गोर्खाली फौज र किरात खम्बु (राई) फौजबीचको घमासान युद्धमा निक्कै ठूलो मानवीय क्षति पनि यस राज्यले भोग्नु पर्यो । पृथ्वीनारायण शाहले यो राज्य हात पार्न प्रशस्त गोलाबारुद र बन्दुकजस्ता हातहतियार मात्रै होइन, कूटनीतिक हतियार पनि प्रयोग गरे ।
राजधानी चौदण्डी
माझ किरातको ऐतिहासिक प्रसंगमा राजधानी चौदण्डी र सेन राजाहरूको विषयमा उल्लेख हुनु जरुरी छ । यस सम्बन्धमा साफल्य अमात्यले 'प्राचीन नेपाल'को संख्या ४९–५२ (पुस २०३५– साउन २०३६:१५–१८) मा विभिन्न १३ वटा सन्दर्भ स्रोतलाई उद्धृत गर्दै सेनहरूद्वारा चौदण्डी राज्य स्थापनाबारे लेखेको इतिहासको संक्षेप यस्तो छः
सेनराज्यका संस्थापक मुकुन्द सेन (प्रथम) को वि.सं. १६१० मा मृत्यु भएपछि उनका चार छोरा माणिक्य सेन, भृगी सेन, विनायक सेन र लोहाङ सेनले बाँडिचँडी राज्य लिए । कान्छा लोहाङ सेनको भागमा मकवानपुरदेखि पूर्वी तराईसहित पूर्व कोसी क्षेत्र पर्यो ।
लोहाङ सेनपछि उनका छोरा राघव सेन मोरङ र छिमेकी राज्यको राजा भए । उनीपछि उनका छोरा हरिहर सेन राजा भए । उनका छोराहरूबीच राज्यका विषयलाई लिएर झगडा भयो । जेठा छोरा महाकुमार सेनसँग झगडा भएपछि हरिहर सेनले आफ्नो राज्यमध्ये कोसीदेखि पश्चिम शुभ सेनलाई र कोसीपूर्व इन्दु विधाता सेनलाई बाँडिदिए ।
गोरखाली फौज र किरात खम्बु (राई) फौजबीचको घमासान युद्धमा निक्कै ठूलो मानवीय क्षति पनि यस राज्यले भोग्न पर्यो । पृथ्वीनारायण शाहले यो राज्य हात पार्न प्रशस्त गोलाबारुद र बन्दुकजस्ता हातहतियारमात्रै होइन, कूटनीतिक हतियार पनि प्रयोग गरे ।
आफ्ना मन्त्रीहरूकै छलकपटमा परेका शुभ सेन र इन्दुविधाता सेन दुवैलाई पूर्णियाका नवाव इस्कन्दर खाँले कैद गरे । ती नवावले मोरङको ठूलो भाग कब्जामा लिए । शुभ सेनका नायब प्रवोध दास शुभ सेनका दुई छोरा महिपति (मान्धाता) र मानिक सेनलाई लिई किरात प्रदेशमा शरण लिन पुगे । किराती नेता विद्याचन्द्र रायको मद्दतबाट उनीहरूले पैतृक सम्पति फिर्ता पाए ।
शुभ सेनका दुई छोराबीच राज्य बाँडिदा मकवानपुर राज्य अन्तरगत नै पहाडतिर सिन्धुलीको पौवागढीदेखि पूर्व अरुण कोसीसम्म रहेका सुनकोसीदेखि दक्षिणसम्मको माझ किरातलाई पनि चौदण्डी प्रदेश बनाइयो । दूधकोसीदेखि अरुण कोसीसम्मको माझ किरात पनि चौदण्डीमै सम्मिलित थियो ।
हालको उदयपुरदेखि दक्षिणतिरको भावरमा नयाँ राजधानी चौदण्डी बनेको थियो । शुभ सेनका दुई छोरामध्ये जेठा महिपति सेनले कमलादेखि पूर्व विजयपुरतिर वि.सं. १७७० मा कब्जा गरे । कान्छा मानिकले मकवानपुरमा राज्य स्थापना गरे । मानिकका चार छोरामध्ये जेठा हेमकर्ण सेन मकवानपुरका राजा भए ।
