पुनर्निर्माण इन्जिनियर काठमाडौंमा आन्दोलित

पुनर्निर्माण इन्जिनियर काठमाडौंमा आन्दोलित

काठमाडौः भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पुनर्निर्माणका लागि परिचालित दुई हजार सात सय प्राविधिक तथा इन्जिनियर काठमाडौंमा आन्दोलित भएका छन् । भूकम्प प्रतिरोधी मापदण्डअनुसारको घर निर्माणका लागि प्राविधिक परीक्षणमा खटिनुपर्ने प्राविधिक इन्जिनियरहरू तलब नपाएको भन्दै दैनिक आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलन व्यवस्थित बनाउन उनीहरूले संघर्ष समिति पनि बनाइसकेका छन् । संघर्ष समितिका संयोजक सुरेन्द्र सुब्बाका अनुसार ज्ञापनपत्रमार्फत अगाडि सारिएका माग सरकारले सम्बोधन नगरिदिएका कारण आन्दोलनमा उत्रिनुपरेको हो ।

‘हामीले उठाएका माग सम्बोधन भएन भने पुनर्निर्माण कार्य अगाडि बढ्न सक्दैन', सुब्बाले अन्नपूर्णसँग भने, ‘आफ्नो घरबाट पैसा मगाएर पुनर्निर्माणमा खटिन सक्ने अवस्था छैन ।' प्राविधिकलाई भत्ता दिनुपर्ने, कार्यक्षेत्र बिमा गरिनुपर्ने, गाउँमा सम्पर्क कार्यालय स्थापना गरिनुपर्ने, नयाँ करार सम्झौता पुनरावलोकन गर्नुपर्ने माग प्राविधिक तथा इन्जिनियरहरूले राखेका छन् ।

पहिलो किस्ता पाएका लाभग्राहीलाई घर निर्माणमा सघाउनुपर्ने प्राविधिक इन्जिनियरहरूले बुधबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए भने मंगलबार भवन विभागमा धर्ना दिएका थिए । सुब्बाका अनुसार प्राविधिक इन्जिनियरहरूले बिहीबार पनि भवन विभागमा धर्ना दिने कार्यक्रम बनाएका छन् । ‘हाम्रा माग सम्बोधन गर्ने प्रतिबद्धता नआएसम्म हामी गाउँमा फर्किने अवस्था छैन', संयोजक सुब्बाले भने ।

सहरी विकास मन्त्रालयले असार मसान्तसम्म सेवा करारमा कार्यरत इन्जिनियर तथा प्राविधिकहरूलाई आगामी असार मसान्तसम्म सेवा करार सम्झौता गर्न साउन १ गतेदेखि हालसम्मको प्रमाणित हाजिरी विवरणसहित सात दिनभित्र सम्पर्कमा आउन मंगलबार सूचना जारी गरेको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र भूकम्पबाट अति प्रभावित ११ जिल्लाका पाँच लाख ३३ हजार लाभग्राहीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउने घोषणा गरेका थिए । गाउँमा पुगेका प्राविधिक इन्जिनियरहरू राजधानीमा भेला भएर आन्दोलन गर्न थालेपछि दुई वर्षात् र दुई हिउँद टिनको टहरामा बिताएका भूकम्प प्रभावित क्षेत्रका जनताले तत्कालै घर बनाउन नसक्ने अवस्था उत्पन्न भएको छ ।

नयाँ सरकार बनेपछि भूकम्पपीडित जनतालाई रकम उपलब्ध गराउन गरिएको निर्णयलाई साकार पार्न प्राधिकरणले विशेष अभियान घोषणा गर्दा ४२ हजार आठ सय ८२ घरधनीको बैंक खातामा पहिलो किस्ताको रकम पुगेको थियो भने असोज २ गतेसम्म तीन लाख ७५ हजार सात सय १५ लाभग्राहीले पहिलो किस्ताको रकम प्राप्त गरेका छन् ।

विशेष अभियानपछि १८ अर्व ७८ करोड ५७ लाख ५० हजार वितरण भएको प्राधिकरणले जनाएको छ । गत वर्ष भूकम्पपीडितलाई दुई अर्ब १४ करोड रुपैयाँ वितरण भएको थियो । असोज २ गतेसम्म चार लाख तीन सय ५९ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । यस्तै ८४ प्रतिशत घरधनीसँग अनुदान सम्झौता भएको छ । गत साउन २१ गतेसम्म अनुदान सम्झौता गर्ने घरधनीको संख्या दुई लाख ९५ हजार सात सय ७२ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.