सार्कका लागि नेपालले परामर्श गर्ने
काठमाडौं: दक्षिणएसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष रहेको नेपालले शिखर सम्मेलन छिट्टै सुनिश्चित गर्न सबै सदस्य राष्ट्रहरूसँग परामर्श गर्ने भएको छ ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले यसबारे पत्रकारलाई जानकारी दिँदै शिखर सम्मेलन आयोजना गर्न उपयुक्त वातावरण निर्माणका लागि पनि सबै राष्ट्रसँग नेपालले आग्रह गर्ने बताए । त्योसँगै उनले विशेषगरी १९ औं शिखर सम्मेलनको आयोजक राष्ट्र पाकिस्तानसँग पनि सम्मेलन आयोजनाका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी अमेरिकाबाट शनिबार स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकारसम्मेलनमा महतले भने, 'सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपालले शिखर सम्मेलनका लागि सबैले सहज वातावरण सिर्जना गर्न आग्रह गर्छ ।'
उनले चारवटा सार्कका सदस्य देशले क्षेत्रीय वातावरण उपयुक्त नभएको भन्दै सार्क शिखर सम्मेलनमा भाग नलिने जानकारी दिएको उल्लेख गर्दै वर्तमान अध्यक्ष देशका नाताले नेपालले सहजीकरणको पहल गर्ने बताए । 'सार्क शिखर सम्मेलन सुनिश्चितता गर्ने विषयमा सार्कका सदस्य देशसँग परामर्श गर्नेछौं', महतले भने ।
नोभेम्बर ९ र १० का लागि पाकिस्तानको इस्लामाबादमा निर्धारित सार्क शिखर सम्मेलन भारतसहित चार देशले बहिष्कार गर्ने निर्णय गरेका थिए ।
सार्क आयोजक मुलुक पाकिस्तानले शिखर सम्मेलन भारतका कारण स्थगित गर्नुपरेको भन्दै भारतको भत्र्सना गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भारतबाहेक अन्य देशले सार्क शिखर सम्मेलन बहिष्कार गरेको उल्लेख छैन ।
भारत नियन्त्रित कस्मिरमा भारतका १८ सैनिक मारिएपछि पाकिस्तान र भारतबीच बढेको तनावले निकट भविष्यमै युद्ध हुनसक्ने खबरहरू सार्वजनिक भएका छन् जसको सिकार सार्क भएको छ । भारतले शिखर सम्मेलनमा सहभागी नहुने घोषणा गरेपछि अफगानिस्तान, बंगलादेश र भुटानले पनि सम्मेलनमा सहभागी हुन नसक्ने घोषणा गरेका थिए ।
परराष्ट्रमनत्री महतले सबैखाले मञ्चमा राष्ट्रिय आवश्यकता र राष्ट्रिय हितका विषयमा ठोस ढंगबाट नेपालका एजेन्डा र विषय प्रस्तुत गरिएको जानकारी दिए ।
'महासभामा संयुक्त राष्ट्रसंघमार्फत विश्वमा शान्ति स्थापनार्थ नेपालले गरेको योगदान, भूपरिवेष्ठित मुलुकका समस्या र ती देशले पाउनुपर्ने सुविधा, जलवायु परिवर्तनको असर, आप्रवासीको सुरक्षाका साथै लाखौं नेपाली युवाले विदेशमा बेहोर्नुपरेका समस्या र उनीहरूको रोजगारीको सुनिश्चितताका विषयमा मैले ठोस कुरा राखेको छु', उनले भने ।
नेपाली सेनाले विश्वशान्ति स्थापनाका लागि पुर्याएको योगदानबारे आफूले राष्ट्रसंघीय महासचिव बान की मुनसहितसँग कुरा गरी उनीहरूको काम र योगदानअनुरूपको जिम्मेवारी माथिल्लो तहसम्म दिइनुपर्ने विषयमा कुरा राखेको उनले बताए ।
नेपालीले संविधानसभाबाट बनाएको संविधानमा मौलिक अधिकार, मानवअधिकार, महिलाअधिकारलगायत अरू पनि प्रजातन्त्रका अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई व्यापक रूपमा समेटिएको हुँदा यस विषयलाई विश्व समुदायलाई जानकारी दिने र कार्यान्वयनको चरणमा केही राजनीतिक दलहरूबाट देखिएका असन्तुष्टिलाई पनि समेट्ने प्रयासको थालनी भइसकेको बताएको जानकारी मन्त्री महतलेदिए । अमेरिकामा रहँदा परराष्ट्रमन्त्री महतले सार्कका विदेशमन्त्रीहरूको बैठक, समूह ७७, एसिया कोअपरेसन डायलग, अतिकम विकसित राष्ट्रहरूको संगठनलगायतसँग छलफल गरेका थिए ।