माइला जगत सेन वि.सं. १७८४ मा चौदण्डीका राजा भए । हेमकर्णको प्रतिनिधिका रूपमा जगत सेनले प्रशासन चलाइरहेका बेला बानियाँ मन्त्री र किरात मन्त्रीबीच मत नमिल्दा किराती मन्त्रीहरूले जगत सेनलाई चौदण्डीका राजा बनाए । उनीपछि उनका उत्तराधिकारीहरू मुकुन्द सेन (तेस्रा) र कर्ण सेन चौदण्डीका राजा भए ।
अमात्यले लोहाङ सेनले राज्य पूर्वतिर फैलेको जुन तथ्य उल्लेख गरेका छन्, त्यसमा फेदापका किरात नेता बाजहाङको सहयोग रहेको थियो । मोरङका राजा विजयनारायण रायले आफ्ना चौतारिया मुरेहाङलाई मृत्युदण्ड दिएपछि त्यसको बदला लिन उनका छोरा बाजहाङले मकवानपुर पुगी लोहाङ सेनलाई विजयनारायणविरुद्ध लड्न सहयोग मागे ।
लोहाङ सेन र बाजहाङको सेनाले मोरङमा आक्रमण गर्यो । लडाइँमा यी दुईका जित भयो तर बाजहाङ युद्धमा मारिए । लोहाङ सेनको पूर्वी साँध गिद्धे पहाड पुगेपछि उनी विजयपुरतिर लाग्दै गर्दा राजा विजयनारायणको देहान्त भएको हुँदा विजयपुर स्वतः लोहाङ सेनको हातमा परेको इमानसिंह चेम्जोङद्वारा लिखित 'किरातकालीन विजयपुरको संक्षिप्त इतिहास' (२०५९:२०–२२) मा उल्लेख छ ।
अमात्यले माथि भनेजस्तै सहज रूपमा शुभ सेनले राज्य पाएका थिएनन् । उनले सिमान्त राज्यसँग सहयोग मागी आफ्ना राज्य क्षेत्र बढाएका थिए । हरिहर सेनका छोराहरूबीच राज्यको विषयलाई लिएर कचिंगल सुरु भएपछि चतुरा शुभ सेनले पाटनका राजा श्रीनिवास मल्लसँग सैन्य सहयोग मागे ।
कान्तिपुर, पाटन, भादगाउँ र तनहुँसमेतको सैन्य सहयोगले शुभ सेनले विजयपुर राज्यभित्र पर्ने दूधकोसीको किल्लामा आक्रमण गरे । त्यसपछि रावादेखि दूधकोसीसम्मका सात गाउँ मकवानपुर राज्यमा मिलाइएको थियो । यसबापत शुभ सेनले सहयोग गर्ने राजाहरूलाई हात्ती उपहार दिएको ज्ञानमणि नेपालद्वारा लिखित 'नेपाल निरूपण' (२०५५:२९०–२९१)मा उल्लेख छ ।
यसरी सेनहरूले चौदण्डीमा रहेर शासन गरे तापनि चौदण्डीलाई राजधानी मान्दै माझकिरातको पहाडी क्षेत्रमा रहेर शासन, प्रशासन चलाउने चाहिँ किराती खम्बु (राई) नै थिए ।
माझकिरात मास्नेहरू
भेदनीतिमा पृथ्वीनारायण शाह कुशल थिए । ज्ञानमणि नेपालको 'नेपाल निरूपण' (२०५५:२९६) अनुसार माझ किरातभित्रकै खार्पाका पोखरेल त्रिलोचन र हरिनन्द, वैडवाका अर्जेल विरेश्वर र चौदण्डीकै चौतारिया स्वरूपसिंह कार्की तथा मकवानपुरका दीनानाथ उपाध्याय भित्रभित्रै पृथ्वीनारायण शाहसँग मिलेका थिए । उनीहरूमध्ये खार्पाका त्रिलोचन र हरिनन्दहरूले कोसीबाट तर्ने माझीको बन्दोबस्त मिलाई सरदार रामकृष्ण कुँवर र अमरसिंह थापालाई दूधकोसी तारी माझ किरातको मध्यपहाडी भागमा चढाई गर्न सहयोग गरे ।
तीमध्ये खार्पाका त्रिलोचन पोखरेलले माझकिरातका किपटिया राई र कतिपय बिर्तावाल पनि पृथ्वीनारायणसँग मिल्न आउँछन् भन्ने खबर र यो राज्य नेपालमा मिलाउनुपर्छ भनी माझ किरात चौदण्डी राज्यको माटाको डल्लोसमेत लिई पृथ्वीनारायण शाहलाई भेट्न नुवाकोट दरबार पुगे ।
