डेनमार्कस्थित नेपाली दूतावास बन्द गर्ने तयारी
काठमाडौः सरकारले डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावास बन्द गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले यस सम्बन्धमा चाँडै निर्णय लिने स्रोतले बतायो । ‘नेपालले अब डेनमार्कमा दूतावास राखिरहनुपर्ने आवश्यकता देखिएन । दूतावास बन्द गर्ने विषयमा चाँडै निर्णय हुनेछ', परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतले दूतावास बन्द गर्ने विषयमा मन्त्रालयका अधिकारीहरूसँग प्रारम्भिक छलफल गरिसकेका छन् । डेनमार्कले सन् २०१७ भित्र नेपालस्थित आफ्नो आवासीय दूतावास बन्द गर्ने र नेपाललाई दिँदै आएको विकास सहयोगसमेत कटौती गर्ने निर्णय गरिसकेको छ ।
नेपाल र डेनमार्कबीच सन् १९६७ डिसेम्बर १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । डेनमार्कले सन् १९९२ मा काठमाडौंमा र नेपालले सन् २००७ मा डेनमार्कमा दूतावास स्थापना गरेका थिए । अहिले नेपालका विदेशी मुलुकमा २९ दूतावास, दुई स्थायी नियोग र पाँच महावाणिज्य दूतावास छन् ।