पशुपतिनाथको आम्दानीले तलबभत्ता नै पुग्दैन

पशुपतिनाथको आम्दानीले तलबभत्ता नै पुग्दैन

काठमाडौं: पशुपतिनाथ मन्दिरका मूलभट्ट, भट्ट, भण्डारी र रैरकमीको तलब, भत्ता र खर्च गत वर्ष आम्दानीभन्दा बढी भएको छ । पशुपतिनाथ, वासुकीनाथ, मूल मन्दिरपरिसरको हुन्डी, हनुमान र नारायण मन्दिर, नवग्रह, जुत्ताचप्पल (स्वेच्छिक दान) र अन्य गरी वर्षभरि भएको आम्दानीभन्दा झन्डै तीन करोड रुपैयाँ बढी तलबभत्ता र सुविधामै खर्च भएको हो ।

गत आर्थिक वर्षमा चार करोड सात लाख ९३ हजार पाँच सय ४६ रुपैयाँ आम्दानी भएको छ भने सात करोड ४५ लाख ७७ हजार नौ सय चार रुपैयाँ खर्च भएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिरको भेटीघाटी पारदर्शी गरी मन्दिरको आयव्यय चुस्त र दुरुस्त बनाउँदै बचेको रकम जीर्णोद्धार, पुनर्निर्माणलगायत काममा खर्च गर्ने लक्ष्य राखी मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८ सोही वर्ष मन्त्रिपरिषद्ले पास गरेपछि चैत आठ गतेदेखि लागू भएको थियो । कोष कर्मचारी संगठन नेपालका पूर्वअध्यक्षसमेत रहेका कोषको आर्थिक प्रशासन शाखाका लेखापाल सूर्यबहादुर भाटले मन्दिरको वार्षिक कुल आम्दानीभन्दा खर्च बढी भएको बताए ।

उनले भने, ‘बर्सेनि करोडौं घाटा सहेर कोषले कसरी जीर्णोद्धार, पुनर्निर्माण अनि धार्मिक एवं सामाजिक काम गर्न सक्छ ? आम्दानीभन्दा खर्च बढी हुने अवस्थालाई विचार नगर्ने हो भने र यही गतिमा खर्च बढ्दै जाने हो भने कोष कहाँ पुग्ला ? ’

पशुपतिनाथ मन्दिरबाट तीन करोड १४ लाख ५९ हजार पाँच सय ७२ रुपैयाँ, वासुकीनाथ मन्दिरबाट १३ लाख ८० हजार दुई सय ८८ रुपैयाँ, मन्दिर परिसरमा रहेको हुन्डीबाट ३३ लाख ५४ हजार तीन सय ५९ रुपैयाँ, हनुमान र नारायण मन्दिरबाट २२ लाख २० हजार आठ सय ३१ रुपैयाँ, नवग्रहबाट चार लाख ९३ हजार छ सय ४३ रुपैयाँ, जुत्ताचप्पल (स्वेच्छा दान) बाट ७ लाख ७० हजार सात सय ४१ रुपैयाँ र अन्यबाट ११ लाख १४ हजार एक सय १२ रुपैयाँ आम्दानी भएको थियो ।

शाखाका लेखापाल सूर्यबहादुर भाटका अनुसार मूलभट्ट, भट्टलगायतको तलबमा दुई करोड १७ लाख ३१ हजार छ सय ४६ रुपैयाँ र दैनिक पूजा भत्तामा ८१ लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो । यसअतिरिक्त कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, समायोजन भत्ता सुविधा, महँगी भत्ता, अतिथि सत्कार, पर्वपूजा भत्ता, टेलिफोन, निवृत्तिभरण सेवा, परिवहन भत्ता, शैक्षिक वृत्ति, ओभरटाइमलगायत शीर्षकमा अन्य रकम खर्च भएको छ । ओभरटाइममा मात्र गत वर्ष २४ लाख १७ हजार पाँच सय ५३ रुपैयाँ खर्च भएको छ ।

यसैगरी नित्य पूजामा ४० लाख ७६ हजार छ सय २९ र विशेष पूजामा दुई करोड ३४ लाख ५० हजार तीन सय ५८ रुपैयाँ गत वर्ष खर्च भएको हो । मन्दिर तथा पूजा व्यवस्था नियमावलीको परिच्छेद ७ को भेटी, दान र दक्षिणासम्बन्धी व्यवस्थामा खर्च कटाई बाँकी रहेको रकम मन्दिरको जीर्णोद्धार, पुनर्निर्माण तथा धार्मिक एवं सामाजिक कार्यमा खर्च गर्ने उल्लेख छ । गत आर्थिक वर्षमा विशेष पूजाबाट पाँच करोड ३८ लाख ३७ हजार तीन सय ९४ रुपैयाँ संकलन भएको थियो ।

मूलभट्ट र भट्टलाई विशेष पूजा गरेबापत माथिको तलब, भत्ता र सुविधाबाहेक कोषले संकलित रकमको १८ प्रतिशत छुट्टै दिने गरेको छ । यसबाहेक मूलभट्ट र भट्टका परिवारलाई भारतको बैंगलोरस्थित घर जान बर्सेनि हवाईटिकटसहितको खर्च र उनीहरूका दुईदुई सन्तानलाई २२ वर्षको उमेरसम्म मासिक १०–१० हजार रुपैयाँ शैक्षिक वृत्ति दिइन्छ ।

'यति सेवासुविधा कोषले दिएकै थियो तर अझै कम भयो भनेर मूलभट्टले बैठकमै सेवासुविधा थप्न माग गरे', कोषका एक कर्मचारीले भने, 'त्यसपछि साउन चार गते कोषको सञ्चालक परिषद्का कोषाध्यक्ष तारानाथ सुवेदीको संयोजकत्वमा संस्कृति मन्त्रालयका कानुन हेर्ने सहसचिव आलोकचन्द्र श्रेष्ठ र संस्कृति महाशाखा हेर्ने प्रमुख भरतमणि सुवेदी सदस्यसचिव रहने गरी मूलभट्ट र भट्टहरूको तलब, भत्ता र सुविधा पुनरावलोकन समिति गठन भएको छ ।'

कोषका कोषाध्यक्ष एवं समितिका संयोजक सुवेदीले अब अझै तलब, भत्ता र सुविधा बढाउन सम्भव नभएको बताए । उनले अन्नपूर्णसँग भने, 'बैठकमै माग भएकाले मूलभट्ट र भट्टहरू सबैसँग बसेर मागका बारेमा छलफल गर्नेछौं । नियमावली लागू भएयताकै सबै आयव्यय पारदर्शी गर्नुपर्ने माग भएको छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.