उनले 'भारा फौज खटाई बक्सनु भया नौ लाख किरातका मुलुक मधेस पहाड हात गरी ढोका छिराउला' भन्ने अर्जी गरे । पृथ्वीनारायणले पनि प्रसन्नता व्यक्त गर्दै 'माझ किरातबाट राज्यलक्ष्मी मकहाँ आइन्' भनी आफ्नी बडामहारानीलाई सो माटोको डल्लो पूजा गर्न भण्डारमा राख्न दिएको इतिहासकार नेपालले 'नेपाल निरूपण' (२०५५:२९७) मा उल्लेख गरेका छन् ।
पृथ्वीनारायण शाहले नजिकी बाङ्गे बस्न्यातलाई माझकिरातमा रहेका ब्राह्मण क्षेत्रीलाई आफ्ना पक्षमा मिलाउने तजबिज गरिरहेका थिए भनी बाबुराम आचार्यले 'पूर्णिमा' पूर्णाङ्क ५० (भदौ २०३८:२१) मा उल्लेख गरेका छन् ।
गोरखा–माझ किरात युद्ध
गोरखाली सेनाहरू बढ्दै आइरहेका, हिजोसम्म आफूसँगै रहेका खार्पाका पोखरेल र वैडवाका अर्जेलहरू आफूविरुद्ध लागिरहेका र आफ्नै चौतारिया स्वरूपसिंह कार्की पनि गोरखालीहरूतिर सम्मिलित भइसकेको अवस्था थियो ।
इतिहास शिरोमणि बाबुराम आचार्यअनुसार रामकृष्ण कुँवरको नेतृत्वमा पृथ्वीनारायण शाहले अमरसिंह थापालाई नायब गराई ६ सय जति तालिमी र दुई हजार बेतालिमी सैन्य माझ किरातमा आक्रमण गर्न खटाएका थिए । खम्बु युवाहरू छाँटिएर युद्धमा आएका थिए ।
उनीहरू विषमा चोबेर बाँण हान्थे । हलेसी, रावा आदि ठाउँमा लडाइँ चल्यो । तर गोरखालीहरू बन्दुक चलाउँथे । यस्तो अवस्थामा खम्बुहरूलाई टिक्न गाह्रो भयो । वि.सं. १८२९ भदौ–असोजमा माझ किरात छिचोली रामकृष्ण कुँवर दिङ्ला पुगे । यी खम्बु योद्धाहरू पछिसम्म पनि गोर्खाली सैन्यउपर छापा मार्दै रहे ।
खम्बु योद्धाहरूलाई पृथ्वीनारायण शाहविरुद्ध लड्न जयप्रकाश मल्लको आह्वानमा चौदण्डीका राजा कर्ण सेनले वि.सं. १८२५ को माघमा भक्तपुरको युद्धमा पठाएका पनि 'पूर्णिमा' पूर्णांक ५० (भदौ, २०३८:१७) पढ्न पाइन्छ ।
बाबुराम आचार्यले 'पूर्णिमा' पूर्णांक २७ (असोज २०२९:१६७)मा प्रकाशित 'गोरखा विजयकालका घटना'मा उल्लेख गरेअनुसार १८२९ भदौ १३ गते गोर्खाली सेना दूधकोसी तरेको र असोज महिनामा दिङ्ला पुगेको हो । यस्तै गोर्खाली सेनाले वि.सं. १८३० साउन ४ गते चौदण्डी कब्जा गरेको हो ।
माझ किरातमा भएको युद्ध निक्कै डरलाग्दो थियो । यो युद्धमा एक हजार खम्बु मारिए । चार सय नदीमा हेलिए । १४ सय जना महिला र बालबालिकालाई पक्राउ गरियो । यस युद्धका बारेमा पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई लेखेको पत्र योगी नरहरिनाथद्वारा सम्पादित 'इतिहास प्रकाशमा सन्धिपत्र संग्रह'मा (२०२२:६) मा प्रकाशित गरिएको छ । वि.सं. १८३० मा माझकिरातको युद्ध जितेपछि लेखिएको व्यहोरा यस्तोः
(...आशीर्वाद शिर चढाई कन किरात को किरातका काज गर्या थ्यौँ. आफ्ना आशीर्वादले अरुण साँध लाग्यो. हजार बैरी काटियो. सये चार बैरि नदीमहा बगी मर्यो. सय चौध जहान बच्चा पकडिया. वल्लोकिरात फत्ते भयो. किरात फत्ते भयाको पगडी एक चढाई पठायाको पहुचला.)
