रुग्ण उद्योगलाई पुनःसञ्चालन ल्याउने उद्योग मन्त्रीको प्रतिबद्धता
काठमाडौंं: उद्योग मन्त्री नवीन्द्रराज जोशीले रुग्ण उद्योगहरुको स्थलगत अध्ययन गरेर सुधार गर्ने बताएका छन्।
विहीबार व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा मन्त्री जोशीले रुग्ण उद्योगहरुलाई सुधार गरेर पुनःसञ्चालनमा ल्याउन सकिने भन्दै त्यसका लागि मन्त्रालयले आवश्यक कदम चाल्ने बताएका हुन्।
मन्त्री जोशीले औद्योगिकीकरण नै मुलुकको आर्थिक समृद्धिको बाटो रहेको बताउँदै उद्योग मन्त्रालयले त्यसका लागि क्रियाशिलता बढाउने स्पष्ट पारे। ‘उद्योग मन्त्रालयको जिम्मेवारी नै उद्योगधन्दाको विकास र विस्तारमार्फत आर्थिक समृद्धि हासिल गर्नु हो,’मन्त्री जोशीले भने। उनले औद्योगिक विकासका लागि अघिल्ला सरकारले गरेका सकरात्मक कामहरुले फेरि पनि निरन्तरता पाउने भन्दै संसदीय समितिसंग सहकार्य गरेरै मन्त्रालय अघि बढ्ने बताए।
बैठकमा सांसदहरुले राखेको जिज्ञासामा मन्त्री जोशीले उद्योग सम्बन्धी नियम कानुन आवश्यकता अनुसार परिमार्जन गरिने स्पष्ट पारे। ‘उद्योगसंग सम्बन्धित कानुन निर्माण, परिमार्जन र बाँझिएका कानुन सुधारका लागि सम्बन्धित मन्त्रालय र समितिसंग सहकार्य गरेर अघि बढ्छौं,’ मन्त्री जोशीले भने।
बैठकमा समितिका सभापति भीष्म आङदाम्बेले उद्योगको विकासका लागि मन्त्रालयले गर्ने हरेक कामकारबाहीमा समितिको सदैव सहयोग रहने बताएका थिए। उद्योग सचिव शङ्करप्रसाद कोइरालाले लगानीमैत्री वातावरण बनाएर औद्यौगिकीकरणमार्फत मुलुक समृद्धि बनाउने अभियानमा मन्त्रालयले लागेको बताउँदै परिवर्तन र सुशासनको अनुभूति गराउने गरी काम गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !