प्रधानमन्त्रीको भारत भ्रमणअघि मोर्चा सरकारमा

प्रधानमन्त्रीको भारत भ्रमणअघि मोर्चा सरकारमा

काठमाडौंः  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भदौ मसान्तभित्र संविधान संशोधन विधेयक व्यवस्थापिका संसद्मा दर्ता गराउने आन्तरिक सहमति भएको छ । प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणअघि नै उक्त विधेयक संसद्मा दर्ता हुने जानकारी दाहाल निकट स्रोतले दिएको छ ।

स्रोतले भन्यो, ‘प्र्रधानमन्त्री दाहालको प्रस्तावित भारत भ्रमणअघि नै मधेसी मोर्चालाईसमेत सरकारमा संलग्न गराउने उद्देश्यका साथ गृहकार्य भइरहेको छ । यसका लागि प्रधानमन्त्री दाहालले भारतसँग अत्यन्त निकट सम्बन्ध रहेका तमलोपाका अध्यक्ष ठाकुरको सहयोग र सद्भाव खोजिरहेका छन् ।’

दाहाल र ठाकुरबीच सोमबार भएको भेटमा भदौ मसान्तभित्र संसद्मा संविधान संशोधन दोस्रो विधेयक दर्ता गराएर मोर्चा र सत्तारूढ दलबीच भएको तीनबुँदे सहमति कार्यान्वयन प्रधानमन्त्रीको भारत भ्रमणअघि नै गर्ने सहमति भएको दाबी स्रोतले गरेको छ । स्रोतका अनुसार केही दिनभित्र संविधान संशोधनका लागि सत्ता गठबन्धन र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संलग्न एउटा गृहकार्य टोली गठन हुने भएको छ ।’

साउन १९ गते बुधबार प्रधानमन्त्री पदमा दाहाललाई मतदान गर्नुअघि कांग्रेस, माओवादी केन्द्र र गठबन्धनमा आबद्ध शीर्ष नेताहरूबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि वातावरण सहज बनाउने उद्देश्यका साथ नेताद्वयबीच वार्ता भएको थियो । सहमतिको पहिलो बुँदामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले प्रस्तुत गरेका मागमध्ये संविधानसँग सम्बन्धित विषयमा सहमतिका आधारमा सरकारले संसद्मा संविधान संशोधनको विषयलाई आधिकारिकता दिएर वातावरण सहज बनाउन अनौपचारिक छलफल भएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षी दलसँगको गृहकार्यका सम्बन्धमा समेत वार्ता केन्द्रित रह्यो ।’

नेताद्वयबीच दाहाल प्रधानमन्त्री भएपछि चीन र भारतको सम्बन्धलाई महŒव दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराको चीन र उपपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको उपलब्धिका सम्बन्धमा पनि सामान्य चर्चा भएको थियो ।

प्रधानमन्त्री दाहालको प्रस्तावित भदौ अन्तिम साताको भारत भ्रमणअघि नै संसद्मा संविधान संशोधन विधेयक दर्ता गराउने र मोर्चाको प्रतिनिधित्व सरकारमा हुनुपर्ने विषयमा दाहाल र ठाकुरबीच सामान्य छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालसँगको छलफलबारे अन्नपूर्णसँगको कुराकानीमा ठाकुरले भने, ‘हामीबीचको वार्ता संविधानसँग सम्बन्धित विषयमा सहमतिका आधारमा सरकारले संसद्मा संविधान संशोधनको विषयलाई कसरी आधिकारिकता दिँदै वातावरण सहज बनाउने भन्ने विषयमा केन्द्रित रह्यो ।’ संशोधन विधेयक तयार गर्न केही दिनमा एउटा गृहकार्य समिति बन्ने उनले बताए ।

मोर्चाको शीर्ष बैठक बुधबार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले न्यायिक आयोग गठनसाथै सहिद, घाइते, राजनीतिक मुद्दा र अन्य विभिन्न विषयमा प्रस्ताव तयार पारेर शीर्ष बैठकमा पेस गर्ने सहमति कायम गरेको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा सोमबार बसेको मधेसी मोर्चाको केन्द्रीय सचिवालय बैठकले सरकार गठनका बेला भएको तीनबुँदे सहमतिको दोस्रो बुँदालाई बल पुग्ने गरेर प्रस्ताव तयार पार्ने सहमति गरेको जानकारी सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले दिए ।

‘तीनबुँदे सहमतिको दोस्रो बुँदामा भएको सहमतिलाई सहयोग पुग्ने गरेर प्रस्ताव तयार पार्ने सहमति भएको छ’, उनले भने । मोर्चामा रहेका दलहरूका तर्फबाट प्रस्ताव बनाई बुधबारको सचिवालय बैठकमा पेस गर्ने र सोही दिन तीन बजे बस्ने शीर्ष बैठकमा पेस गर्ने सहमति भएको जानकारी सुमनले दिए ।

सचिवालयले तयार पार्ने प्रस्तावमा शीर्ष बैठकमा छलफल हुने र त्यसपछि सरकारसँग मागका विषयमा छलफल अघि बढ्ने सुमनले बताए । सहिद घोषणामा केही नाम छुटेको भन्दै मधेसी मोर्चाले उनीहरूको नाम समावेश गर्न माग गर्दै आएको छ ।

राजनीतिक मुद्दा लागेकाहरूको मुद्दा फिर्ता, न्यायिक आयोग गठन, घाइतेको उपचार र क्षतिपूर्तिका विषयमा अझै धेरै काम हुन बाँकी रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.