विश्वका चर्चित खोज पत्रकार नेपालमा
काठमाडौँः दोस्रो एसियाली खोज पत्रकारिता सम्बन्धी तीनदिने सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुँदै छ ।
खोज पत्रकारिता केन्द्र नेपाल (सिआइजे) र ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिजम नेटवर्क (जीआइजेएन) को संयुक्त आयोजनमा आयोजित उक्त सम्मेलनमा विश्वका ५१ देशका तीन सय २० विदेशी पत्रकार तथा नेपालका खोज संवाददाता र सम्पादक समेत गरेर चार सय पत्रकार सहभागी हुने खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले जानकारी दिए ।
पुलिटजर पुरस्कार विजेता वाल्टर भी रविन्सन जसले पनि सम्मेलनमा सहभागी हुने जनाएको छ । त्यस्तै विश्वविख्यात खोज पत्रकार शीला क्रोनेल पनि सम्मेलनमा भाग लिन काठमाडौँ आइपुगेकी छन्।
खोज पत्रकारिता केन्द्र फिलिपिन्सकी संस्थापक क्रोनेलले गरेको अनुसन्धानमूलक समाचारका कारण त्यहाँका तत्कालीन राष्ट्रपति एस्ट्राडा पद छाड्न बाध्य भएका थिए ।
सम्मेलनमा संसारभरका खोज पत्रकारले प्राप्त गरेका उपलब्धि, भोगेका कठिनाइ, सिकेका सीप र आगामी दिनमा खोज पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका लगायत बिषयमा छलफल हुनेछ ।
विश्व चर्चित खुलासा पानामा पेपर्सको टिमले पनि आफ्नो अनुभव सम्मेलनमा प्रस्तुत गर्ने जनाएको छ ।