यस पत्रमा उल्लेख भएको 'सय चौध जहान बच्चा पकडिया'को अर्थ १४ सय महिला र बालबालिकालाई पक्राउ गरिएको भन्ने अर्थ सजिलै बुझिन्छ । ती महिला र बालबालिकालाई पक्राउ गरेपछि के गरियो होला त ? जिज्ञासा उत्पन्न हुन्छ । यसबारे हज्जन पेपरमा डरलाग्दो तथ्य उल्लेख गरिएको छ ।
हज्जन पेपरको भोल्युम ८५ पृष्ठ १३१ र १३२ मा माझ किरातको युद्धबारे उल्लेख छ । कमल तिगेला, भरत तुङ्घङ् र भैरव आङ्लाद्वारा हज्सन पेपर अनुवाद गरिएको पुस्तक 'लिम्बु गोर्खा युद्ध' (२०६९:२०–२१)मा माझ किरातको युद्धबारे यस्तो वर्णन छः
(बाहुन क्षेत्रीका राजा निस्किए पछिको लेखेँ है । पश्चिमबाट आयो । नेपालमा नेवार मसायो । त्यसपछि तामाकोसी देखियो । खम्बुवानमा वालिङहाङ उलिहाङ बस्थे । गोरखासँग युद्ध लडे । दुई वर्ष लडाइँ लडे । गोरखाले धेरै मानिस मारिदियो । अरुणतिर पुलुङहाङ यत्हाङ याक्थुङ्वा जैकरना, चातुर पद्र बस्दथे ।
त्यहाँ वालिङहाङले गुहार मागे पनि गुहार सघाएनन् । दुई वर्ष पुग्दा खम्बुवान सिध्यायो । गोरखाले । दुई वर्ष लडाइँ लड्दा ससाना बालबालिकालाई ओख्लिमा हाली कुटेर मारे । गर्भवतीहरू छुट्याए । छोरा पेटमा भएकालाई डल्लै निकालेर मारे । गोरखाले यस्तै गर्यो । त्यसबेला वालिङहाङ खम्बु कोसी पारि सुकनाक्रा भागेर बसे । अगमसिंह चौतारा । त्यसपछि गोरखाका सेना खम्बुवान मासेर अरुणमा देखा परे ।)
हज्जन पेपरको यो बयानअनुसार पक्राउ परेका ती महिला र बालबालिकालाई गोरखालीहरूले निक्कै कठोर व्यवहार गरे । ससाना बालबालिकालाई ओख्लिमा हाली कुटेर मारेको, गर्भवतीहरू छुट्याएको र छोरा पेटमा भएकालाई डल्लै निकालेर मारेको प्रसंगले आङ जिरिङ्ग गराउँछ ।
यो युद्धका समयमा पृथ्वीनारायण शाहले आफ्ना पक्षका सेना नायकहरूलाई प्रोत्साहन गरेको र उनीहरूलाई युद्ध सामग्री पठाएको विषय खुल्ने पत्रहरू 'रेग्मी रिसर्च सेरिज'को वर्ष ४ अंक ५ (मे, सन् १९७२:९४–९५)मा प्रकाशित गरिएको छ । यी पत्रहरू बाबुराम आचार्यले संकलन गरी 'पुरुषार्थ' (माघ, २००६:५२–५३) मा प्रकाशित गरेको र रेग्मी रिसर्च प्रालिले त्यसलाई उद्धृत गरेको हो ।
यी पत्रमा किरात हान्न गएका रामकृष्ण कुँवरलाई आश्विन वदी ५ बुधबार लेखेको पत्रको भाका यस्तो छ :
(जब कीर्तिपुरमा कालु पाँडे मारिए, म दुःखी भएँ । मलाई नेपालको तीन सहर जित्न सक्दिनँ कि भन्ने भएको थियो । तब तिम्रो बुद्धिमानी र तरबारले त्यो काम फत्ते भयो । यस उपलब्धिका लागि तिमीलाई बक्सिस दिन चाहन्छु । तिमीलाई सिम्बु (स्वयम्भू) क्षेत्रका साथै धुलिखेल क्षेत्रमा जागिर दिएको छु । दर सन्तानले उपभोग गर । तिम्रो भाइ तिमालमा मारिएकोमा धेरै दुःख लागेको छ । अब किरात जित्न तिम्रै भर परेको छु ।)
