चैतमा स्थानीय निकाय चुनावः सरकार

चैतमा स्थानीय निकाय चुनावः सरकार

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले जसरी पनि चैतमा स्थानीय निकाय निर्वाचन गराइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनका नेताहरूले भने आफ्ना माग सम्बोधन नभएसम्म स्थानीय निकाय निर्वाचन हुन नदिने अडान दोहो¥याएका छन् ।

सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको सत्ता पक्ष, प्रतिपक्ष र मधेसी मोर्चाका नेताहरूको संयुक्त बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार स्थानीय निकायको निर्वाचन नगराउन अग्रसर हुँदै गएको आरोप लगाए । जबाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘सरकार जसरी पनि निर्वाचन गराइछाड्ने तयारीसाथ अगाडि बढेको छ ।’

दाहालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारप्रति लक्षित गर्दै भने, ‘अरू चुनाव नगर्न गर्ने भन्थे । हामी सबैलाई विश्वासमा लिएर चुनाव गर्नुपर्छ भनेर लागिरहेका छौं ।’ स्थानीय निकाय पुनर्संरचना आयोगको स्थानीय तहको सुझाव संकलन गर्ने म्याद मंगलबार सकिएको छ । म्याद थपबारे समझदारी बनाउन प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका थिए ।

‘जुन आधारमा तपाईंहरूले स्थानीय निकायको संरचना गर्न खोज्दै हुनुहुन्छ त्यो गलत छ, त्यसलाई हामी मान्दैनां संविधान सर्वस्वीकार्य बनाउनुस्,’ मधेसी नेताहरूले भने ।

प्रधानमन्त्री दाहालले भने, ‘संविधानमा सर्वस्वीकार्य बढाउने भनेकै संविधान कार्यान्वयन हो । तपार्इंहरूसँग भएको तीनबुँदे सहमति कार्यान्वयन हुन्छ, शंका गर्नै पर्दैन ।’ दुईपक्षीय, बहुपक्षीय र सर्वपक्षीय छलफल गरेर स्थानीय निकाय पुनर्संरचनामा समान धारणा बनाएर स्थानीय निकायको निर्वाचन गराइने प्रतिबद्धता प्रधानमन्त्री दाहालले व्यक्त गरेका थिए ।

 

०७४ माघ ७ गतेभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन गराउनुपर्ने संवैधानिक प्रावधान छ । कांग्रेस र माओवादीले चैतभित्र स्थानीय निर्वाचन गराउने समझदारी बनाएका छन् ।

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकाय पुनर्संरचनाका लागि थप गम्भीर छलफल आवश्यक हुने बताए । ‘दुईतीनवटा गाविस जोड्ने कुरा ठिकै हो । आयोगले ल्याएको प्रस्तावमाथि अहिले छलफल गरेर सकिन्न’, पौडेलले भनेका थिए । स्थानीय निकाय पुनर्संरचनासम्बन्धी छलफलका लागि बोलाइएको बैठकमा मधेसी नेताहरू पहिलोपटक सहभागी भएका हुन् । आयोगको प्रस्ताव अस्वीकार गर्दै मधेसी नेताहरूले आयोगको गृहकार्य रोक्नुपर्ने माग गरेका थिए ।

स्थानीय तहको सुझाव लिने म्याद थप १५ दिन थप्ने राजनीतिक समझदारी बनेको छ ।

मल्लका अनुसार बैठकपछि आयोगले स्थानीय तहको सुझाव लिने म्याद थप १५ दिन थप्ने राजनीतिक समझदारी बनेको छ । आयोगको म्याद थपेर थप गृहकार्य गर्ने समझदारी बनेको प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए ।

बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेल र संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आयोगको प्रगतिका बारेमा जानकारी गराएका थिए । ‘त्यसपछि दलका नेताहरूले आआफ्ना तर्क राखेर बैठक सकियो’, बैठकमा सहभागी मधेसी नेता केशव झाले अन्नपूर्णसँग भने ।

आयोगले बनाएको स्थानीय निकाय पुनर्संरचनाको मापदण्डमा गाउँपालिकाका लागि हिमाली क्षेत्रमा १७ हजार, पहाडमा २५ हजार र तराईमा ५० हजार जनसंख्या हुनुपर्ने प्रस्ताव ल्याएको छ ।

नगरपालिकाका लागि हिमालमा २० हजार, पहाडमा ३५ हजार र तराईमा ७५ हजार जनसंख्या हुनुपर्ने मापदण्ड आयोगले बनाएको छ । काठमाडौं उपत्यकामा ९५ हजार जनसंख्या हुनुपर्ने र पहाडी जिल्लाका सदरमुकामका नगरपालिकाका लागि ४५ हजार र तराई तथा भित्री मधेसका जिल्ला सदरमुकामका नगरपालिकाका लागि ९५ हजार जनसंख्या हुनुपर्ने आयोगको मापदण्डमा उल्लेख छ ।

सो मापदण्डका आधारमा आयोगले मुलुकभर पाँच सय ६५ स्थानीय निकाय (गाउँपालिका र नगरपालिका) प्रस्ताव गरेको हो । आयोगले सार्वजनिक गरेको मापदण्डका आधारमा हिमालमा एक सय, पहाडमा दुई सय ७७ र तराईमा एक सय ८८ स्थानीय निकाय हुनेछन् । ५८ नगरपालिकालाई बढाएर दुई सय १७ र तीन हजार नौ सय १५ गाविसलाई घटाएर तीन हजार एक सय ५७ वटा बनाएको दुई वर्ष पनि पूरा भएको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.