अनशनः शक्ति, अस्त्र कि आत्महत्या प्रयास
काठमाडौं: अनशन, उपवास, भोकहट्ताल वा व्रत परम्परागतरुपमा आत्मसुद्धिका लागि गरिने वा हुने गरेका प्रमाणहरु विभिन्न समाजका अध्ययनले देखाएपनि अहिलेको सन्दर्भमा आखिर यो शक्ति संचय, मागप्रतिको अस्त्र वा आत्महत्याको प्रयास भन्ने प्रश्न उठ्न थालेका छन् ।
अनशनलाई सार्वजनिक या वृहतर हितका लागि एउटा अस्त्रका रुपमा आफ्नो जीवनमा सर्वप्रथम महात्मा गान्धीले सन् १९३६ मा 'टेक्सटाइल मजदुर' का मागका समर्थनमा प्रयोग गरेयता उनले पटकपटक त्यो शैलीलाई अपनाई राखे भारतीय स्वतन्त्रता संग्रामका क्रममा ।
त्यसअघि उनकै मुलुकमा दुई जना स्वतन्त्र सेनानी भगतसिंह र जतीनदाश अनशनको प्रभाविकारित भन्दा हिंसाको शैली प्रभावकारी हुने निस्कर्षमा पुगे ।
त्यसपछि गान्धी भन्दा फरक मत राख्दै गान्धीको प्रथम प्रयोगको ८० वर्षपछि भारतकै उत्तरपूर्वी राज्य मणीपुरमा इरोम शर्मिला आफनै हिसावले अनशन बसिन तर राज्य र समाजले गान्धीका विभिन्न अनशनप्रति जुन समर्थन या आदर देखाएको थियो, त्यो शर्मिलाको १६ वर्ष लामो अनशनमा देखिएन । उनीमाथी राज्यले आत्महत्याको प्रयास गरेको भन्दै मुद्दा समेत हाल्यो ।
भारतमा प्रयोग गरिएको यो शैलीको अनुशरण र प्रयोगकर्ता विश्वका विभिन्न मुलुकमा फेला परेका छन् । र, बढेका पनि छन् । तर विभिन्न अनशनप्रति राज्य र समाजको प्रतिक्रिया भने फरकफरक छन् ।
नेपालमै पहिलो पटक नभए पनि प्राध्यापक डा. गोविन्द केसीले विगत चार वर्षमा स्वास्थ्य शिक्षा क्षेत्रको स्वस्छता, पारदर्शीता र गुणस्तरीयताका लागि ८ पटक अनशनमा बसेर किर्तिमान नै स्थापित गरेका छन् । यद्धपी त्यसको अपेक्षित परिणाम देखिएको छैन । तर उनको शैलीप्रति मेडिकल कम्युनिटीनै विभाजित छ ।
बीपी कोइराला सार्वजनिक उद्देश्यका लागि अर्थात जेलमा रहेका विराटनगर जुटमिलका मजदुरहरुको सुविधा बढाउन सन् १९४७ मा २९ दिन अनशनमा होमिएका थिए । राणाशासनमा उनको माग पुरा भएपछि अनशनले सरकार र समाजमा वैधानिकता हासिल गरेको थियो नेपालमा र त्यो अस्त्र खास गरी राजनीतिक अधिकारका लागि प्रयोग हुँदै आएका छन् ।
पञ्चायतकालमा पटकपटक प्रधानमन्त्रीको पद सम्महालेका शुर्यबहादुर थापाले राजनीतिक उद्धारिकरणका लागि जेलबाटै १९ दिन अनशन गरी उदारवादी पञ्चको टोपी लगाउन सफल भएका थिए ।
२०१७ सालमा बीपी कोइराला मन्त्रीपरिषद र संसद विघटनका साथै सत्ता हातमा लिने राजा महेन्द्रको योजनामा उनी सहभागी र सहयोगी बनेका थिए । प्राप्त रकर्डअनुसार सन् १९२९ मा भारतीय स्वन्त्रता सेनानीद्धय भगत सिहं र जतीनदाशले ११६ दिनसम्म अनशन बसेर तोडे ।
तर उनीहरुको अनशन भारतलाई बेलायतको उपनिवेशबाट मुक्त गराउन थियो नकी कुनै चर्चा पाउन । सन् १९५२ मा भाषाका आधारमा राज्य माग गर्दै अनशनमा होमिएको ५८ औं दिनमा भारतकै पोट्टी श्रीराममुलले ज्यान गुमाएका थिए ।
मृत्यु भएपछि उनलाई अमरजीवी उपाधि दिइएको थियो । सन् १९८१ मा उत्तरी आयरल्याण्डलाई बेलायतबाट स्वतन्त्रताको माग गर्दै आइरिस रिपब्लिकन आर्मी (आईआरए) का ववी स्यान्ड्स लगायत सात जनाले अनशनकै क्रममा ज्यान गुमाए । तिनीहरुको अनशनको अवधि ४६ देखि ७३ दिनको रह्यो ।
