सनराइजले ३३ प्रतिशत बोनस सेयर दिने
काठमाडौः सनराइज बैंकले आफ्ना सेयरधनीलाई ३३.३३ प्रतिशतका दरले बोनस सेयर प्रदान गर्ने भएको छ । बैंकको आइतबार बसेको नवौं वार्षिक साधारण सभाले गतवर्षको मुनाफा एवं अन्य जगेडा कोषमा रहेको रकम प्रयोग गरी सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले बैंकको २०७३ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७२/७३ को नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।
बोनस सेयर पश्चात कायम हुने पुँजीमा ३०प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसमेत पारित भएको छ । यसबाट बैंकको पुँजी ७ अर्ब पुग्ने र चालु आवको नाफाबाट बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब नाघ्ने बैंकले उल्लेख गरेको छ ।