घर बनाउने आस थियो, ज्यान गुम्यो

घर बनाउने आस थियो, ज्यान गुम्यो

धादिङबेसीः सत्यदेवी गाविस-३ का भूकम्पपीडित लीलाबहादुर तामाङ एक साताअघि सरकारले घर बनाउन दिएको अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिन सदरमुकाम धादिङबेसी आएका थिए । गाउँमै शिविर गएका बेला अनुदान सम्झौता गरेका तामाङले गाविसले सूचना दिएबमोजिम सदरमुकाम गएर यती डेभलपमेन्ट बैंकबाट ५० हजार रुपैयाँ बुझे ।

लीलाबहादुरको परिवार घर भत्केको १६ महिना नाघिसक्दा पनि अस्थायी टहरोमै थियो तर यति ठूलो भूकम्पमा ज्यान बचेकोमा आफूलाई भाग्यमानी नै सम्झन्थ्यो ।

पैसा बुझेपछि घर बनाएर परिवारलाई त्यहीं सार्ने योजना बनाउँदै उनी गाउँ फर्कंदै थिए तर उनी चढेको बस मंगलबार धादिङको मार्पाक-६, लपाङफेदीबाट खसेर आँखुनदीमा पुग्यो । उनको ज्यान त्यहीं गुम्यो । लीलाबहादुरसँगै गत वर्षको विनाशकारी भूकम्पबाट बाँचेका अन्य १८ जनाले पनि ज्यान गुमाए ।

नयाँ घर बनाउने सपना बुनेर सदरमुकाम झरेका लीलाबहादुरसँगै सत्यदेवीबाटै अनुदानको पहिलो किस्ता लिन आएका ६ जनाले दुर्घटनामा ज्यान गुमाए । लीलाबहादुरकी कान्छी छोरी मन श्री तामाङले भावुक हुँदै भनिन्, ‘पैसा लिन लागि सदरमुकाम जान्छु भनेर घरबाट हिँड्नुभएको बुवा कहिल्यै फर्केर नआउने गरी जानुभयो । घरमा आमा पनि बिरामी हुनुहुन्छ, काजक्रिया गर्न पर्‍यो, नयाँ घर बनाएर बस्ने त त्यस्तै भयो, बुबालाई समेत गुमायौं ।'

दुर्घटनामा छोरो गुमाएको खबरले सर्ची तामाङ दुःखी छिन् । ‘एउटैमात्रै छोरो थियो, बैंकबाट पैसा निकालेर घर बनाएर बस्ने भनेको थियो । बिरामी बुवा लिन गएका बेला आफंै दुर्घटनामा परेर बित्यो,' सर्चीले रुँदै भनिन्, ‘ श्रीमान् पनि दमको बिरामी हुनुहन्छ, हामी अझैसम्म त्रिपालमै बसिरहेका छौं । छोरो पनि गयो अब म एक्लैले कसरी घर बनाउने ? '

दुर्घटनामा परेर एकै गाउँका चारजनाको मृत्यु भएपछि सत्यदेवी- २ अहिले शोकमा डुबेको छ । सत्यदेवीका आयुसबहादुर तामाङले भने, ‘भूकम्प गएपछि यहाँका सबैजना त्रिपाल र टहरामा छने । भूकम्पमा परेर मुस्किलले ज्यान जोगाएर बाँचेकाहरू त्यही भूकम्पको अनुदान लिन जाँदा दुर्घटनामा परेर मर्नुपर्‍यो ।'

दुर्घटनामा मृत्यु भएकाहरू सबैको शव आफन्त र परिवारलाई जिम्मा लगाइएको छ । बाटोको कठिनाइका कारण घटनास्थलमै पुगेर प्रहरीले मुचुल्का बनाएको र डाक्टरलाई पनि घटनास्थलमै लगेर पोस्टमार्टम गरिएपश्चात् आफन्तलाई शव जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले बताए । मृतकहरूको परम्पराअनुसार गाउँमै अन्त्येष्टि गरिएको छ ।

गाउँमै पुगेर अनुदान सम्झौता गरे पनि बैंकले सेवा नदिएपछि उत्तरी धादिङका गाउँले सदरमुकाम झर्न बाध्य हुन्छन् । उनीहरूलाई पैसा लिन सदरमुकाम आउनैमात्र १० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ ।

दुर्घटनामा सत्यदेवीबाट अनुदानको रकम लिन आएका ६ र रीका चारजनाले ज्यान गुमाएका छन् । मुक्तिनाथ विकास बैंक धादिङबेसीमा पैसा लिन पालो पर्खिरहेका री-७ ताजिम्राङका डेन्डुप तामाङले भने, ‘री-८ को मानबहादुर तामाङको पैसा लिने पालो हाम्रोभन्दा अघि थियो, सदरमुकाममा तीन दिन आफन्तकहाँ बसेपछि बल्ल पालो आएको थियो । सोमबार पैसा बुझेर मंगलबार गाउँ गएका उनी दुर्घटनामा परेको सुनेर साह्रै नमज्जा लागेको छ ।'

यस्तै सेर्तुङ गाविस-९ हिन्दुङका लारुप तामाङले पनि अनुदान लिन बुवालाई बोलाउन गाउँ जाँदै गर्दा ज्यानै गुमाए । अनपढ आमालाई लिएर सदरमुकाममा पैसा लिन आएका लारुप पैसा लिन बुबा नै चाहिने भएपछि दमका बिरामी बुबालाई लिन सेर्तुङ जाँदै गर्दा दुर्घटनामा परे ।

लारुपका छिमेकी जितमान तामाङले भने, ‘घर नाप्न पुगेको इन्जिनियरले लारुपको आमाको नाममा निस्सा दिएछ, लाभग्राहीको सूचीमा बुबाको नाम आएछ । निस्साअनुसार आमाले सम्झौता गरेको भए पनि पैसा लिन बुवा अनिवार्य चाहिने भएपछि गाउँ फर्किंदै गर्दा ऊ दुर्घटनामा परेको रहेछ ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.