कोलम्बियामा शान्ति स्थापनाको आशा
हवानाक्युबाः कोलम्बियाका विद्रोही र सरकारबीच शनिबार नयाँ शान्ति सम्झौता भएपछि शान्ति स्थापना हुने सम्भावना बढेको छ ।
सरकार र विद्रोही समूह, रिभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (फार्क) बीच शनिबार कोलम्बियामा शान्ति स्थापनाका लागि भन्दै अर्को पटक शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।
क्युबाका विदेशमन्त्री बुनो रोड्रीगुजको रोहबरमा भएको हस्ताक्षर समारोहमा कोलम्बिया सरकारको तर्फबाट प्रमुख मध्यस्थकर्ता हुम्बेर्टो डे ला कल र फार्कका तर्फबाट समकक्षी इभान मारक्वेजले हस्ताक्षर गरेका थिए ।
‘हामीले कोलम्बियाको सम्पूर्ण समुदाय र अन्तर्राष्ट्रिय समुदायलाई पनि यो सम्झौताको समर्थन गरिदिन आग्रह गर्दछौं । शान्तिले लामो समयसम्म पर्खन सक्दैन’, वक्तव्यमा भनिएको छ ।
सरकार र उक्त समूहबीच गत महिना नै शान्ति सम्झौता भएको थियो । उक्त सम्झौताबमोजिम आजसम्म वार्ता र थप नयाँ सहमति हुन सकेको थिएन । तर पछिल्लोपटक सरकारी प्रतिनिधि र विद्रोहीका तर्फबाट क्युबाको राजधानी हवानामा कैयौँ दिनको प्रयासपछि उक्त सम्झौता भएको हो । दुवैको तर्फबाट जारी वक्तव्यमा नयाँ शान्ति सम्झौतालाई संसद्बाट पारित गराउने सम्झौता भएको उल्लेख छ । फार्क कोलम्बियाको सबैभन्दा ठूलो सशस्त्र विद्रोही समूह हो ।
यस सम्झौतापछि कोलम्बियामा ५२ वर्षदेखि जारी हिंसा अन्त्य हुने अपेक्षा गरिएको छ । यस हिंसामा परी हजारौँको ज्यान गएको छ । यस विद्रोहलाई संसारको लामो हिंसात्मक विद्रोहको रूपमा लिने गरिन्छ । यो पछिल्लो सम्झौताको मध्यस्थता क्युबा र नर्वेले गरेका थिए । यी दुई देशको मध्यस्थतामा कोलम्बियाको सरकारी र विद्रोहीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।
यस सम्झौतालाई अन्तिम सम्झौताको नाम दिइएकाले यसबाट कोलम्बियामा शान्ति स्थापना हुने अपेक्षा गरिएको छ । सरकारी र विद्रोहीका प्रतिनिधिले पनि यस सम्झौता कोलम्बियामा शान्तिको स्थापना र प्रजातान्त्रीकरणको लागि एक बलियो दस्तावेज भएको प्रतिक्रिया दिएका छन् ।
गत महिना सम्झौता भएकोमा त्यसको पालना हुन सकेको थिएन । उक्त सम्झौता विद्रोहीका पक्षमा भएको र उनीहरूलाई विगत दशकौंसम्मको हिंसाको उन्मुक्ति दिएको भन्दै विरोध भएको थियो । विरोधपछि सरकारले गरेको जनमतमा पनि उक्त सम्झौता अनुमोदन हुन सकेको थिएन ।
त्यसैकारण पनि अर्को शान्ति सम्झौता गर्नु परेको हो । जनमत संग्रहबाट सम्झौता अस्वीकृत भएको नतिजा आउना साथ राष्ट्रपति हुँवा म्यानुअल सान्तोसले शान्ति प्रक्रियालाई नयाँ तरिकाले अगाडि बढाउने बताएका थिए ।
५२ वर्ष लामो गृहयुद्ध अन्त्य गर्ने उद्देश्यले कोलम्बियामा शान्ति सम्झौताको प्रक्रिया थालिएको हो । गत सेप्टेम्बरमा भएको त्यही पहिलो शान्ति सम्झौताका लागि राष्ट्रपति सान्तोसले नोवेल शान्ति पुरस्कार समेत पाएका छन् ।