तर किन राज्य र समाजको प्रतिक्रिया फरक फरक देखिरहेका छन् त यस्ता अनशनबारे ? के खान्छन त उनीहरु त्यो विचमा ? या केही पनि पिउँदैनन वा खादैनन ? अनि भोकलाई सामना गर्ने वा खप्ने क्षमता अलग अलग हुन्छ हरेक व्यक्तिमा ? उनीहरुको शारीरिक पद्धतीमा एउटा निश्चित अवधिपछि प्रतिकुल प्रभाव शुरु हुन थाल्छ ? उनीहरुको रोग प्रतिरोधात्मक क्षमताले पनि त्यसलाई प्रभावित गर्छ कि ? यी विभिन्न प्रश्नहरु अनशनका बिचमै उव्जिने गरेका छन्, सर्वत्र र नेपालमा पनि ।
चिकित्सकका अनुसार अनशन सुरु गरेको दुई वा तीन दिन सम्म शरीरलाई त्यति असर पर्दैन । यो अवधिसम्म शरीरमा संचित ग्लुकोज र बोसो लगायत चिल्लो पदार्थबाट शक्ति उत्पन्न हुन्छ । एउटा व्यक्ति एक हप्तासम्म पानी नपिएर बाँच्न सक्छ । दुईसातासम्म खाना नखाएर पनि बाँच्न सक्छ । तर त्यसपछि कुनै न कुनै उपाय अपनाउनै पर्छ ।
यो बेलामा ती उपायको खोजी गरिएन भने जीवन जोखिममा पर्छ । मानिसले केही समय खाना नखादा शरीर मांसपेशी र हड्डी लगायतका कारण केही समय थेगिन्छ । त्यहाँ संचित चिलो पदार्थ लगायतबाट शरीर थेगिने गरेको चिकित्सक बताउँछन् । त्यसपछि भने कुनै बेला अनशनकर्ताको ज्यान जान सक्छ ।
वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. मनेन गोरखालीका अनुसार खाना बिना बचाउन दुईसातापछि मुस्किल पर्छ र उनीहरुलाई बचाउन पोषकतत्व कुनै न कुनै माध्यमबाट दिने गरिन्छ । छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनशनमै ज्यान गुमाई नेपालमा रेकर्ड कायम गरेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीलाई बीर अस्पतालले ज्यादै मंहगो मानिएको पोषणयुक्तखाना खाना दिएर बचाउने कोशिस गरेको थियो ।
चिकित्सकले अधिकारीलाई टोटल प्यारेन्टल न्युट्रेसन (टिपिएन) खाना नसाबाट दिने गरेका थिए । तर ३ सय ३६ दिनमा ती सबैले पनि उनलाई बचाउन सकेन । नन्दप्रसादकी पत्नी गंगामायालाई बचाउन अहिले पनि बीचबीचमा त्यही पोषणयुक्त खाना दिने गरिएको छ ।
हेर्दा थोरै र औषधि जस्तो देखिने भएपनि टिपिएनमा अत्यन्तै शक्ति हुने र त्यसले दैनिक खाने खानालाई ठूलो मात्रामा पूर्ति गर्ने हुँदा अनशकर्ताहरु त्यो खाएर लामोसमय बाँच्ने गरेको चिकित्सकको अनुभव छ । मंहगो भएकालेनै बेलाबेलामा अस्पतालले गंगामायालाई टिपिएनको सट्टा ग्लुकोज र प्रोटिन विभिन्न माध्यमबाट दिने गरेको थियो ।
अनशनकारीले मुखबाट पिउन नमानेपनि सलाइनबाट पानी दिने गरिन्छ । र उनीहरुको स्वास्थ्य नखस्कियोस भनेर अनेक किसिमका औषधिहरु पनि सुईबाट दिने गरिन्छ । वास्तवमा केही अनशनकारीले बाहिर केही नखाएको भन्दै अनशन गरेको बताएपनि उनीहरुको जीवन बचाउन यस्तै विभिन्न उपाय अपनाउने गरिएको छ । र, उनीहरु लुकेर त खाँदैनन भन्ने आरोप यदाकदा सुन्न थालिएको छ ।
