वैदेशिक व्यापार साढे ८ खर्बमा सीमित
काठमाडौं: गत आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले ह्रास आइ आठ खर्ब ५२ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ ।
कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८.३ प्रतिशत र ९१.७ प्रतिशत रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ। गत आवको तथ्याङ्कको विश्लेषणका आधारमा मुलुकको व्यापारघाटा निरन्तर रुपमा वृद्धि हुने क्रम जारी छ।
आर्थिक वर्ष २०७२/७३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापार घाटा १.७ प्रतिशतले वृद्धि भई नेपालको कुल व्यापार घाटा सात खर्ब १० अर्ब एक करोड रुपैयाँ पुगेको केन्द्रले जनाएको छ। केन्द्रले शुक्रवार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा कुल निकासीमा १७.९ प्रतिशतले ह्रास आइ ७१ अर्ब ६४ करोड तथा कुल पैठारीमा ०.४ प्रतिशतले ह्रास आइ सात खर्ब ७८ अर्ब १५ करोड रुपैयाँ पुगेको केन्द्रका निर्देशक सुयश खनालले जानकारी दिए।
केन्द्रका अनुसार आर्थिक २०७१/७२ अवधिमा निकासी– पैठारी व्यापारको अनुपात एक भागको ९.१ भाग भएकोमा आव २०७२/७३ मा निकासी–पैठारी व्यापारको अनुपात एक भागको ११ भाग रहेको छ। समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैँंचाको निर्यातमा १६ प्रतिशतले वृद्धि भर्ई आठ अर्ब ६ करोड, तयारी पोसाकको निर्यातमा ११.३ प्रतिशतले वृद्धि भर्ई पाँच अर्ब ८८ करोड र पस्मिना सलको निर्यातमा ९.१ प्रतिशतले वृद्धि भर्ई दुई अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।
फलाम तथा स्टिल र तिनका उत्पादनको निर्यातमा ५४.६ प्रतिशतले ह्रास आई रु चार अर्ब ६७ करोड, पोलिस्टर तथा अन्य धागोमा १९.४ प्रतिशतले ह्रास आइ पाँच अर्ब ३६ करोड पुगेको छ भने मुसुरोको दालमा २.६ प्रतिशतले वृद्धि भर्ई एक अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
सो अवधिमा ७३ करोडको छाला, चार अर्ब ६१ करोडको अलैँंची, दुई अर्ब ४० करोडको चिया, ६४ करोडको अदुवा, ६३ करोडको चाउचाउ, एक अर्ब २४ करोडको जडीबुटी, एक अर्ब दुई करोडको टुथपेष्ट, तीन अर्ब ३९ करोडको टेक्सटाइल, ७५ करोडको हस्तकलाका सामान, ६५ करोडको नेपाली हातेकागज, १३ करोड रुपैयाँको चाँदीका गरगहना निकासी भएको केन्द्रले जनाएको छ।
सो अवधिमा पैठारी भएका प्रमुख वस्तुमा अघिल्लो वर्षको तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादनमा १.९ प्रतिशतले ह्रास आई रु ७८ अर्ब २५ करोड, पेट्रोलियम पदार्थमा ३८.३ प्रतिशतले ह्रास आई ६९ अर्ब १९ करोडको आयात भएको छ। यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ३४.९ प्रतिशतले वृद्धि भई ६६ अर्ब ६३ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीमा ४.३ प्रतिशतले ह्रास आई ३४ अर्ब ५८ करोड, औषधिमा २२.९ प्रतिशतले वृद्धि भई २६ अर्ब ५३ करोड रुपैयाँको आयात भएको छ।
केन्द्रका अनुसार मेसिनरी तथा पार्ट्समा ११.९ प्रतिशतले वृद्धि भर्ई ५७ अर्ब ११ करोड, पोलिथिन ग्रेन्युल्समा १०.५ प्रतिशतले वृद्धि भई १५ अर्ब ८१ करोड र कच्चा पाम आयलमा ४२.५ प्रतिशतले ह्रास आर्ई दुई अर्ब ८५ करोड रुपैयाँ अर्ब आयात भएको छ।
दुरसञ्चारका सामग्रीमा २२.८ प्रतिशतले वृद्धि भई २३ अर्ब ७३ करोड, रसायनमा १२.९ प्रतिशतले वृद्धि भई नौ अर्ब ९९ करोडको आयात भएको केन्द्रले उल्लेख गरेको छ। यसैगरी समीक्षा अवधिमा १६ अर्ब आठ करोड बराबरको सुन, १५ अर्ब ९५ करोड बराबरको रासायनिक मल तथा नौ अर्ब ५३ करोड रुपैयाँ बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन्।
गत वर्ष नौ अर्ब ८४ करोडको समेन्ट क्लिङ्कर, १२ अर्ब ३६ करोडको कच्चा भटमासको तेल, २ अर्ब ८७ करोडको तयारी पोसाक, ३९ अर्बको ३४ करोडको अन्न र तीन अर्ब ८२ करोड रुपैयाँको ऊन आयात भएको छ। रासस
प्रतिक्रिया दिनुहोस !