लगातारको वर्षाले ग्रामीण सडक अवरुद्ध 

लगातारको वर्षाले ग्रामीण सडक अवरुद्ध 


सिन्धुलीः तीन सातादेखिको लगातार वर्षाका कारण जिल्लाका ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ । वर्षाले खोलामा पानीको सतह बढ्नुका साथै सडकमा पहिरो बग्ने, खाल्डोमा पानी जम्ने र चिप्लो हुन थालेपछि सडक अवरुद्ध भएका हुन् ।

वर्षाका कारण जिल्ला सदरमुकाम भएर सञ्चालन हुने कमलाखोंच कटारी, माईस्थान बाँके, तीनकन्या, जलकन्या, मझुवा, मरिण, कपिलाकोट, चकमके मझुवालगायत ग्रामीण क्षेत्रमा सञ्चालन हुने एक दर्जनभन्दा बढी सडक अवरुद्ध भएका हुन् ।

सडक अवरुद्ध भएका कारण भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि आवश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ । निर्माण सामग्री ढुवानी गर्न नसक्दा दसैंअघि नै भूकम्पप्रतिरोधी घरमा बस्ने पीडितको इच्छा अधुरै हुने भएको छ ।

भूकम्प गएको झन्डै डेढ वर्षपछि पुनर्निर्माणको पहिलो किस्ता पाएका जिल्लाका पीडितहरूले दसैंअघि नै घरको जग बसालेर निर्माण थाल्ने योजना बनाएका भए पनि निर्माण सामग्री ढुवानी गर्न नसक्दा अधुरै रहने भएको हो ।

प्रायः निर्माण सामग्री जिल्ला सदरमुकाम माढीबजारबाट ढुवानी गर्नुपर्ने हुन्छ । तर यातायातका साधानहरू झन्डै एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध हुँदा कुनै पनि निर्माण सामग्री ढुवानी गर्न नसकेको अमले गाविसका भूकम्पपीडित नवराज विकले बताए ।

पुनर्निर्माण सामग्री ढुवानीमा समस्या ।
हिँडेर सदरमुकाम पुग्नै तीन दिन ।
सडक अवरुद्ध हुँदा तीन सातादेखि सदरमुकाममै ।
गाउँका डाँडापाखा सबै चर्केर धुजाधुजा ।
कमलाको पुल निर्माण तीन वर्षदेखि अलपत्र ।

‘बल्लतल्ल पुनर्निर्माणका लागि पहिलो किस्ता पाइयो तर घर निर्माणका लागि ढुवानीमा समस्या हुँदा निर्माणको काम अघि बढाउन सकिएको छैन्', उनले भने । लगातारको वर्षाका कारण सिन्धुली अमले सडक एक महिनादेखि अवरुद्ध छ । घरका लागि आवश्यक पर्ने रड, सिमेन्ट, जस्तापाता, इँटलगायत सामग्री जिल्ला सदरमुकामबाटै ढुवानी गर्नुपर्ने भए पनि सडक अवरुद्ध हुँदा गाउँमा कुनै पनि सवारीसाधन चल्न छाडेपछि समस्या भएको विकको भनाइ छ ।

सडक अवरुद्ध भएपछि जिल्लाका दुई नगरपालिका र २५ वटा गाविसका सर्वसाधारण मारमा परेका छन् । सडक अवरुद्ध हुँदा दुधौली नगरपालिकाका सबै वडा र कमलामाई नगरपालिकाका दसदेखि १८ नम्बर वडासम्मका आठवटा वडाका सर्वसाधारण यातायात सेवाबाट वञ्चित भएका छन् ।

यस्तै हतपते, अरुणठाकुर, ककुरठाकुर, तीनकन्या, जलकन्या, मझुवा, रत्नावती, अमले, बस्तीपुर, लाम्पानटार, बालाजोरलगायत २५ भन्दा बढी गाविसमा यातायातका साधन पुग्न छाडेका छन् ।

 

वर्षाका कारण कमलानदीमा आएको बाढीका कारण तीन सातादेखि कमलाखोंच क्षेत्र हुँदै जिल्ला सदरमुकाम माढीसम्म सञ्चालन हुने सबै यातायातका साधन अवरुद्ध भएको हत्पते गाविसका बासिन्दा रहेका सञ्चारकर्मी रेखराज दाहालले बताए ।

‘वर्षाले नदीमा पानीको सहत बढेपछि तीन सातादेखि कुनै पनि यातायातका साधनले नदी वारपार गर्न सकेका छैनन्', दाहालले भने, ‘कमला नदीकै कारण कमलापारिको सिंगो दुधौली नगरपालिकालगायत एक दर्जन गाविसमा यातायात सेवा अवरुद्ध भएको छ ।'

कमलानदीमा एउटा पनि पुल नहुँदा बर्सेनि यातायातका साधनहरू आवतजावतमा समस्या हुने गरेको छ । राष्ट्रिय महत्व राख्ने हेटौंडा-गाईघाट-चतरा सडक आयोजनाअन्तर्गत कमलानदीमा तीन वर्षदेखि नेपालकै दोस्रो लामो पक्की पुल निर्माण थालिए पनि निर्माण कम्पनीको लापरबाहीका कारण दुई वर्षदेखि पुल निर्माण रोकिएको छ ।

दाहालले भने, ‘सरासर काम गरेको भए एक वर्षअघि नै पुलको काम सकिन्थ्यो होला । ठेकेदारले दुई वर्षदेखि काम रोकेर बसेको छ । नदी तर्ने अर्को विकल्प छैन । गाउँगाउँका सडकमा पनि पहिरो बग्न थालेको छ । यातायातका साधन सञ्चालन हुन नसक्दा हजारौं सर्वसाधारण मारमा परेका छन् ।'

सडक अवरुद्ध हुँदा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री, कृषि मल, औषधि, निर्माण सामग्रीका साथै भूकम्पपीडितहरूका लागि अस्थायी टहरो निर्माण गर्न जस्तापाता ढुवानी गर्नसमेत समस्या उत्पन्न भएको छ ।

गाउँमा वर्षाका लागि जोहो गर्न दाल, चामल तथा भूकम्पपीडितहरूले घर निर्माण गर्न जस्तापाता लैजान चाहे पनि सडक अवरुद्ध हुँदा ढुवानी गर्न नसकिएको यातायात व्यावसायी तथा मझुवाका बासिन्दा नमेश दाहालले बताए ।

‘सानो पानी पर्नासाथ पहिरो बग्न थाल्छ', सवारी चालकसमेत रहेका दाहालले भने, ‘गाउँमा चामलदेखि भूकम्पपीडितका लागि जस्तापाता पनि लैजानुपर्नेछ । सडक अवरुद्ध हुँदा तीन सातादेखि जिल्ला सदरमुकाममै बसेका छौं ।'

भूकम्पका कारण गाउँका डाँडापाखा सबै चर्केर धुजाधुजा भएका कारण पनि सामान्य वर्षा हुनेबित्तिकै पहिरो बग्ने गरेको उनको भनाइ छ । ‘बोकेर ल्याउन सकिँदैन । हिँडेर सदरमुकाम पुग्नै तीन दिन लाग्छ । गाडी सञ्चालन हुन छाडिहाल्यो । जस्तापाता किनेर ल्याउन नसक्दा अस्थायी टहरो निर्माण गर्न पनि नसकिने भयो', उनले भने ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.