भारतको उत्तराखण्डमा बन तथा प्रकृति संवद्र्धनकालागि सन् १९७० देखि चल्दै आएको चिप्को आन्दोलनका नाइके सुन्दरलाल बहुगुणा पटक पटक अनशन बसेका छन् धेरै लामो अवधि सम्म । उनका आलोचकहरु उनीमाथि कुनै गोप्य जडीबुटीको प्रयोग गर्ने गरेको आरोप लगाउँछन् । त्यो क्षेत्रका व्यक्तिहरुले रुख काट्न प्रयत्न कसैले गर्दा त्यसलाई अंगालो मारी या रुखसँग टाँसिएर रुख बचाउने अभियानमा लागेकाले त्यो आन्दोलन चिप्को आन्दोलनको रुपमा स्थापित भयो ।
बहुगुणामाथी त्यस्तो अरोप लागे पनि कसैले उनले कुन 'जडीबुटी' खाने गरेका छन् त, त्यो भन्न सकेको छैन ।
पूर्व पत्रकार समेत रहेकी इरोम शर्मिलाले १६ बर्षसम्म अनसन बस्दा कसरी आफ्नो शरीरलाई बचाएर राखिन त ? १६ वर्षको अनशन तोड्दा ४३ वर्षमा टेकेकी छन उनी । तर त्यो बिचमा असमान्य तरिकाले र सामान्य उमेर पूर्व नै (मेनोपोज) महिनावारी रोकिदा धेरै खालका शारीरिक समस्या समेत भोगिन उनले ।
उनलाई स्वास्थ्यकै कारण प्रहरी हिरासतबाट अस्पतालमै राखियो । उनलाई नाकबाट ट्यूबको माध्यमबाट पोषणयुक्त खाना दिने गरिएको थियो । धेरै समय बच्चालाई खुवाउने खानेकुरा र दाल पनि खुवाइयो । पछि उनले बताए अनुसार पाइपबाट उनलाई तातो अण्डाको सुप, दाल र अन्य झोलिलो पदार्थ समेत जर्बजस्ती खुवाइन्थ्यो । सरकारले उनलाई आत्महत्याको प्रयास गरेको आरोपमा समेत मुद्धा चलाएको छ ।
अनशन तोड्दा शर्मिलाले मणिपुरमा सेनालाई दिएको असाधारण अधिकारसम्बन्धी कानुन फिर्ता लिनुपर्ने लगायतका मागहरु कार्यान्वन गर्न अव राजनीतिकरुपमा उठ्ने र त्यहाँको मुख्यमन्त्री बन्ने सपना सार्वजनिक गरेकी छन् ।
यो अनशनबारे फरक किसिमको व्यवहार र प्रयोग हो । नेपालमा नन्दप्रसाद अधिकारीको अनशन तोड्न सर्वोच्च अदालतले आदेश दिए पनि सरकारले उनलाई आग्रह गर्यो । जर्वजस्ती गरेन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा भन्छन् ' समाज परिवर्तन गर्न या कसैको हृदय परिवर्तन गर्न हिंशक आन्दोलन बढी प्रभावकारी हुन्छ, गाँन्धीले भनेजस्तै । आफैलाई वंचित या निषेध गरेर अनशनकर्ताले समाजको सहानुभूति हासिल गर्छन र त्यही उनको शक्ति बन्छ, जुन हिंसाको सहारा लिनेहरुका लगि हासिल हुँदैन । साथै अनशन लम्बिदै जाँदा त्यसले हरेक दिन जनमतको आकार वृद्धि गर्छ र त्यही अनुपातमा त्यो सरकार माथिको दवाव बन्दै जान्छ । '
झण्डै त्यस्तै विश्लेषण गर्छन समाजशास्त्री डा. हिक्मत विष्ट । उनका अनुसार सत्याग्रहको मर्म आन्दोलन आफ्ना लागि मात्र हैन, अरुका लागि हो र आफु मरे पनि एजेण्डा या मुद्धा जीवित रहन्छन भन्ने हुन्छ । तर सशस्त्र आन्दोलनमा तत्काल विजयको चाहना हुन्छ । विरोधी प्रति अविश्वास हुन्छ र मर्छु या मार्छु भन्ने चाहना पनि रहन्छ त्यसमा ।
'शान्तिपूर्ण आन्दोलने चेतनाको गहिरो तहमा प्रभाव पार्छ र आफु मरेपनि एजेण्डाले त्यतिकै गहिरो मान्यता हासिल गर्न सक्छ, अनि त्यसको प्रभाव दीगो हुन्छ समाजमा जुन सशस्त्र विद्रोहको हुँदैन', उनले भने । अनशनको उपादेयता र प्रभावबारे मत र मान्यता फरक देखिए पनि त्यसको प्रयोगमा कमी आएको छैन । तर अनशन र सत्याग्रह साँघुरो हितका लागि प्रयोग हुन थालेमा संभवत त्यसले आदर र स्वीकार्यता गुमाउने छ ।