यसरी पृथ्वीनारायण शाहले आफ्ना नायकहरूलाई प्रोत्साहित गर्दै गए । रामकृष्ण कुँवरलाई नै फागुन बदी ९ मा लेखेको पत्रमा किरातको लडाईमा चार पाँच सय बैरी मरेकामा आफूलाई धेरै खुसी लागेको उल्लेख गर्दै पृथ्वीनारायण शाहले रामकृष्णलाई सरदारमध्ये मुख्य पद दिँदै प्रोत्साहनका लागि २२ जोर लुगा र २५ थान बन्दुक पठाएको उल्लेख छ ।
यस्तै माझ किरातकै युद्धमा लडिरहेका अमरसिंह थापालाई माघ वदी ५ आइतबार लेखेको पत्रअनुसार त्यतिखेरसम्म गोरखाली सेना मझुवा, कुलुङ, महादिङ्ला र पौवामा पुगेर किरातीहरूको ठूलो क्षति गरिसकेको खुल्छ । सो पत्रमा २१ पाथी बारुद, पाँच हजार गोली पठाएको र अब फेरि २० पाथी बारुद, ६ हजार पाँच सय २५ गोली, सात सय ५० धाउ र नौ सय पत्थर पठाउनेसमेत उल्लेख भएकोले परम्परागत हतियारको भरमा लड्ने खम्बु किरातविरुद्ध ठूलो मात्रामा बन्दुक र गोलाबारुद प्रयोग गरिएको थियो भन्ने स्पष्ट हुन्छ ।
माझ किरात मास्नेलाई बक्सिस
माझ किरात मास्नका लागि विभिन्न जालसाजी गर्नेहरूले पृथ्वीनारायण शाहबाट ठूलै बक्सिस पाए । माझ किरातका भूतपूर्व चौतारिया स्वरूपसिंह कार्कीले सुरुमा पृथ्वीनारायण शाहबाट युवराज प्रतापसिंह शाहसँग रहने कम्पनीको सरदार पाएको बाबुराम आचार्यको 'संक्षिप्त नेपाल वृत्तान्त' (२०२२:७०–७६) लाई उद्धृत गर्दै रेग्मी रिसर्च सेरिजको वर्ष ६ अंक २ (फेब्रुअरी सन् १९७४:३२) मा उल्लेख गरिएको छ ।
पृथ्वीनारायण शाह वि.सं. १८३१ माघ १ गते परलोक भएपछि आफू राजा घोषित हुनासाथ प्रतापसिंह शाहले बज्रनाथ पण्डितलाई मुख्तियार बनाए भने स्वरूपसिंहलाई काजी गराई प्रधानसेनापति बनाएको पूर्णिमा, पूर्णाङ्क ५१ (चैत्र २०३८:२) मा बाबुराम आचार्यले उल्लेख गरेका छन् ।
यस्तै माझ किरातकै राज पुरोहित हरिनन्द उपाध्ययको पुरेत्याई साबिकबमोजिम थामिएको 'नेपाल निरूपण' (२०५५:२९७) मा उल्लेख छ ।
माझ किरात गोरखाली राज्यमा गाभ्न भूमिका निर्वाह गर्ने मकवानपुरका दीनानाथ उपाध्ययले पृथ्वीनारायण शाहको पालादेखि नै कलकत्ताको लागि राजदूत (वकिल) पाएको पूर्णिमा, पूर्णाङ्क १९ (कात्तिक, मंसिर, पुस २०२५:२०१)बाट स्पष्ट हुन्छ ।
यसरी पृथ्वीनारायण शाहको बन्दुक र गोलाबारुद तथा कूटनीतिक हतियारबाट माझ किरात गोरखा राज्यमा गाभिन पुग्यो ।
प्रतिक्रिया दिनुहोस !